डिग्रे जाने बाटो र बाटो बिराएको विकास

"उक्लिँदा उक्लिँदै उक्लिने बाटो नै ओर्लिएपछि, उक्लिनेको पनि केही नलाग्दो रहेछ !"- तुलसी दिवस

सबै यात्रीको लागि यात्राको मुख्य आकर्षण गन्तव्य नै हो । यस पटकको मेरो यात्रा डिग्रेतिरको थियो । डिग्रे साईकुमारी भगवती मन्दिरमा भाकल गरे इच्छापूर्ति हुने जनविश्वास र कर्णाली प्रेदेशकै प्रमुखमध्येको एक मेला डिग्रे भएकोले मेरो आजको गन्तव्य रोचक बन्नु स्वाभाविक नै थियो । तर हिँड्दा हिँड्दै गन्तव्यभन्दा हिँडिरहेको बाटो झन् रोचक भइदियो ।

यात्रामा निस्कँदै गर्दा सल्ले अस्पतालका चालक गङ्गारामले सुनाएः सल्लेबाट डिग्रे जाने सीधा बाटो छ, उकालो पनि खासै छैन, सल्लेबाट मठ र रावलबारातिर घुमेर गाडीमा जानुभन्दा यही बाटो पैदल हिँड्दा छिटो पुगिन्छ । मलाई पनि गाडीभन्दा पैदल यात्रा नै मन पर्ने । त्यसैले चालकको कुरा सुनेपछि मनमा डिग्रे साइँकुमारी भगवतीको दर्शन गर्ने र बाटोको भूगोल पनि नियाल्ने उत्सुकता जाग्यो ।

कार्तिकको एकादशीदेखि पूर्णिमासम्म लाग्ने डिग्रे मेला कर्णालीकै प्रसिद्ध मेलाहरूमध्ये एक हो । त्यहाँ पुग्ने दर्जनौँ बाटाहरू छन् । चारवटा सडकमा त वर्षैभरि गाडीहरू नै चल्छन् । गोरेटा बाटाहरू  पनि थुप्रै छन् ।

सल्लेबाट सोझै डिग्रे पुग्ने यो बाटो मेरा लागि नितान्त नयाँ थियो । नयाँ बाटो, नयाँ दृश्य र नयाँ अनुभूतिको आशामा म अस्पतालको उत्तर कपूर्वी पर्खालको छेउ लागेर अगाडि बढेँ । मनमा मन्दिरको दर्शन, मेलाको चहलपहल र यात्राको कौतूहल थियो ।

म डिग्रेतिर पूर्वाभिमुख भएर छिटोछिटो पाइला चाल्न थालेँ । सडक फराकिलो थियो र कतै तेर्सो, कतै हल्का उकालो हुँदै अघि बढिरहेको थियो । तर मलाई कुनै अत्यास थिएन । मेरो मनको आँखामा डिग्रे साइकुमारी भगवतीको मन्दिर, त्यहाँ पूजाआजा गरिरहेका भक्तजन र मेलाको चहलपहल नाचिरहेका थिए ।

उहिलेदेखि एउटा जनश्रुति प्रचलित थियो । भन्नेहरूले त्यसलाई जनश्रुति मात्र होइन, सत्य घटना नै हो भन्थे ।

मुसीकोटको सल्लेबाट भाकल चढाउन एउटा बोका डिग्रे लैजानुपर्ने भएछ । तर त्यो बोका बाटैमा भागेर सल्लेकै एउटा दुलोभित्र पसेर हराएछ । हराएको बोका खोज्न केही मानिस दुलाभित्र पसेछन् । तर त्यो सामान्य दुलो नभएर निकै लामो गुफा रहेछ । भित्र पसेका मानिसहरूले बोकालाई भेट्टाउन सकेनछन् र रित्तै हात फर्किएछन् ।

त्यसपछि कसैले एउटा उपाय सुझाएछः गुफाभित्र खरको आगो लगाएर धुवाँ हालिदिने । धुवाँले निस्सास्सिएर बोका फर्केर बाहिर निस्कन सक्छ ।

सल्लेको गुफाभित्र सुकेको खर राखेर आगो लगाइयो । तर धुवाँ सल्लेबाट करिब पाँच किलोमिटर टाढा रहेको डिग्रेको अर्को दुलोबाट निस्किएछ । धुवाँसँगै सल्लेमा हराएको बोका पनि डिग्रेको गुफाबाट बाहिर निस्किएछ ।

यो जनश्रुति आजसम्म जनश्रुतिकै रूपमा प्रचलित छ । तर यसको सत्यता परीक्षण गर्ने, गुफाको भौगर्भिक अवस्था पत्ता लगाउने र सम्भावित प्राकृतिक सम्पदाका रूपमा यसको संरक्षण र संवर्द्धन गर्ने विषयमा कसैले गम्भीर चासो राखेको देखिँदैन ।

म सल्ले अस्पतालको उत्तरी छेउमा रहेको डिग्रे पुग्ने भनिएको त्यही गुफामा पोहोर साल नै पुगिसकेको थिएँ । गुफासम्म पुग्ने मसिनो डोरेटो खरघाँसले पुरिएको थियो । मुखैमा बाक्लो झाडी उम्रिएकाले भित्र पस्न पनि सहज थिएन । स्थानीय जनता वा नेतृत्व कसैले पनि गुफासम्म पुग्ने बाटो बनाउन र त्यसको मुखमा उम्रिएको झाडी हटाउन चासो नदिएको देख्दा मलाई ताजुब लागेको थियो । हाम्रो समाजमा नयाँ मानवनिर्मित सम्पदाको स्थापना गर्ने तर पुराना सम्पदालाई बिर्सने प्रवृत्ति बलियो हुँदै गएको हो कि भन्ने लागेको थियो ।

मैले यही किंवदन्ती सम्झँदै अगाडि बढिरहेँ ।

अलि परदेखि सडक भर्खरै सफा गरिएको जस्तो देखियो । मन झनै उत्साहित भयो । यति सजिलो बाटो छोडेर यात्रुहरू किन अरू बाटो रोज्छन् होला भन्ने लाग्यो ।

करिब आधा किलोमिटर अगाडि पुगेपछि सडक खेतमा मिसियो । सडक यतिमै सकिएको हो कि भन्ने आशङ्का जन्मियो । तर अलि पर पुगेपछि खेतको छेउछाउ फेरि झारले ढाकिएको सडकको रेखा भेटियो । यो बाटो प्रचलनमा नभएकाले अहिले सडकमा बाली लगाइएको होला, केही पर पुगेपछि फेरि सडक भेटिएला भन्ने आशा जागृत भयो ।

तर केही पर पुगेपछि सडकको नामोनिसानै हरायो । पत्थरिलो भित्तामा बाटो साँघुरिँदै डोरेटोमा परिणत भयो । पारिपट्टि तलदेखि माथिसम्म फैलिएको घना सल्लेरी वन देखिन्थ्यो ।

यसअघि खलङ्गादेखि उत्तरपश्चिमपट्टि रहेको गाउँको नाम सल्ले राखिएको देखेर मलाई हाँसो उठेको थियो । सल्लाको रूख नै नभएको ठाउँलाई किन सल्ले नामकरण गरिएको होला भन्ने लागेको थियो । सल्लेको छेउमै यति बाक्लो र विशाल सल्लेरी वन होला भनेर कल्पनासमेत गरेको थिइनँ । सल्ले नामकरण गरिएकोमा यो बाटो हिँडेपछि बल्ल चित्त बुझ्यो । मेरो यो बाटो रोजाइको सार्थकतासमेत पुष्टि भयो । यदि यो बाटो नआएको भए सल्लेको नाम नै मिथ्या भएको भ्रम पालेर बसिरहने थिएँ ।

अगाडिको खोल्सो पार गरेर पारिपट्टि नपुग्दासम्म चट्टानी गोरेटोसँग सङ्घर्ष गर्नुपर्‍यो । मैले सल्लेबाट करिब एक किलोमिटर दूरी पार गरिसकेको थिएँ । अलिकति पर पुगेपछि फेरि झार र बुट्यानले ढाकिएको सडकको अवशेष भेटियो । धेरै वर्षपहिले खनिएको तर मर्मतसम्भारमा कसैले ध्यान नदिएको र स्थानीय घसाराबाहेक अन्य प्रयोजनमा नआएको यो सडक क्रमशः झारपातले पुरिँदै गएको हुनुपर्छ ।

सडकको अवस्था हेर्दा पाँच वर्षभन्दा पहिल्यै खनिएको जस्तो लाग्थ्यो । त्यतिबेला गाउँलेहरूले पक्कै पनि कल्पना गरेका थिए होलान्, 'डिग्रे जाने यो बाटोले अब सल्लेको पर्यटकीय महत्त्वमा कायापलट ल्याउनेछ । मठ वा रावलबारातिरको उकालो बाटो रोज्नुभन्दा डिग्रे जाने सबै यात्रु यही बाटोलाई रोज्नेछन् । सडकछेउछाउमा थुप्रै धार्मिक तथा सांस्कृतिक बजार बस्नेछन् । सल्लेको चहलपहल बढ्नेछ । गाउँको आर्थिक तथा सामाजिक जीवनमा नयाँ ऊर्जा थपिनेछ ।'

बजेट हालिदिने नेतागणले पनि यस्तै परिकल्पना गरेका थिए होलान् ।

बजेट पनि हालियो । सडक खन्न पनि थालियो । तर सल्लेबाट आधा किलोमिटर माथिसम्म पुगेर रोकियो । बीचबीचमा अलिअलि खनिएजस्तो गरियो । काँरेदहको गाउँमा पनि केही भाग खनियो होला । नगरपालिकाको प्रगति विवरणमा सल्लेदेखि डिग्रेसम्म पूरै सडक खनिएको उपलब्धि पनि अभिलेखित गरियो होला ।

तर आफ्नै आँखाले यथार्थ देख्दा आँखा भिजे । मन चिसियो ।

हुन त पछिल्लो समय हाम्रो विकासको नमुना नै यस्तै हुँदै गएको छ । करोडौँका भवन र सडक खन्ने काममा जनप्रतिनिधिहरूको विशेष दिलचस्पी देखिन्छ । तुरुन्तै आँखाले देख्न नसकिने विकासलाई विकास नै ठानिँदैन । सडक खनियो, भवन ठडियो भने विकास भयो । त्यसको उपयोगिता, निरन्तरता र संरक्षणका विषयमा भने मतलब भने हुँदै हुँदैन ।

जब कतै सडक वा भवनको योजना पर्छ, सामाजिक सञ्जालमा झोलेहरूको प्रचार अभियान सुरु हुन्छ । एउटाले भन्छ, “यो त हाम्रा नेताको पहलमा भएको हो ।” अर्कोले प्रतिवाद गर्छ, “होइन, हाम्रा नेताले गर्दा बजेट परेको हो ।” कसैले स्थानीय तहमा आफ्ना नेता भएकाले सम्भव भएको दाबी गर्छ । कसैले प्रदेशमा आफ्नो नेता भएकाले बजेट परेको बताउँछ । अर्कोले केन्द्रमा आफ्नो मान्छे नभएको भए बजेट नै आउने थिएन भन्छ । कसैले त यस योजनाको लागि हाम्रो सरकारले उहिल्यै निर्णय गरिसकेको थियो, पछि सरकार फेरिएकाले नयाँ सरकारले जस लिन खोजेको हो भनेर अर्को तर्क गर्छ । अब कसको कुरा पत्याउने ? सीधासादा  जनता नै अलमल ।

यसरी विकासको स्वामित्वलाई लिएर सुरु भएको भनाभन कहिलेकाहीँ हानाहानसम्म पुग्छ ।

आफूले नगरेको कामको प्रशंसा बटुल्दा नेताको कद सगरमाथाभन्दा अग्लो हुन्छ । झोलेहरूको सामाजिक हैसियत पनि स्तरोन्नति हुन्छ । कसैलाई पदको आशा पलाउँछ, कसैलाई रोजीरोटीको । तर जसको नाममा विकास गरिएको हो, तिनै स्थानीय बासिन्दाले त्यसको उपयोग गर्न पाए कि पाएनन् भन्ने चुरो कुरो भने कता हराउँछ कता ।

ती झोलेहरूले नेताको झोलाभित्र मात्र विकास देख्छन् । आफ्नै घरअगाडिको बिग्रेको बाटो देख्दैनन् । सामुदायिक भवनहरू झाडीले पुरिँदै गएको देख्दैनन् । जङ्गल सखाप हुँदै गएको देख्दैनन् । खनिएको सडक झारले पुरिएर नामोनिसान हराउन लागेको कहिल्यै देख्दैनन् ।

पछिल्लो समयमा सामुदायिक भवन, महिला भवन, वन भवन र स्मृति भवनजस्ता थुप्रै संरचना बनेका छन् । तर तिनको संरक्षण गर्नुपर्ने जिम्मेवारी कसको हो भन्ने विषयमा कसैको ध्यान गएको देखिँदैन । बनाउँदा बजेटको कमी हुँदैन, तर बनेपछि संरक्षण गर्न बजेट पुग्दैन । यही अवस्था रहिरहने हो भने आज आकर्षक देखिएका भव्य भवनहरू केही वर्षमै खण्डहरमा परिणत हुने निश्चित छ ।

जनप्रतिनिधिको कार्यकाल पनि सकिन्छ । उनीहरूले बनाएका भनिएका कङ्क्रिट विकासका आयु पनि सकिन्छन् । झोलेहरूको कण्ठमा गुञ्जिने प्रशंसाका स्वर पनि बिस्तारै बन्द हुन्छन् । त्यसपछि नयाँ पुस्ताका नेता, नयाँ झोले र नयाँ नारा जन्मिन्छन् । नयाँ पारा देखिन्छन् । पुरानो विकासले बाटो यसरी नै बिराउँछ । फेरि त्यही ठाउँमा नयाँ विकास थपिन्छ । नारा फेरिन्छ, पारा फेरिँदैन ।

केही वर्षअघि खनिएको सडकमा गाडी गुड्नु त परै जाओस्, मान्छे पनि हिँड्दैनन् । म सल्लेबाट करिब दुई किलोमिटर अगाडि आइसकेको थिएँ । यतिबेलासम्म बाटोमा एक जना मानिस पनि भेटिएको थिएन । म मुसीकोटको नजिकै होइन कि निकै टाढा निर्जन वनमा पुगेको अनुभूति भइरहेको छ । बरु सल्लेबाट पाँच सय रुपैयाँ तिरेर डिग्रे पुग्ने भक्तहरू डिग्रेबाट फेरि पाँच सय रुपैयाँ तिरेर सल्ले फर्किन्छन् । त्यति नै समयमा पैदल हिँडेर शरीरलाई स्वस्थ बनाउने अवसरतिर भने उनीहरूको ध्यान पटक्कै जाँदैन । सडक बनाउनुको उद्देश्य यातायात सहज बनाउनु हो कि पैदल हिँड्ने बाटोसमेत बिर्साउनु हो, छुट्याउन गाह्रो हुँदै गएको छ ।

अलि पर पुगेपछि तीन जना घसारा घाँस काट्दै गरेका भेटिए । तर मैले भने हिँड्दै गरेको बाटो पनि बिराइसकेको थिएँ । उनीहरूले यहाँबाट अघिल्तिरको बाटोको बारेमा बताइदिए । उनीहरू पनि मठतिरबाट आएका रहेछन् । खर, चाँवले र बाबियोले डोरेटोसमेत ढाकिएकाले बाटो पहिचान गर्न मुस्किल पर्थ्यो । उनीहरूले औँल्याएको बाटोमा म अनुमानकै भरमा माथिमाथि उक्लिरहेको थिएँ ।

सल्लाको वनभन्दा केही माथि गुराँस, अयाँर, काफल र सदाबहार प्रजातिका बुट्यानहरू भेटिन थाले । तलतिर सल्ले विमानस्थलमा हवाईजहाज ओर्लिएको र उडेको दृश्य आँखैअगाडि देखिन्थ्यो । त्यसभन्दा तल क्षितिजसम्म नागबेली परेर बगेको सानीभेरी नदी देखिन्थ्यो । वरिपरिका अग्ला लेकहरू नजिकै देखिन्थे । खलङ्गा बजार र मठको बस्तीदेखि लिएर टाढाटाढाका बस्तीहरू पनि आँखामा अटाउँथे । खलङ्गा र सल्ले जोड्ने दुईवटा पुलसमेत स्पष्ट देखिन्थे । कुनै कुशल चित्रकारले निकै मिहिनेतले बनाएको सुन्दर चित्रजस्तै ।

घाँसे पाखो सकिएपछि नाङ्गो पाखो सुरु भयो । त्यहाँ डोरेटो बाटो पनि केही स्पष्ट देखिन थाल्यो । सिधै माथि गए जन्तीलेक पुग्न सकिन्थ्यो । भेटिएको डोरेटोलाई पछ्याउँदै केही माथि उक्लिएपछि फेरि सडकको अर्को अस्थिपञ्जर भेटियो । सडक केही पर फेरि हराउँथ्यो, केही पर फेरि देखिन्थ्यो । कुनै सिकारी जनावरले आफ्नो सिकारका हड्डीहरू यत्रतत्र छरेर छोडेजस्तै सडकका अवशेषहरू यताउता छरिएका भेटिइरहन्थे ।

पारिपट्टि काँरेदहका दुईवटा फराकिला फाँटहरूमा गहुँ उम्रिँदै थियो । हरिया बाला र पातहरूले ती फाँटलाई हरियो च्यादर ओढाइदिएजस्तो देखिन्थ्यो । अलिकति तल लिरिगैरा र डाङ्ग्रीचौरका बस्तीहरू देखिएपछि गाउँबाट धेरै टाढा रहेनछु भन्ने विश्वास पलायो ।

काँरेदहको माथिल्लो बस्तीबाट फेरि बाटो उकालो लाग्यो । केही माथि पुगेपछि फेरि सडकको अवशेष भेटियो । अब भने केही बेरमै मुसीकोटबाट डिग्रे जाने मूल सडक भेटिनेछ भन्ने आशा जाग्यो ।

सायद हाम्रा जनप्रतिनिधि वा तिनका कार्यकर्ताहरू यही मूल सडक हुँदै डिग्रेतिर जाँदा बारम्बार भन्ने गर्थे होलान्, “सल्ले जोड्ने यो सडक हाम्रै पालामा, हाम्रै पहलमा खनिएको हो । अहिले सल्ले र आसपासका बस्तीका मानिसहरूलाई यस सडकले निकै सुविधा पुर्‍याएको छ ।”

तर सडकको अवस्थाले उनीहरूको दाबीको प्रतिवाद गरिरहेको थियो ।

मैले नापिरहेको सडक नाउँको अवशेष केही पर पुग्यो र लिरिबारीबाट उकालो लागेर बारेगौँराको रानीवनको छेउछेवै माथि उक्लिएकोम मूल सडकमा मिसियो । बल्ल शान्तिको सास फेरेँ । डिग्रे मेलाको अवसर पारेर यस सडकको निरन्तर सफाइ हुँदै आएको छ । अटो, जिप र मोटरसाइकलहरू धुलो उडाउँदै तलमाथि गरिरहेका थिए । अब डिग्रे पुग्न धेरै समय लाग्दैन भन्नेमा म ढुक्क भएँ ।

सडकै सडक डिग्रे मन्दिर पुगेँ । डिग्रेमा नयाँ संरचना निर्माण गर्न वर्षैपिच्छे बजेट परिरहन्छ । यस वर्ष पनि चौरको भित्तालाई सम्याएर चौर फराकिलो बनाउने काम भइसकेको देखियो । मन्दिरलाई ढुङ्गे सिँढी हुँदै परिक्रमा गरेँ । साईकुमारी भगवतीसँग यहाँका नेता र जनताले विकासको नाउमा खास बाटो नबिराऊन् भनी प्रार्थना गरेँ । डिग्रेको चहुरभरि फलफूल तथा अन्य खुला पसलहरू थाप्न थालिसकेका थिए । स्थानीय सुन्तला र बदाम किनेर घरतिर फर्कने तयारी गरेँ । भाडा नसोधी जिप चढेँ ।

मठमा ओर्लिँदा करिब चार किलोमिटर दूरीको भाडा चालकले दुई सय पचास रुपैयाँ मागे ।  यति छोटो दूरीमा किन यति धेरै भाडा ? भनी सोध्दा चालकले 'अटोले त झन् पाँच सय रुपैयाँ लिइरहेको छ' भन्ने जवाफ दिई आफ्नो बचाउ गरे ।

मैले मुसीकोटको सडक यात्राको हकमा यस्ता वाहियात तर्क सुनेर अनौठो मान्न छोडिसकेको थिएँ ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update