-1759842583.jpg)
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा विजयादशमी पछिको पूर्णिमाको अवसरमा लाग्ने पाँच पूर्णिमा मेला आज लागेको छ । परम्परागत रूपमा खलङ्गाको बराहटाकुरामा लाग्दै आएको मेला पछिल्ला केही वर्ष देखि भने लोप हुँदै गएको थियो । ५, ६ वर्ष अघिसम्म भव्य रूपमा लाग्दै आएको मेला पछिल्ला वर्षहरूमा भने लाग्न छाडेको थियो । तर यस वर्ष भने स्थानीयले भव्य रूपमा मेला लगाएका छन् ।
मेलालाई भव्य बनाउनका लागि मेला सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको थियो । उक्त समितिले मेलाको प्रचारप्रसार देखि मेलामा सहभागी नाच समूहलाई पुरस्कृत गर्न तथा मेला सञ्चालनका लागि सहयोग सङ्कलन लगायत व्यवस्थापनका कामहरू गरेको थियो । फलस्वरूप आज बराहटाकुरामा भव्य मेला लागेको हो ।
मुसिकोटका वडा वडाबाट विभिन्न नाच समूहहरू खलङ्गामा पुगेका थिए भने मेला अवलोकनका लागि गाउँ गाउँबाट मानिसहरू खलङ्गा पुगेका थिए । प्रतिकुल मौसमका बाबजुद पनि मेला भव्य रूपमा सम्पन्न भएको मेला सञ्चालन तथा व्यवस्थापन समितिका सचिव गोपाल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हजारौँले मेला भरेका छन् ।
मेलामा विभिन्न १३ वटा नाच समूहले सहभागिता जनाउँदै नाच देखाएका थिए । ७ वटा पैँसेरु नाच, २ वटा मयुर नाच तथा सिँगारु नाच, पञ्चेबाजा नाच, लाखे नाच र सोरठी नाच १/१ वटा सहभागी थिए । जसले गर्दा दिनभर खलङ्गा स्थानीय मौलिक नाचमा झुमेको थियो । सबै नाच समूहलाई नगद ७ हजार सहित पुरस्कृत गरिएको र सबै समूहलाई प्रमाणपत्र समेत प्रदान गरिएको समितिका कोषाध्यक्ष वनिता मल्लले बताउनुभयो ।
लोप हुँदै गएकाे पाँच पूर्णिमा मेला संरक्षणका लागि सहयोग सङ्कलन गरेर मेला व्यवस्थापन गरिएको समितिले जनाएको छ । साथै समितिले मेलामा सहभागी व्यक्तिहरू, नाच समूह र सहयोगीहरूलाई धन्यवाद समेत दिएको छ । मेला व्यवस्थापनका लागि हेमराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिमा स्थानीयको प्रतिनिधित्व रहेको थियो ।