Kakhara सबैको खबर सम्पूर्ण खबर
सहिदको बलिदानले ल्याएको परिवर्तनलाई संस्थागत गर्नुपर्छ : मन्त्री रोका

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोकाले नेपालमा राजनीतिक तथा सामाजिक परिवर्तन सहिदहरूको बलिदानकै परिणाम भएको बताउनुभएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ र ७, मग्मामा बडादशैंको अवसरमा आयोजित सहिद स्मृति मेला तथा विविध खेलकुद एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रोकाले सहिदहरू कुनै दल, समूह वा समुदाय विशेषका नभई सम्पूर्ण नेपालीका साझा सम्पत्ति भएको बताउनुभएको हो ।

“सहिद सबैका साझा सम्पत्ति हुन्। उहाँहरूले आफ्नो जीवनको बलिदान दिएर देशमा परिवर्तनको बाटो खोल्नुभएको हो। आज हामीले प्राप्त गरेको राजनीतिक अधिकार, सामाजिक चेतना र परिवर्तनको जगमा सहिदहरूको त्याग र बलिदान जोडिएको छ,” मन्त्री रोकाले भन्नुभयो । मन्त्री रोकाले सहिदहरूले देखाएको परिवर्तनको बाटोलाई केवल सम्झनामा सीमित नराखी त्यसलाई व्यवहारमै संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।

सहिदको सपना र योगदानलाई विकास, सुशासन, समान अवसर तथा जनताको जीवनस्तर सुधारसँग जोडेर अघि बढ्नुपर्ने उहाँकोनभनाइ थियो। बाँफिकोट क्षेत्रलाई आफूले विशेष रूपमा हेरेको उल्लेख गर्दै स्थानीय आवश्यकता र जनताको अपेक्षाअनुसार विकास निर्माणका कामलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यो क्षेत्रप्रति मेरो विशेष ध्यान छ । मन्त्रालयबाट गर्न सकिने सहयोग र आवश्यक समन्वयका लागि म आफ्नो ठाउँबाट पहल गर्नेछु । यहाँका विकासका आवश्यकता पूरा गर्न प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उहाँले भन्नुभयो ।

सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै मन्त्री रोकाले सहिद तथा सहिद परिवारलाई राज्यले सधैँ सम्झनुपर्ने बताउनुभयो । सहिदहरूको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता स्मृति कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। “सहिदलाई हामीले केवल दिवस वा कार्यक्रममा मात्रै सम्झिने होइन, उहाँहरूले देखाएको बाटो र परिवर्तनको उद्देश्यलाई आफ्नो व्यवहार र कामबाट आत्मसात् गर्नुपर्छ । सहिद परिवारको सम्मान र सहिदको योगदानको संरक्षण राज्यको निरन्तर दायित्व हो।”

मन्त्री रोकाले सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै अबको ध्यान समृद्धि र विकासतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनसँगै जनताको आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउन सके मात्रै सहिदको सपना पूरा हुने उनको भनाइ थियो । बडादशैंको अवसरमा आयोजित सहिद स्मृति मेलामा स्थानीय मयुर नाच, पन्चेबाजा, पैसेरु नाच प्रस्तुत गरिएको थियो । मग्मा हरेक वर्ष सहिदको सम्झनामा ठूलो मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  २३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update