रातको ठ्याक्कै २ः३० बजे हामी आफ्नो गन्तव्यतर्फ पाइला बढाउँदै गयौँ । मनमा काठमाडौँ पुग्ने एउटा छुट्टै उत्साह र आफ्नै धुन थियो । यात्राको सुरुवातमा वातावरण शान्त थियो, हावाको सिरसिरे स्पर्शले मनलाई आनन्दित बनाइरहेको थियो ।
जिपमा म र ड्राइभर मात्र थियौँ ।
रातको २ः५५ बजेको आसपासमा ड्राइभरले जिपलाई नजिकैको पेट्रोल पम्पमा रोक्यो । जिपको पेटमा इन्धन भरियो, अनि इन्धन पाएसँगै हाम्रो जिप पनि राजमार्गको कालोपत्रे सडकमा सुसाइँदै तीव्र गतिमा काठमाडौँतर्फ हुइँकियो ।
यात्रा आफैँमा एक कौतूहल, उत्सुकता र नयाँ अनुभूतिहरूको अङ्गालो हो । परन्तु हरेक यात्रा सोचे जस्तै सुगम र सुखद हुँदैनन् । केही यात्राहरूले धैर्यको परीक्षा लिन्छन् भने केहीले सम्झनाका पानाहरूमा सङ्घर्षका गहिरा छापहरू छोडेर जान्छन् ।
हाम्रो जिपले जब मुग्लिन पार गर्यो, तब यात्राको दृश्य र गति एकाएक बदलियो । मुग्लिन पार गर्ने बित्तिकै लहरै बसेका गाडीहरूको कहिल्यै नसकिने जस्तो लामो लाइनले हामीलाई त्रसित बनायो । हामी अप्रत्याशित रूपमा एउटा विशाल ट्राफिक जामको पन्जामा परिसकेका थियौँ ।
सुरुमा त केही बेरमा जाम खुल्ला र गाडी अगाडि बढ्ला भन्ने आशा थियो । परन्तु मिनेटहरू घण्टामा बदलिँदै गए, गाडीका चक्काहरू टक्क अडिए । लगातारको जामले मानसिक थकान र दिक्दारी बढाउन थाल्यो ।
कृष्ण भीरले बेलाबेला तर्साउँथ्यो पनि । कुनै ठाउँमा त आधाउधि भत्किएको थियो ।

धादिङको त्रिशूली नदी तटीय क्षेत्र र होचा बस्तीहरूमा भदौ १० गते उर्लिएर आएको विनाशकारी बाढीले घरभित्र हिलो नै हिलो, भत्किएका पर्खालहरू, र बस्तीहरू क्षतविक्षत बनेका थिए । बस्ती विदीर्ण भएको थियो ।
मानिसको जीवन जिउने जिजीविषा अचम्मको हुँदो रहेछ । विपत्तिको त्यो कालो बादल बिस्तारै हटेपछि, अहिले ती ध्वस्त भएका बस्ती र बजारहरू बिस्तारै आफ्नो लयमा फर्कने सुरसारमा देखिन्थे ।
हामी क्षणभरमा जाममा फसिरह्यौँ ।
सोचेजस्तो सहजता कतै थिएन । राजमार्गको यो सकसमा लगभग मलेखु आसपासको छोटो क्षेत्र मात्र यस्तो ठाउँ बन्यो, जहाँ हाम्रा गाडीका पाङ्ग्राहरूले केही समयका लागि निर्बाध र सहज गति लिन पाए । त्यो बाहेक सिङ्गो बाटो केवल थकाइ र प्रतीक्षाको पर्याय बनेको थियो । जसले हत्तु हैरान पार्यो ।
लगातारको रोकिने र हिँड्ने क्रमले शरीर र मन दुवैलाई शिथिल बनाइसकेको थियो । समय बित्दै जाँदा पेटभित्र भोकको आन्दोलन सुरु भयो । शरीरमा ऊर्जा घटेर शून्य जस्तै भइसकेको थियो । बाटोका होटेलहरूमा पाकेका खानाको सुवासले मनलाई लोभ्याउँथ्यो, तर मनभित्र एउटा अद्भुत डरले डेरा जमाएको थियो-“यदि यहाँ खाना खान रोकियौँ भने, फेरि पछाडि पर्नेछौँ र अझै भयानक जाममा फस्नेछौँ ।’’
पुनः जामको नराम्रो चक्रव्यूहमा परिने त्यही डरका कारण हामीले आफ्नो भोकलाई जबरजस्ती दबाउने निर्णय ग¥यौ । नौबिसे पुग्दा खाना खाने उत्तम अवसर र ठाउँहरू त थिए, तर हामीले भोकभन्दा अगाडि समय र गन्तव्यलाई राख्यौँ ।

हाम्रो प्रारम्भिक योजना आधुनिक प्रविधि र सहजताको प्रतीक मानिने नागढुंगा सुरुङमार्ग हुँदै अगाडि बढ्ने थियो । सुरुङमार्गको छोटो र आधुनिक बाटो प्रयोग गर्न पाए यात्राको आधा सास्ती तिनै सुरुङभित्रै बिलाएर जानेछ भन्ने आशा हामीमा थियो । तर, सम्भावना र यथार्थ सधैँ एउटै हुँदैनन् ।
सुरुङमार्गको बाटोमा ओभरटेक गर्न पाइँदैन भनेर ड्राइभरले जोखिम नलिने विचार गर्यो । उसले निर्णय बदल्यो र गाडीलाई थानकोटकै पुरानो, घुमाउरो र उकालो बाटोतर्फ मोडिदियो ।
यो निर्णयले हामीलाई राहत होइन, अझ ठुलो सास्तीको मुखमा पुर्याइदियो ।
थानकोट चेकपोस्ट पुगेर जब काठमाडौँको लागि अगाडि बढ्यौँ तब पुनः जामको लस्करमा परियो ।
घण्टौँको मानसिक र शारीरिक कसरतपछि, रोकिँदै, बिस्तारै–बिस्तारै घस्रिँदै हामी सतुङ्गलको क्षेत्र पार गर्न सफल भयौँ ।
काठमाडौँ उपत्यकाभित्र छिर्ने बित्तिकै स्वागत गर्न बसेको उपत्यकाको आफ्नै महाजाम भने अझै बाँकी नै थियो ।
पोखराबाट बिहानै हिँड्दा पेट रित्तै थियो, तर मनभरी एउटा जिम्मेवारीको गह्रौँ पोको थियो । गाडीको स्टेरिङसँगै समय ढल्किँदै गयो, तर हामीले न बाटोमा चिया–नास्ताका लागि गाडी रोक्यौँ, न त थकान महसुस गर्ने छुट नै दियौँ आफूलाई ।
जब हाम्रो जिप कलङ्की आइपुग्यो, त्यहाँको दृश्य झनै बयान गरिसाध्य थिएन । चारैतिरबाट आएका सवारी साधनहरूको भिड, धुवाँ, धुलो, हर्नको कानै खाने आवाज र मानिसहरूको हतारोले वातावरणलाई अस्तव्यस्त बनाएको थियो । काठमाडौँको त्यो जामको सास्ती त शब्दमा वर्णन गर्नै नसकिने खालको थियो । लाग्थ्यो, सिङ्गो सहर नै यही सडकमा अडिएर बसेको छ र समयले पनि आफ्नो गति बिर्सिसकेको छ ।
न्यानो ज्याकेट सिलाइ व्यवसायीले फोनमा भने— “स्वयम्भू अगाडिको पेट्रोल पम्पबाट भित्र छिरेपछि चरौटी पुल आउँछ, त्यहीँ आउनुस् ।’’

राजधानीको सडक जालमा बाटो खोज्नु र गाडीको लाम छिचोल्नु आफैँमा एउटा महाभारत थियो । जसोतसो सवारीको लस्करलाई चिर्दै, बाटोमा भेटिएका ड्राइभरलाई सोध्दै–सोध्दै हामी अन्ततः चरौटी पुल पुग्यौँ । फोन गर्नासाथ ती सम्पर्क व्यक्ति चरौटीमै हामीलाई लिन पुगे ।
चरौटी पुलबाट दाहिने मोडिएर हामी न्यानो ज्याकेट भएको घर नजिक पुग्यौँ । १३–१४ वटा साना-ठुला बोराहरू लहरै राखिएका थिए, जसमा न्यानो ज्याकेटहरू खाँदिएका थिए । दुई–तीन जना सहयोगीहरूले ती गह्रौँ पोकाहरू फटाफट ओसारे । हामीले पनि न्यानो ज्याकेटका पोकाहरू आफ्नो जिपमा सुरक्षित तरिकाले लोड गर्याैँ ।
जिपको पछाडिको भाग ज्याकेटका पोकाहरूले टम्म भरियो । ज्याकेटका बोराहरूको मुनि दर्जनौँ कापीको ८/९ बोरा पोखराबाटै लोड गरिएको थियो ।
पोखरादेखि काठमाडौँ आई पुग्दासम्म पेटमा पानीको एक घुट्कोसम्म परेको थिएन । काठमाडौँको व्यस्तता र समयको चापले गर्दा केही नखाई, नपिई हामी तुरुन्तै फर्किने तरखरमा लाग्यौँ । शरीरले खाना मागेको थियो, तर समयले विश्राम दिएको थिएन ।
जिप फर्काएर कलङ्की आइपुग्दा बाटो फेरि गाडको भिडले थुनियो । बाटोमा पानी बेच्दै गरेका एक जनासँग दुई बोतल पानी किनेर पियौँ ।
कलङ्कीबाट सतुङ्गल हुँदै अगाडि बढ्दा फेरि हामी जामको भुमरीमा फस्यौँ । काठमाडौँबाट बाहिरिने गाडीहरूको ताँतीमा घण्टौँ थुनिनु पर्ने त्रास फेरि दोहोरियो। । तर यसपालि भने हाम्रो यात्रामा एउटा नयाँ र कौतुकपूर्ण मोड आयो- हामीले नागढुङ्गाको नवनिर्मित सुरुङ मार्गतर्फ जिप सोझ्यायौँ ।

मनमा एउटा कौतूहल थियो, “सायद सुरुङ छिर्दा टोकन वा टिकट काट्नुपर्छ होला ।’’ तर त्यहाँ कुनै शुल्क वा टिकटको उल्झन रहेनछ । जिप सरासर सुरुङभित्र छि¥यो । सुरुङभित्र पस्नासाथ लाग्यो-हामी नेपालकै कुनै भिन्न र आधुनिक युगमा प्रवेश गर्दै छौँ । बत्तीहरूको उज्यालो, चिटिक्क परेको चिल्लो बाटो र आधुनिक संरचना देख्दा मैले जति कल्पना गरेको थिएँ, यो त्योभन्दा धेरै गुणा गजब र भव्य लाग्यो ।
नौबिसे पुग्दा पनि बाटोमा जाममा परिने र ढिलो भई भात खान नपाइने डर मनमा उस्तै थियो । त्यसैले नौबिसेका होटेलहरूमा नरोकिई हामी अझ अगाडि बढ्यौँ । भोकले पेटमा आगो बालिरहेको थियो, तर हाम्रो यात्रा रोकिएन ।
गल्छी नपुग्दै एउटा सफा र शान्त होटेल देखियो । हामीले त्यहीँ गाडी रोक्यौँ । बिहानदेखि रित्तै रहेको पेटमा जब तातो र स्वादिलो दाल–भात प¥यो, शरीरका सम्पूर्ण थकानहरू एक छिनमा पखालिए झैँ भयो । त्यो खाना केवल भोजन मात्र थिएन, दिनभरिको सास्तीपछिको एउटा ठुलो राहत थियो। ।
हामीले यात्राको नयाँ दिशा तय गर्यौँ । गल्छीको दोबाटोबाट पृथ्वी राजमार्गलाई छाडेर हाम्रो गाडी नुवाकोटतर्फ मोडियो । साँझको मन्द हावासँगै, जिपमा राखिएका न्यानो कपडाहरू र मनमा अटाएका सुरुङमार्गका कौतुकपूर्ण सम्झनाहरू बोकेर हामी नुवाकोटको घुमाउरो बाटोतर्फ अगाडि बढ्यौँ ।
जीवनका अनेकन घुम्तीहरूमा हिँड्दा मानिसले कति दृश्यहरू आफ्ना आँखामा सजाउँछ, कति अनुभूतिहरूलाई मनको कुनामा भण्डारण गर्छ । केही यात्राहरू हृदयलाई आनन्दको सुवासले भर्छन्, तर केही यात्राहरू यस्ता भइदिन्छन् जसले जीवन र जगत्प्रतिको सम्पूर्ण हेराइलाई नै बदलिदिन्छन् ।
नुवाकोटको त्रिशूली नदी तटीय भूभागमा जब हामी सयर गर्याै, तब मेरो मन एउटा सुनसान, उजाड र अनौठो खण्डहरमा परिणत हुन थालेको थियो । त्यहाँ देख्नुपरेका दृश्यहरूले मेरो मनलाई यसरी झस्क्याइदिए कि म शब्दविहीन भएँ । प्रकृति पनि यतिविधि निस्ठुरी बन्न सक्छिन् भन्ने कुराको प्रत्यक्ष साक्षी बन्नु मेरो नियति बन्यो ।

जब हामी त्रिशूली नदीको किनारातिर अघि बढ्यौँ, तब मुटु नै चिसो भएर आयो । त्यहाँको दृश्य कुनै सामान्य बाढीको कथा मात्र थिएन, त्यो त एउटा सभ्यता र बस्तीलाई निलेर गएको एउटा “ज्यानमार’’ ताण्डवको कारुणिक दस्ताबेज थियो । उर्लँदो र धमिलो त्रिशूलीको किनारमा उभिएर हेर्दा लाग्थ्यो, नदी केवल पानीको बहाव मात्र होइन, त्यो त हजारौँ सपनाहरू, सम्झनाहरू र आँखाहरूका आँसु पिएर बौलाएको एउटा महाकाल हो । नदीको त्यो निर्दयी सुसाइमा हजारौँ मानिसका चीत्कारहरू गुन्जिरहेका जस्ता लाग्थ्यो । बाढी केवल नदीको साँघुरो किनार र किनारका डिलहरूमा मात्र सीमित थिएन; यसले त तटीय क्षेत्रमा रहेका सम्पूर्ण मानव बस्तीहरू र हराभरा क्षेत्र, गाउँ बस्ती र बजारहरूलाई आफ्नो कालो पन्जाभित्र पारेर पूर्ण रूपमा ध्वस्त बनाइसकेको थियो ।
बाढीको त्रासदीताका सामाजिक सञ्जालका पर्दाहरूमा अनेकौँ दृश्यहरू देखिएका थिए । परन्तु ती दृश्यहरूलाई आफ्नै आँखाको नानीमा उतारेर हेर्नुमा आकाश–पातालको फरक हुँदो रहेछ । पहिले फोन र कम्प्युटरका स्क्रिनमा देखेका ती ठाउँहरू, बगेका घरहरू र उराठिएका बगरहरूलाई जब नजिकैबाट नियाल्ने अवसर मिल्यो, तब म आफ्नै अगाडिको यथार्थलाई पत्याउन नसक्ने अवस्थामा पुगेँ । म आफैँसँग प्रश्न गर्थेँ-“के साँच्चै यति ठुलो बाढी आएकै थियो त ? के प्रकृति यति धेरै कठोर र निस्ठुरी बन्न सक्छिन् र ?’’
मेरो चेतनाले त्यो विनाशको विशालतालाई स्वीकार गर्नै सकिरहेको थिएन । लाग्थ्यो, यो कुनै भयानक दुःस्वप्न हो । तर, अगाडि उभिएको छरपस्ट बालुवा, गिट्टी र भग्नावशेषको पहाडले मेरो भ्रमलाई छिनभरमै तोडिदिन्थ्यो । प्रकृतिको त्यो उग्र र विनाशकारी रूपको अगाडि हामी मानव जातिको अहङ्कार, शक्ति र आधुनिक प्रविधि कति असहाय र तुच्छ रहेछ भन्ने कुराको ज्ञान मलाई त्यहीँ भयो । प्रकृतिको प्रकोप अगाडि हाम्रो साँच्चै केही नलाग्दो रहेछ; हामी त केवल हावाले उडाउने एउटा सुकेको पत्ता जस्तै असहाय रहेछौँ ।
त्यो विनाशकारी बाढीको वितण्डाले गाजेको क्षेत्रमा पुग्दा वातावरण यति गम्भीर र गह्रौँ थियो कि सास फेर्न पनि धौ–धौ परिरहेको थियो । त्यहाँ मानवीय क्षतिको कुनै स्पष्ट लेखाजोखा नै थिएन । कति आफन्तहरू त्रिशूलीको धमिलो छालसँगै कता हराए, कति परिवारका सहाराहरू बालुवामुनि पुरिए, त्यसको कुनै यकिन आँकडा थिएन । हराएका मानिसहरूको खोजीमा भौँतारिएका आफन्तका आँखाहरूमा आशा र निराशाको यस्तो भयानक द्वन्द्व देखिन्थ्यो कि जसलाई हेरेर ढुङ्गाको मुटु भएको मानिस पनि पग्लिन बाध्य हुन्थ्यो । त्यो विकराल अवस्थालाई हेरेर मेरो मन एकतमासले रोइरह्यो । आँखाबाट अश्रु धारा खसिरहेका थिएनन् होला, तर हृदयभित्र भने एउटा ठुलो अश्रु–समुद्र छचल्किएर मनको भित्तामा ठोक्किइरहेको थियो ।
चारैतिर खण्डहर नै खण्डहर थियो । हिजोसम्म जहाँ बालबालिकाहरूको हाँसो गुन्जिरहन्थ्यो, जहाँ गृहिणीहरूको चुलो बलिरहन्थ्यो, जहाँ जीवनका अनगिन्ती सपनाहरू बुनिरहिन्थे, आज त्यहाँ केवल भत्किएका घरका लाचार भग्नावशेषहरू मात्र बाँकी थिए । लाग्थ्यो, ती भग्नावशेषहरू कुनै घरका अवशेष मात्र थिएनन्, ती त मानव आशाका कङ्कालहरू थिए, अस्थिपञ्जरहरू थिए ।
कतै एउटा आधा भत्किएको पर्खाल उभिएर आफ्नो विगतको अस्तित्वको भीख मागिरहेको जस्तो लाग्थ्यो भने कतै बालुवाले पुरिएका खेलौनाहरूले हराएका बालबालिकाको सम्झना दिलाइरहेका थिए । ती अस्थिपञ्जर जस्ता देखिने घरका ढाँचाहरूलाई हेर्दा मेरो आफ्नै मन पनि क्षत–विक्षत भएर खण्डित भइरहेको थियो ।
बाढीले तहसनहस पारेको त्यो विकराल अवस्था र हजारौँ घरबार उजाडिएको कारुणिक दृश्यले मलाई एउटा गहिरो दार्शनिक शून्यतातिर धकेलिदियो । मानिस जीवनभर केका लागि दौडन्छ ? कुन अहङ्कार, कुन सम्पत्ति, र कुन सुन्दर भविष्यको आसमा दिनरात पसिना बगाउँछ ? जब एउटै प्रकृतिको झोक्काले, एउटै बाढीको छालले वर्षौँको मिहिनेत, सपना र सिङ्गो जिन्दगीलाई सेकेन्डभरमै बगाएर लैजान्छ भने यो ‘जिन्दगी’ भन्ने चिज आखिर के नै रहेछ र ? केवल एउटा पानीको फोका ? वा हावाको एउटा अनिश्चित झोँका ?
नुवाकोटको त्यो विदीर्ण भूमिमा उभिएर मैले बुझेँ-मानिसले आफूलाई जति नै शक्तिशाली ठाने पनि प्रकृतिको एउटा सानो इसारा अगाडि ऊ कति लाचार छ । बाढीले घरहरू मात्र बगाएको थिएन, मानिसहरूको भरोसा, ओठको मुस्कान र जीवन जिउने आधार नै पखाली लगेको थियो । उराठ बगरमा परिणत भएका ती खेतबारीहरू, हिलो र बालुवाभित्र पुरिएका मानिसका असीम आकांक्षाहरू र त्रिशूलीको किनारमा टोलाएर बसिरहेका विस्थापित बस्तीका मानिसहरूका अनुहारले जीवनको सबैभन्दा ठुलो र तीतो सत्य बोलिरहेका थिए ।
नुवाकाेटको विदुर बजार आसपासका क्षेत्रहरू पार गर्दै गर्दा हाम्रो आँखाअगाडि विनाशको एउटा अजङ्ग र विकराल दृश्य खडा थियो । हिजोसम्म जीवनको सङ्गीत गुन्जिरहने त्रिशूली बजार आज एउटा बीभत्स खण्डहरमा परिणत भइसकेको थियो । यतिसम्म कि त्यो खण्डहरलाई टोलाएर धेरै बेर हेरिरहन पनि हाम्रो छातीले तागत जुटाउन सकिरहेको थिएन ।
हामी बिस्तारै बेत्रावती क्षेत्रतर्फ प्रवेश गर्यौँ ।
प्रकृतिको यो क्रूर लीलाको सबैभन्दा बढी प्रहार सायद त्रिशूली र बेत्रावतीमा नै परेको थियो । हिजोसम्म जहाँ हाँसो, रोदन, आशा र जीवनका अनगिन्ती रङहरू घामका किरणसँगै बिउँझन्थे, आज त्यहाँ केवल सन्नाटा र बालुवाको मरुभूमिभन्दा अरू केही बाँकी थिएन । पहिलो पटक त्यहाँ पुग्ने कुनै मानिसले त सायद विश्वास नै गर्न सक्दैनथ्यो कि, त्यो उजाड मरुभूमि तुल्य ठाउँमा कहिल्यै कुनै सुन्दर बस्ती थियो, जहाँ मानिसहरू आफ्ना सपनाको गुँड बनाएर बसेका थिए !
हामी बेत्रावतीको माथिल्लो भागतिर उक्लियौँ । पाइला–पाइलामा मुटु बिझ्ने दृश्यहरू पर्खिरहेका थिए । आमाको काखजस्ता ममतामयी घरहरू आज आफ्नै जगबाट ढलेका थिए, माटोमा बजारिएका थिए । कतिपय घरहरू ढलेर आधा अडिएका थिए भने कतिपय समथर धुलो बनिसकेका थिए । एकाध घरहरू मात्र कुनै चमत्कारजस्तै उभिएका देखिन्थे, नत्र सिङ्गो बस्ती नै तहसनहस भइसकेको थियो ।
समय टक्क अडिएजस्तो लाग्थ्यो । सिरसिर बहने बेत्रावतीको हावाले पनि कतैबाट शोकका सुस्केराहरू बोकेर ल्याएझैँ महसुस हुन्थ्यो । प्रकृतिको त्यो विध्वंसअगाडि मानव अस्तित्व कति असहाय र क्षणभङ्गुर रहेछ भन्ने तीतो सत्यलाई त्यहाँको प्रत्येक ढुंगा र माटोको कणले साक्षी दिइरहेको थियो ।
त्यो दिन हामीले केवल भग्नावशेष र खण्डहर मात्र देखेका थिएनौँ, एउटा जीवन्त इतिहास माटोमा विलीन भएको करुण दृश्यलाई आफ्नो आँखैमा देख्थ्यौँ ।
बेत्रावती आइपुगेपछि चालकलाई गाडी रोक्न लगाएँ । ढोका खोलेर बाहिर निस्किएँ र चारैतिर आफ्ना आँखाहरू घुमाएँ । भीषण बाढीले बेत्रावतीको त्यो सुन्दर परिवेशलाई क्षतविक्षत बनाइदिएको थियो । प्रकृतिको त्यो उग्र र विनाशकारी रूपले खण्डहर बस्ती देख्दा मेरो मन विक्षिप्त बनेको थियो । छातीभित्र एउटा नमीठो पीडाको लहर उठ्यो ।
केही समयको तीव्र रफ्तार र घुमाउरा बाटाहरूको सकसपूर्ण यात्रापछि हामी उत्तरगया गाउँपालिकास्थित नीलकण्ठ माध्यमिक विद्यालयको प्राङ्गणमा पुग्यौँ । नीलकण्ठ मावि पुग्दा त्यहाँ अर्कै दृश्य थियो— एउटा यस्तो दृश्य, जहाँ एकातिर विनाशको कालो बादल मडारिइरहेको थियो भने अर्कातिर अलिकति भए पनि मलम लगाउने प्रयास भइरहेको थियो ।
पोखराबाट सिधै त्यहाँ आइपुगेका ‘कर्मफ्लाइट्स फाउन्डेसन नेपालका फिल्ड संयोजक राजु परियार र नेदरल्यान्ड्सबाट सहयोगका हातहरू फैलाउँदै आएका स्वयंसेवकहरू बास र फ्राङ्का पहिले नै त्यहाँ पुगिसकेका आएका थिए । काठमाडौँबाट म भने बाढीपीडित बालबालिकाहरूका लागि न्यानो ज्याकेट बोकेर पुगेको थिएँ ।
राजुको टोलीले विद्यालयको प्राङ्गणमा पहिले नै कापी, कलम, पेन्सिल जस्ता स्टेसनरी सामग्री र बालबालिकाको ओठमा थोरै भए पनि मुस्कान फर्काउन सकियोस् भनेर खेलकुदका सामानहरू मिलाएर राखेका थिए ।
शोक र पीडामा मात्र अल्झिएर समय बिताउने छुट हामीलाई थिएन । काठमाडौँबाट हामीले ल्याएका न्यानो ज्याकेटहरू र पोखराबाट आएका स्टेसनरी सामग्रीहरू व्यवस्थित रूपमा वितरण गर्नका लागि हामीले कार्य विभाजन गर्यौँ ।
म, बास र फ्राङ्का मिलेर विद्यार्थीहरूलाई कापी, कलम, इरेजर, पेन्सिल र खेलकुदका सामग्रीहरू पालैपालो हस्तान्तरण गर्ने भयौँ ।
विपिनले शिक्षकहरूसँग मिलेर विद्यार्थीहरूलाई न्यानो ज्याकेटहरू वितरण गर्दै थिए । राजु परियार भने कहिले स्टेशनरी, कहिले न्यानो ज्याकेट वितरणमा र कहिले कक्षागत तस्बिर खिचिरहेका थिए ।
विद्यार्थीका आँखाहरूमा एक किसिमको अनौठो चमक र आशाको किरण पलाएको देखिन्थ्यो । स्टेशनरी र न्यानो ज्याकेट पाउँदा उनीहरूको अनुहारमा आएको त्यो हल्का मुस्कानले हाम्रा सबै थकान र मनको विक्षिप्ततालाई क्षणभरमै मेटाइदिन्थ्यो ।
त्यस दिन हामीले नीलकण्ठ माविका करिब ३६० जना विपद् प्रभावित विद्यार्थीहरूलाई न्यानो ज्याकेट, स्टेशनरी सामग्री र खेलकुदका सामानहरू वितरण गर्यौँ ।
दिन ढल्किँदै गयो । घाम डाँडापारि भासिँदै गर्दा वातावरण पुनः अलिकति चिसिन थाल्यो । राहत वितरणको कार्य सम्पन्न गरेपछि हामी उत्तरगयाकै कालिका स्थानतर्फ लाग्यौँ । त्यहाँका स्थानीय ट्रेकिङ गाइड कुमार न्यौपानेको घरमा हाम्रो बसाइ र प्रस्थानको व्यवस्था भएको थियो ।
गाडी कालिका स्थानतर्फ अघि बढ्यो । बेत्रावतीको त्यो बगर, तर नीलकण्ठ माविका आशावादी आँखाहरू मेरो मानसपटलमा चित्रझैँ घुमिरहे ।
कुमार न्यौपानेको घरमा हामीले मिठो र आत्मिक स्वागत पायौँ । खानामा अर्ग्यानिक घ्यूले स्वादमा स्वाद थपेको थियो । अघिल्लो सुत्न नपाएको हुँदा म बेलैमा निदाएँ ।
२७ गते बिहान । हामीले लोकल काँक्रा, अम्बा र शुद्ध दूधको चिया पियौँ ।

हामीले बास बसेको घरमा परिवारसँग बिदा मागेर श्री शिवालय आधारभूत विद्यालय प्रस्थान ग¥यौँ । हामीले स्टेशनरी र न्यानो ज्याकेट पुकाएर तयार अवस्थामा राख्यौँ । म भने वितरण अगावै फर्किनुपर्ने भयो ।
त्यो यात्राबाट फर्किएपछि पनि मेरो मन उही रसुवा र नुवाकोटका बगरहरूमा अल्झिरहेको थियो । आँखा बन्द गर्दा अझै पनि बेत्रावती र त्रिशूलीको त्यो भयावह गर्जन र भग्नावशेषका बिच उभिएका ती लाचार अस्थिपञ्जरहरू नै देखिन्छन् । नुवाकोटको त्यो यात्रा केवल एउटा भौगोलिक यात्रा रहेन, त्यो त मेरो मनलाई सधैँका लागि खण्डहर बनाइदिने एउटा कहिल्यै नमेटिने कारुणिक अनुभूति बन्यो । प्रकृतिको महाशक्तिशाली रूपले खण्डित त्यो भूमिलाई यति नजिकबाट महसुस गरेपछि अब जीवनप्रति कुनै अहङ्कार बाँकी रहेन । केवल एउटा प्रश्न मनमा गुन्जिरहन्छ-आखिर जिन्दगी के नै रहेछ र ?
अघिल्लो रातको २ः३० बजे सुरु भएको त्यो यात्रा केवल केही किलोमिटरको दूरी पार गर्नु मात्र थिएन, त्यो त धैर्य, भोक, थकान र नेपाली राजमार्गहरूको तीतो यथार्थसँगको एउटा लामो सङ्घर्ष पनि थियो ।
हाम्रो जिप पुनः जाममा पर्यो ।
करिब ३ घण्टाको जाम छिचोलेर हामी मुग्लिनको एक होटेलमा पस्यौँ ।
यो यात्राले हामीलाई सिकाएको छ-जिन्दगी पनि राजमार्ग जस्तै हो, जहाँ कहिले सोचेजस्तै तीव्र गति हुन्छ त कहिले अप्रत्याशित जाम र अवरोधहरू । तर जस्तोसुकै सास्ती, भोक र हतारो भए पनि मानिसले आफ्नो यात्रा रोक्दैन; धैर्य धारण गर्दै बिस्तारै भए पनि आफ्नो गन्तव्यसम्म पुगेरै छाड्छ ।





