रुकुम पश्चिमका महिलाहरुमा पाठेघरको समस्या धेरै देखिएको छ । महिला पुनस्र्थापना केन्द्र ओरेकले जिल्लाका तीन ठाउँमा सञ्चालन गरेको शिविरमा सेवा लिन आएका धेरै महिलामा पाठेघरको समस्या देखिएको हो । बाँफिकोट गाउँपालिका वडा नम्बर ९ को झुला तथा १० नम्बर वडाको ठाँटी र मुसीकोट नगरपालिकाको ८ नम्बर वडा घोरखानीमा सञ्चालन भएको शिविरमा ५ सय ५० जना महिलाले सेवा लिएका मध्य अधिकांस महिलाहरुको पाठेघरमा समस्या देखिएको महिला पुनस्र्थापना केन्द्र ओरेक रुकुम पश्चिमकी जिल्ला कार्यक्रम संयोजक दिपा धितालले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिलाको पाठेघरको मुख सुनिएको समस्या १ सय ६३ जना, पाठेघर पहिलो डिग्रीको समस्या ७७, दोस्रो डिग्रीको समस्या १७ र पाठेघरको तेस्रो डिग्रीको समस्या ७ जनालाई देखिएकोे छ । त्यस्तै पाठेघरको मुखमा घाउको समस्या ४५ जना, पाठेघरको अप्रेशन पछि पुनः त्यही अवस्थामा आएको २ जना र पाठेघरको क्यान्सर भएका संकास्पद २ जना महिला भेटिएका छन् । शिविर मार्फत सेवा लिएका मध्य पाठेघर सम्बन्धी जटिल खालका समस्या देखिएका १० जना महिलालाई प्रादेशिक अस्पताल दाङ र जिल्ला अस्पताल सल्लेमा रिफर गरिएको छ ।
पाठेघरको तेस्रो डिग्री झरेका ५ जना महिलालाई अप्रेशनका लागि र पाठेघरको अप्रेशनपछि पुनः त्यही अवस्था आएको ३ जना गरि ८ जनालाई प्रादेशिक अस्पताल दाङमा र पाठेघरको क्यान्सरको संकास्पद २ जनालाई जिल्ला अस्पताल सल्ले रिफर गरिएको आरेकले जनाएको छ । शिविरमा ग्यास्ट्रिक, रक्तचाप, महिनावारी गडबडी, रगत बग्ने र जोर्नी दुख्ने समस्या सम्बन्धी विरामीले पनि सेवा लिएका छन् । बालविवाह, घरेलु हिंसा, सचेतनाको कमी, लाज, भौगोलिक विकटता, उचित खानपान र स्याहारको कमी लगायतका कारण महिलामा पाठेघरको समस्या जटिल बन्दै गएको पाइएको ओरेकका जिल्ला संयोजक धितालले बताउनुभयो ।
तीन वडामा मात्रै यति ठुलो संख्यामा महिलामा पाठेघरको समस्या देखिनुले जिल्ला भरको अवस्था जटिल हुनसक्ने धितालको भनाई छ । यो चिन्ताजनक अवस्था रहेको र यसलाई निवारण गर्नका लागि सरोकारवाला सबैको भूमिका चाहिएको उहाँले बताउनुभयो । शिविरका बारेमा आज जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । शिविर तीन वडामा एक एक दिनका दरले मंसिर १२, १३ र १४ गते संचालन भएको थियो ।
शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टर सिर्जना हमालको नेतृत्वमा जिल्ला अस्पतालका डाक्टर ओसिन पुन र जनक केसी लगायत ३० जनाको स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।