नेपाली कम्युनिस्ट पार्टीले रुकुम पश्चिममा सञ्चालन गर्न लागेको राष्ट्रिय जागरण अभियानअन्तर्गत चौरजहारी नगरपालिकामा पालिकास्तरीय अभियान सुरु गरेको छ । आइतबार एक कार्यक्रमका विच अभियानको सुरु गरिएको हो । चौरजहारी नगरपालिका–११ स्थित जहारी क्याम्पसमा आयोजित कार्यक्रमबीच पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बसन्त शर्माले अभियानको ब्यानर पढेर उद्घाटन गर्नुभयो ।
अभियान उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य वसन्त शर्मा, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य गोपाल शर्मा, केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य महेन्द्र केसी, कर्णाली प्रदेश सचिवालय सदस्य तथा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मिलन खड्का रोका र चौरजहारी नगरपालिकाका पूर्वनगर प्रमुख विशाल शर्माले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । अभियानमार्फत जनताको घरदैलोसम्म पुगेर स्थानीय समस्या, आवश्यकता र जनगुनासो बुझ्ने, पार्टी सदस्यता नवीकरण गर्ने तथा संगठनलाई थप सुदृढ र विस्तार गर्ने लक्ष्य राखिएकोे छ । कार्यक्रममा चौरजहारी नगरपालिकाका वडा नम्बर १ देखि १४ सम्मका वडा कमिटीका पदाधिकारी, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
पार्टीका पालिका इन्चार्ज ऋषिप्रसाद शर्माको अध्यक्षता भएको उद्घाटन कार्यक्रमा पार्टी जिल्ला संयोजक गोविन्द रोका सचिनको पनि आतिथ्यता रहेको थियो । पार्टीका चौरजहारी नगर संयोजक मोति प्रोखेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन पार्टीका सह इन्चार्ज सुन्दर शर्माले गर्नुभएको थियो । कार्यक्रमसँगै नगरपालिकाका विभिन्न वडामा अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइने नेकपा चौरजहारीले जनाएको छ ।
चौरजहारीसँगै अन्य पालिकामा पनि राष्ट्रिय जागरण अभियान अन्तर्गत पार्टीले आफ्ना गतिविधि संंचालन गरिरहेको नेकपा रुकुम पश्चिमले जनाएको छ ।





