महँगी नियन्त्रणदेखि विभिन्न माग राख्दै नेकपा रुकुम पश्चिमले बुझायो ज्ञापन पत्र

नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमले महँगी नियन्त्रण, नेपाल टेलिकमको नेटवर्क सुधार, प्रेस स्वतन्त्रताको रक्षा तथा भूकम्पपीडितको पुनर्निर्माणलाई तीव्रता दिन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत जिल्ला समितिले शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममार्फत ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमार्फत पार्टीले बजारमा बढ्दो महँगी नियन्त्रण गरी न्यून आय भएका नागरिकको दैनिकी सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै, जिल्लामा नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्याका कारण फोन नलाग्ने, आवाज नसुनिने र कुराकानी गर्दागर्दै फोन काटिने समस्या तत्काल समाधान गर्न माग गरेको छ ।

पार्टीले कात्तिक १३ गते पत्रकारमाथि भएको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको विरोध गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

यसै गरी, २०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अझै सम्पन्न हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै बाँकी लाभग्राहीको आवास पुनर्निर्माणलाई तीव्रता दिन आग्रह गरेको छ । डिडिए प्रक्रियामा छुटेका घरधुरीलाई पुनः समावेश गर्न र पुनर्निर्माण कार्यविधि संशोधन गरी प्रक्रिया सहज बनाउन पनि माग गरिएको छ ।

ज्ञापन पत्रमा पार्टीका कर्णाली प्रदेश सदस्य तथा आठबिसकोट नगरपालिका-३ का वडाध्यक्ष केशरमान विकमाथि जिल्ला प्रहरी कार्यालयभित्र कुटपिट तथा अमानवीय व्यवहार भएको आरोप लगाइएको छ । त्यस्तै, पार्टीका प्रदेश सदस्य तथा आठबिसकोट नगरपालिका-८ का पूर्व वडाध्यक्ष मनबहादुर चँदाराको विषयमा जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस नोटमार्फत झुटा विवरण सार्वजनिक गरी मानमर्दन गरिएको दाबी गरिएको छ ।

कानुन कार्यान्वयन गर्ने निकायबाटै गैर कानुनी तथा मानवअधिकार विरोधी गतिविधि भएको भन्दै यस्ता घटना आगामी दिनमा नदोहोरिने सार्वजनिक प्रतिबद्धता जनाउन पार्टीले माग गरेको छ ।

पार्टीका संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा जनजीविका, मानवअधिकार, प्रेस स्वतन्त्रता र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ ।।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update