रुपौली शब्द मगर खाम भाषाको शब्द हो । जुन रुपौलीको नेपाली अर्थ हुन्छ रूपवती । रूपवती शब्दले सुन्दर रूप भएकी, आकर्षक स्त्रीलाई बुझाउँछ । रुपौली नाम किन स्त्रीको सुन्दरतासँग जोडिन आयो भन्ने कुरा मनमा लाग्न पनि सक्दछ । रुपौली आफैमा शृङ्गारिक छ । उसो त हिमाल र ताल तलैयालाई स्त्रीसँग सम्बन्धित मानिनु सांस्कृतिक, भाषिक र प्रतिकात्मक कारणले हो । यसको कुनै वैज्ञानिक वा जैविक कारण भने छैन । प्रकृतिलाई आमा वा मातृ शक्तिका रूपमा हेर्ने परम्परा छ । हिमाल, नदी, ताल, वन जीवन दिने प्रकृतिका अङ्ग भएकाले स्त्री अर्थात् मातृ रूपसँग जोडिन्छन् । पानीलाई जीवन, उर्वरता, पोषण र सिर्जनासँग जोडिन्छन् । यी गुणहरू परम्परागत रूपमा स्त्रीसँग सम्बन्धित प्रतिकका रूपमा प्रयोग भएका हुन्छन् । हिमाल र ताल स्त्री नै हुन भन्ने होइन । प्रकृतिलाई स्त्री अर्थात् मातृ रूपमा कल्पना गर्ने सांस्कृतिक प्रतिकात्मकता हो ।
यस रुपौली क्षेत्रलाई पहिले ङिम्कुँ भनिन्थ्यो । यो रुकुम पूर्वको ५ हजार ८३३ मिटर उचाइ भएको हिमाल हो । यो हिमालको काखमा १४ वटा तालहरू छन् । यो क्षेत्रलाई पहिले ङिम्कुँ भनेर भन्दै आए पनि केही वर्ष अघि मात्र त्यहाँका स्थानीयले यस ठाउँको नाम रुपौली भनेर नामकरण गरेका थिए । सायद त्यहाँको सुन्दरतालाई न्याय मिल्ने नाम नै यही थियो । अहिले यो रुपौली नाम स्थापित भएर यस क्षेत्रको पहिचान यही रुपौली शब्दले बोकेको छ । यही रुपौली बेस क्याम्प जुन ५ हजार २०० मिटरको उचाइमा अवस्थित छ । यसैलाई गन्तव्य बनाएर विभिन्न जिल्लाका दुई दर्जन बढी यात्रीहरूले असोजको ४ देखी १० गतेसम्म एक साताको यात्रा सँगै गरेका थियौ ।
असोजको महिनाको ३ गते थियो । रुकुमकोटबाट जिप चढेर साँझको ५ बजे तकसेरामा रहेको तकसेरा कम्युनिटी होमस्टेमा पुगियो । होमस्टे सञ्चालक दाइ देवा रोका र भाउजूसँग भेट भयो । तातो पानी र चिया पिउँदै साथीसँग गफिँदै साँझको खाना खाएर सुत्यौ । टाढाका साथीहरूको आगमन राती १ बजेसम्मै भइरहेको थियो । ४ गते बिहान उठेर सबै जना आफ्नो इच्छा अनुसार तकसेरा गाउँ घुम्यौ । फोटो खिच्यौ । भिडियोहरू बनायौ । त्यसपछि देवा दाइको होमस्टेमा भाउजूको न्यानो माया मिसिएको स्वादिष्ट खाना खाएर दुई वटा गाडीमा सबै जना पहिलो दिनको गन्तव्य मैकोटको लागि निस्कियौ ।
तक देखी गरसम्म पुग्दा हामीले उर्लँदो खोला र पहिरोको कारण ४ वटा गाडीहरू परिवर्तन गरेका थियौ । यो यात्रामा मेरा लागि केही पुरानै अनुहारहरू थिए भने केही नयाँ अनुहारहरू थिए । यसै पनि यात्रामा जोडिने सबै पात्रहरू मेरा लागि खुला किताब जस्तै हुन । सकेसम्म र मिलेसम्म सबैलाई पढ्ने कोसिस गरेकै हुन्छु । तक देखी गरसम्मको यात्रामा गाडी परिवर्तन गरिरहँदा सकस भइरहेकै थियो र पनि हामीले त्यसमा फरक खालको रमाइलो महसुस गरेका थियौ । एकले अर्कालाई सहारा दिँदै खोला तरेका थियौ ।

मेरो लागि यो यात्रा विशेष थियो । हजुरहरूले घुमन्ते नाम पक्कै सुन्नुभएको छ होला । घुमन्ते पेज र युट्युबका भिडियो हेर्नुभएको छ होला । कन्चन राई नाम सुन्नुभएकै होला । यो यात्रामा उहाँ जोडिनु नै मेरो लागि विशेष र सबैको यात्रा खास हुनुको कारण थियो । कन्चन राईसँगको यो मेरो दोस्रो भेट थियो भने सँगै यात्रा जुरेको पहिलो पटक थियो ।
पहिलो दिनको यात्रामा हामीले मयाङमा पुगेर खाजा खाएका थियौ । कन्चन सरलाई सायदै त्यसपछि खाएका खाजा र खानाको स्वाद पहिलेको जसो लाएन होला । निन्द्रा राम्रो लाएन होला । यात्रामा हामीलाई देखिने सुन्दर दृश्यहरू धमिला देखिएका थिए होला । यात्राका सहयात्रीहरू फिक्का लागे होला । पेदी देखी माथि चढेपछि देखिने पाटनहरूमा मन दौडाउने चाहना हुँदाहुँदै पनि उहाँको मन ती पाटनहरूमा दौडिन सकेन होला । कहिँ कतै मन दौडाए पनि अड्याउन सक्नुभएन होला । खोलानाला, भिर पाखा, उकाली ओराली गर्दै तन रुपौली पुगे पनि यात्राको पहिलो दिनमै गरमा हराएको मोबाइल तिरै मन दौडिरह्यो होला । खैर यो मेरो अनुमान हो । मनमा के थियो सत्य कुरा त उहाँलाई नै थाहा होला ।
गरसम्म कतै पैदल र कतै गाडी चढेर यात्रा गर्यौ । त्यसपछिको बाकी सबै यात्रा पैदल रहेको थियो । गरबाट मैकोट जाँदा उकालो बाटोमा सबैलाई गाह्रो भएको थियो र पनि सबै जना सुन्दर गन्तव्यको चाहना सहित अघि बढेकै थियौ ।
मैकोट भेट्न उकालो चढ्दै गर्दा उज्यालोको लागि साथमा जून थियो ।
दायाँबायाँ छस्रयाक्क आवाज आउँथ्यो, थाहा छैन त्यो चाही कुन थियो ।
जसोतसो जूनको सहारामा छाया र साथीभाइको माया सहित मैकोटमा पुग्यौ । हाम्रो जिल्लाको पुथाउत्तरगंगा क्षेत्रमा अतिथि सत्कारको संस्कार मलाई बिछट्टै मन पर्दछ । मैकोटीहरुले लट्टेको टिका निदार भरि लगाउँदै फूलको गुच्छामा सद्भाव मिसाएर मनको मझेरीमा स्वागत गर्नुभएको थियो । त्यो स्वागतलाई सहर्ष स्वीकार गर्दै एक छिन उहाँहरूसँगै एक फन्को नाचेर बाटोभरिको थकाइ मेटाएका थियौ । त्यसपछि सबै जना बाँडिएर होमस्टेमा बास बस्यौ ।

यात्राको दोस्रो दिनमा खुलेको मौसममा मैकोटलाई हेरेर हाम्रो मन भूलेको थियो । "रुकुम मैकोट, रुकुम मैकोट, रुकुम मैकोट, रुकुम मैकोट आँखा नि राम्रै छ मन पर्यो नि ओठ" भन्ने गीत नसुनेको सायदै कोही हुनुहुन्न होला । यही गीतको शब्दमा उतारिएको मैकोटमा हामी थियौ । मैकोटको गाउँ छिरेर सबै जनाले त्यहाँको दैनिकीलाई नियाल्यौ । फोटो, भिडियो खिचेर रमायौ । मैकोटीले सांस्कृतिक कार्यक्रम सहित सानो अनौपचारिक कार्यक्रम गरेर सबै पाहुनालाई बिदाइ गर्नुभयो । त्यसपछि खाना खाएर हामी त्यस दिनको गन्तव्य दुलेको लागि निस्कियौ । यात्रामा समूहगत रूपमा कोही साथी अगाडि पछाडि भएर हामी अघि बढिरहेका थियौ । सिमसिम पानी परिरहेकै थियो । कुहिरोको लुकामारी चलिरहेकै थियो । साथीसंगीको रेलाठट्टाले यात्रालाई सहज बनाइरहेको थियो । दोस्रो दिनको साँझमा हामी दुले पुग्यौ । दुलेमा पनि व्यवस्थित रूपमा सञ्चालन भइरहेको होटेल नै रहेछ । त्यहाँको बसाइ पनि सुखद रह्यो ।
यात्राको तेस्रो दिन,
हामी दुलेबाट पिदि अर्थात् पेदी पुग्नुपर्ने थियो । बिहानमा दुले गाउँलाई नियाल्यौ । गाउँको माथिपट्टि गएर पुथा हिमाललाई नियाल्यौ । बिन्जुरी फूलसँग रमायौ । मन्द सिरेटोले झस्काएपछि होटेलमा गएर खाना खाई हामी पेदीको लागि निस्कियौ । उकाली र ओरालीहरू पार गर्दै जाँदा डोल्पा जाने विदेशी पर्यटकहरू र उनका सहयोगीहरू भेटिएका थिए । त्यसपछि ती डोल्पाली दाइभाइहरुसँग रमाइलो गफमा भुल्दै यात्रा चलिरहेकै थियो । त्यही क्रममा एउटा घोडा र र एउटा सामान बोकेको खच्चड भिरबाट खसेका थिए । जसोतसो ती घोडा र खच्चडलाई भिरबाट निकालिएको थियो । त्यस दिनमा पनि विभिन्न रोचक दृश्यहरू नियाल्दै पेदीमा पुगेर बास बस्यौ । पानी परेको थियो । सबैलाई आगोमा सेकिएर बस्न मन लागेको थियो । तर ठाउँ साँघुरो थियो । खानापछिको समय पनि घर्किसकेको थिएन । आज त जसरी नि गीत गाउनुपर्दछ भनेपछि मैले जानी नजानी टुक्का जोडेको थिए । गीत रिलेमा गएपछि झन् रमाइलो भएको थियो । छेउछाउमा देखिनेजतिलाई टुक्का हान्न बाकी राखिएको थिएन । थकानलाई यही रमाइलोले भुलाएपछि सबै जना सुत्यौ ।
रातिभरि पानी दर्किएको थियो । खोलाको छेउमा बास छ । राती रसुवाको झैँ बाढी आएर बगाएर लग्यो भने के गर्ने होला भन्ने विचार मनमा आएको थियो । फेरी सोचे बाढी आए मलाई मात्र लाने होइन क्यारे यहाँ भएका जति सबैलाई लैजान्छ भनेर चित्त बुझाए । यस्तै यस्तै कुराहरू सोच्दै रात बित्यो । बिहान उठेर हेर्दा डाँडामा हिउँ परेको थियो । हिमालले सेतै बनाएर छोपेको डाँडा, पाखामा चरिरहेका नावर, कलकल बगिरहेको खोला, खोलाको दायाँ बायाँ चढिरहेका घोडा, चिसो सिरेटोलाई छल्दै कफीको चुस्कीसँगै फोटो र भिडियो लिन तल्लीन हामीहरू, त्यति बेलाको माहौल नै बेग्लै थियो । त्यसपछि सबै जना त्यहाँबाट बुकी बेस क्याम्पको लागि प्रस्थान गर्यौ ।

त्यसपछिको यात्रामा सुन्दरताको के बयान गर्नु । हिमालको काख र नदीको तिरैतिर भएर यात्रा अघि बढेको थियो । फूलैफूलको बाटो, पहराबाट निस्किएका पानीका लहरा, चट्टानी आकृति, कन्चन झरना, चञ्चल साथीहरूको साथ । त्यो पलको वर्णन शब्दमा बयान कसरी गरूँ मैले । क्यामेरामा कैद भएको भन्दा सुन्दर दृश्य आँखाले देखेका थिए । त्यसैले त्यो दृश्य अगाडि आफैले चित्र उतारेका तस्बिरहरू पनि फिक्का लाग्ने गर्दथे । ७ गते साँझको समयमा हामी बुकी बेस क्याम्पमा पुग्यौँ । देवा दाइ, विशाल र साङ भाइ अघिल्लो दिनमै क्याम्पमा पुगिसक्नुभएको थियो । त्यस दिनमा पनि महिला टोली पहिले पुगेका थियौ भने पुरुषहरूको टोली पछाडि आउँदै थियो । पुग्ने बित्तिकै ब्याग बिसाएर चारैतिरको माहौललाई नियाल्यौ । पाटनमा रङ्गीबिरङ्गी फूलहरू फूले झैँ बुकी बेस क्याम्पमा रङ्गीबिरङ्गी टेन्टहरू पनि फूल फूले झैँ लागेको थियो । हावाको गतिसँगै हल्लिरहेका लुङदरले बेस क्याम्पको सुन्दरतालाई अझ बढाएको थियो । त्यहाँको माहौल अवलोकनपछि तातो पानी पियौँ । यत्तिकैमा पछाडिको टोली पनि आइपुग्यो । सबै जना त्यहाँको माहौलमा घुलमिल हुन व्यस्त थिए । यता भान्साको काम चलिरहेकै थियो । खाना पाक्यो । सबै जना खाना खायौ । एक छिन भान्सामा गफिँदै थियौ । हिउँ पर्न सुरु भयो । बाहिर हिउँ पर्दै थियो । साथीहरू हिउँमा लाइट बालेर फोटो र भिडियोहरू खिचिरहनुभएको थियो । कोही सङ्गीतको धुनमा डुबिरहनुभएको थियो । हामी भने केही साथीहरू नाचगानको रमाइलोमा मस्त थियौँ । हाँस्न मै व्यस्त थियौ ।
असोज ८ यो यात्राको पाँचौँ अर्थात् सबैभन्दा महत्त्वपूर्ण दिन थियो । जुन गन्तव्यको लागि हामीले यात्रा तय गरेका थियौ, त्यही गन्तव्यमा पुग्ने दिन थियो । बिहान उठ्दा चाँदी झैँ टल्कने हिमाल देख्न पाइयोस् भन्ने चाहा थियो । कुहिरोसँग मस्किँदै, हावाको झोक्कासँग ठोक्किँदै, प्रकृतिको सुन्दरतामा पोखिँदै रुपौलीसम्मको सफरको रहर थियो । बिहानीमा आँखा मिच्दै टेन्ट खोलेर हेर्दा आफ्नै अगाडि हिउँको थुप्रो थियो । हिमाल कुन, पाटन कुन छुट्याउन मुस्किल भयो । हिउँसँग रमाउँदा रमाउँदै पनि मनमा रुपौली पुग्न नपाइने हो की भन्ने कुराले सबैलाई चसक्क त भएकै थियो । हिउँ निरन्तर परिरहेकै थियो । देवा दाइ भन्नुहुन्थ्यो, "१२ बजेसम्म कुरौँ, त्यति बेलासम्म मौसम खुल्यो भने रुपौलीको लागि निस्किउँला नत्र पेदीको लागि फर्कनुपर्छ ।" यसो सुन्दा त राम यत्रो दुख गरेर आएको यो हिउँले के गर्यो यस्तो भन्ने लाग्यो र पनि हामी मौसम खुल्ने प्रतीक्षामा बसिरह्यौ । केही समयपछि मौसम खुल्छ खुल्दैन थाहा छैन । म हिउँसँग मुरमुरिएरै बसेको थिए । कार्तिकतिर परेको भए के बिग्रन्थ्यो ? यत्रो दुख गरेर हामी आको बेलामा सबै छोपेर बस्नुपर्ने ? रिस उठ्ने…..
रुपौली नै नपुगे पनि केही माथि त जाऊ भनेर सबै जना उकालो चढ्यौ । जति उकालो चढ्यौ त्यसपछि त उति सुन्दर दृश्यहरू देखिए । हिमाल हेर्दै जलाकीहरु पनि उभिएका थिए । थाहा छैन, ती जलाकीलाई कतिले आफ्नो मनको कुराहरू सुनाए । मैले पनि जलाकीलाई मनको कुरा बिसाए । हेरौँ जलाकीलाई बिसाएको बिन्ती उसले कतिको पुरा गर्दछ । हिउँ छिचोल्दै अगाडि बढ्दा हिमाल आरोहण गरे झैँ महसुस भयो । कति चुचुराको नजिकै पुग्यौ । कति चुचुरा मैसँग बराबर थिए त कति चुचुरा आफू भन्दा धेरै तल थिए । आफूभन्दा अग्ला चुचुरा देख्दा यात्रा अझै बाकी छ झैँ लाउँथ्यो । आफूसँगै बराबर रहेका चुचुरा देख्दा मनमा सकुन् मिल्थ्यो भने आफूभन्दा पनि तल केही चुचुराहरू देख्दा गन्तव्यमा पुगेर आफू विजयी भएको महसुस हुन्थ्यो । समग्रमा हामी हिँड्ने प्रत्येक पाइला र हामी पुग्ने प्रत्येक ठाउँले हाम्रो मनमा केही नयाँ कुराहरू विझारोपन गरेकै हुन्छन् ।

बुकी बेस क्याम्पबाट माथि उक्लिएपछि फोटो र भिडियो खिच्दै जाँदा हामीले ३ घण्टा बिताएका थियौ । यो अवधिमा ३ वटा तालसँग हाम्रो भेट भएको थियो । ती ३ वटै तालको नामकरण भएको छैन भनेर मैकोट निवासी पत्रकार सुरविन्द्र कुमार पुन दाइले भन्नुभएको थियो । रुपौलीमा १४ वटा ताल छन् । तर यसपालि मौसमले हामीलाई ३ वटा भन्दा बढी ताल नहेर भनेर फर्काएको थियो र पनि जति हेरियो, आकाशमा बादल, बादलमुनि कुहिरो, चारतिर हिमाल, त्यही काखमा ताल । मरेपछि कस्तो खालको स्वर्गमा पुगिन्छ मलाई थाहा छैन । त्यो स्वर्गको मैले अक्षर मात्र देखेको छु । तर मलाई यो ठाउँ स्वर्ग भन्न मन लाग्यो । मलाई थाहा छैन, हिउँ नपरेको दृश्यमा रुपौलीको रूप कस्तो देखिन्थ्यो । तर मैले अहिले देखेर आएको दृश्यमा सुन्दरताको तुलना कसैसँग गर्न सक्दिन । रुपौलीको एउटा रूप हेर्न गएको हामी रुपौलीको अनेक रूप हेर्यौ । अझै १ घण्टा हिँड्यो भने रुपौली पुग्न सकिन्छ भन्ने कुरा साथीहरूले गर्नुभएको थियो । जति हेर्नुपर्ने थियो त्यो त सम्भवै भएन किनभने फेरी हिउँ पर्न सुरु भएको थियो । अबको जोखिमलाई मध्यनजर गर्दै हामी ५ हजार मिटरको उचाइबाट बुकी बेस क्याम्पमा फर्किएर झरीसँगै पेदी बेस क्याम्पको यात्रा तय गर्यौ ।
त्यस दिनमा पेदीमा बास बसेर अर्को दिन हामी पेल्मा पुग्यौ । पेल्मामा नेपत्थ्यको गीतमा उतारिएका शब्दहरू
"पेल्माको तिरैतिर,
यमाखार भिरै भिर
भेटै हौउला मैकोट शिरै शिर"
भन्ने गीतलाई सम्झँदै झरीको बिचबाट पेल्मा पुललाई पार गरेका थियौ । पेल्मामा पुग्दा स्याउको पहाड देखेर हामी सबै जना झस्किएका थियौ । त्यहाँ पुग्दा स्याउ खाएर होइन हामी हेरेरै अघाएका थियौ । त्यहाँ एक रातको बसाइपछि यात्राको सातौँ दिनमा हामी पेल्माबाट विभिन्न गाउँहरू नियाल्दै अघि बढेका थियौ । त्यस बखत बाटोमा आधा दर्जन पुलले हाम्रो यात्रालाई छोट्याएका थिए । जसोतसो डिम्मुरगैरा पुगेपछि पुनः हामी सबै जना गाडीको यात्रा गरेर साँझको ९ बजे तकमा पुग्यौ ।

यात्रामा हामीसँगै फर्किएको खुसी
रुपौली जाँदै गर्दा मयाङमा हराएको कन्चन सरको मोबाइल फर्केर आउँदा भेटिन्छ कि भन्ने झिनो आस सबैमा थियो । जाँदा गाउँ मुनिबाट गएका हामी फर्कँदा गाउँको माथिबाट फर्किएका थियौ । अन्तिम दिनमा कन्चन सरले सुनाउनुभएको थियो, " मयाङमा ५/७ वटा घरहरू छन् । अन्तिम पटक आफ्नो चित्त बुझाउनलाई भए पनि सबै जनालाई एक पटक सोध्नुपर्ला कसैले भेट्नुभएको पो छ की । तर मयाङ गाउँको माथि पट्टीको बाटो भएर आउँदै गर्दा आफूले ५/७ घरको गाउँ सम्झिएको मयाङलाई विशाल देख्दा झसङ्ग भए । त्यसपछि त मोबाइलको आस मर्यो । एक छिन मयाङको शिरमा मेरो मोबाइल खाने गाउँलाई अन्तिम बिदाइ भनेर एक छिन बसेर नियाले । बाटोमा झरेर रुपौली जाँदा खाजा खाएको ठाउँमा चित्त बुझाउनलाई भए पनि एक पटक खोज्नुपर्यो भन्ने सोचका साथ मोबाइल खोज्दा त्यही ठाउँमा मोबाइल भेटियो ।" त्यो मोबाइल भेटिदा सबै जना खुसी भएका थियौ । उसै दिन सरको जन्मदिन पनि रहेछ । तर त्यो कुरा मलाई चाही रुकुमकोट फर्कँदा बाटोमा मात्र थाहा भयो । त्यसैले जन्मदिनको शुभकामना भन्न पाएन ।
यात्राका प्रिय मनहरू
मैले अगाडि पनि उल्लेख गरेको छु । यो यात्रामा जोडिएकाहरू मेरा लागि केही पुरानै अनुहार हुन भने केही बिलकुल नयाँ अनुहार । कतिपय पुरानै अनुहार भए पनि यात्रामा भने पहिलो पटक जोडिँदै थियौ । हाम्रो ह्यान्डसम देवा दाइ र चकलेटी दिलचन भाइले रुकुम पूर्व पनि सुन्दर छ है भनेर चिनाउने योजना सहित बुकी बेस क्याम्पमा टेन्टहरू खडा गरेर बसाइलाई सहज बनाउँदै यो यात्राको आयोजना गर्नुभएको थियो । सुरुको दिनमा नयाँ अनुहारसँग मुस्कानले पनि मुख मोडेको थियो । यो एक हप्ते यात्रामा सबै जना आत्मीयताको डोरीमा कसक्कै भएका थियौ । यो यात्रामा रुकुमकोटबाट म सँगै जानुभएको दिदी सिर्जना खड्का साथमै हुँदा म आफूलाई अलि बढी लापरबाही छोड्थे । किनभने सम्हाल्ने उहाँ हुनुहुन्छ भन्ने भावना मनमा आउँथ्यो ।
काँक्रीमा जाँदा हनी सरसँग नसोचेको भेट भयो । त्यस अघि मलाई थाहा थिएन उहाँ पनि सँगै यात्रामा जोडिनुहुन्छ । तकमा हामी ३ गते नै पुगिसकेका थियौ । कोडी दिदी सहित कन्चन सरको टोली राती १ बजे र राजु चौधरी बिहान तक पुग्नुभएको थियो । तकबाट मैकोट हुँदै दुले पुग्दा सबै जना एक अर्कासँग भावनाको डोरीमा कसक्कै बाँधिएका थियौ । यो यात्राले गुल्मेली विमल थापा र पोखरेली सुनिल वाग्लेको दोस्तीलाई बलियो बनाएको थियो । यो यात्रामा सबै भन्दा कम फोटो खिच्ने पनि उहाँ २ जना रे । बागलुङका नरेन्द्र र ज्वाला भाइको दोस्तीले म चकित भएको थिए । एक अर्कालाई नभई पनि नहुने र सँगै हुँदा कुकुर र बिरालाको जस्तो लडाइ पनि देख्न पाइन्थ्यो । त्यो लडाइमा माया भने अथाह हुन्थ्यो । यो दुई जनाको टोलीमा सबैभन्दा बढी मिल्ने भनेकै दिलचन र राजु चौधरी हुनुहुन्थ्यो । कोडी दिदीलाई बास बस्ने ठाउँका दिदीहरु रेडियो नेपाल लाग्थ्यो भने हाम्रो समूहको रेडियो नेपाल नै कोडी दिदी हुनुहुन्थ्यो । दिदीको लागी हनी सरको साथ बलियो थियो । घुमन्ते टिमका सबैभन्दा अनुशासित भाइ बन्धन थकाली सबैका प्रिय पात्र हुनुहुन्थ्यो । मैले सधै मायाले बाचा बन्धन भनेर बोलाउने गर्थे । उहाँ मेरो पनि उत्तिकै प्रिय पात्र हुनुहुन्थ्यो । उही समूहका अर्का पात्र उमेश सापकोटा, जसको हरेक बिहानी निधारमा टिका, योगा र ध्यानबाट सुरु हुने गर्दथ्यो । सापकोटाको बिहानीले हामीमा पनि सकारात्मक ऊर्जा पैदा भएको महसुस हुने गरेको थियो ।

यो यात्राको मुख्य आकर्षक र महत्त्वपूर्ण व्यक्ती हुनुहुन्थ्यो कन्चन राई ।
यो यात्रा अरूलाई भन्दा फरक कसैलाई लागेको थियो भने उहाँलाई नै हुन सक्छ । यात्राको बिचबिचमा मोबाइलको कुरा लिएर मैले यात्रा अनुभव पनि सोध्ने गर्दथे । त्यस बेलामा उहाँले कहिले निन्द्रा नलागेको कुरा पनि सुनाउनुहुन्थ्यो । उहाँको मोबाइल हराएपछि यात्रामा हामी सबैको मनमा पनि कन्चन सरको यात्रा नरमाइलो त पक्कै भइराको छ होला भन्ने खालको विचार आउने गर्दथ्यो । यसका बाबजुद पनि यात्रामा साथमा साथ, काँधमा काँध मिलाएर अघि बढिरहनुभएको थियो । उहाँ आफ्नो नाम जस्तै कन्चन लाग्थ्यो मलाई । भद्र, शालीन र सरल । रुकुम पूर्वमा र हाम्रो यात्रामा कन्चन सरको उपस्थितिले महत्त्वपूर्ण अर्थ राखेको थियो ।
यात्रामा लुम्बिनी प्रदेश सभा सदस्य दिलु बुढा, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा, कार्यपालिका सदस्य मल्ती पुन, १ नम्बर वडा सदस्य विक्रम पुन लगायत अन्य मैकोटी दिदीहरुको पनि उपस्थिति रहेको थियो । उहाँहरूले पदीय जिम्मेवारी अनुसार सबै जनासँग कुनै दुरी राख्नुभएको थिएन र त यात्रा थप सहज बनेको थियो । मैले सम्बोधनमा दिदी भन्थे । उहाँहरू भन्नुहुन्थ्यो, नाना भन्नुस् । हामी मायाले कान्छी भन्छु । यो कुरा पनि मैले सहजै स्विकारेको थिए । सम्झी सम्झी भए पनि नाना भन्थे । यो पनि एउटा छुट्टै खालको भावनात्मक सम्बन्ध थियो । हाम्रो साथमा मैकोटकै पत्रकार आदरणीय दाइ शान्त स्वभाव र लेखन कलामा निपुण सुरविन्द्र कुमार पुन हुनुहुन्थ्यो । अर्का मैकोटकै मिर्जा पुन जसलाई हेरेर चिसो पनि काँपिरहेको जस्तो लाउँथ्यो मलाई । यात्रामा घमराज शेर्पाली र सन्तोष बुढा क्षेत्रीको दोस्ती पनि फरक तरिकाले जमेको थियो । सहयोगी मनका धनी हामी सबैको प्यारो भाइ विशाल र साङको साथ हामीलाई दरिलो थियो ।
आठौँ दिनमा तकसेरामा रुपौली यात्रालाई औपचारिक रूपमा बिट मारिएको थियो । जहाँ आयोजकले यात्रामा सहभागी सबै जनालाई सबैको प्यारो नरेन्द्र भाइले आर्ट गरेको कोसेली यात्राको प्रतीकको रूपमा दिएको थियो । यससँगै हाम्रो यो यात्रामा पूर्णविराम लाग्यो । एक साता अघि हामी सबैको एउटै गन्तव्य थियो । त्यस दिन सबै जनाका आ-आफ्ना गन्तव्य थिए । त्यसपछि सबै जना आफ्नो गन्तव्यतिर लाग्यौ । मन भने बेलाबेलामा पाटनहरूमा, तिनै साथीसंगीहरुसँग रमाउन र हराउन पुग्ने गर्दथ्यो ।

निष्कर्ष,
यो यात्रामा मलाई रुकुम पूर्व एउटा पढेरै नसकिने किताब जस्तै लाग्यो । अर्को कुनै किताबसँग यो किताबको तुलना हुन्थ्यो भने, यो किताबको नाम गातामा ठुलो अक्षरमा "रुकुम पूर्व" लेखिएको हुने थियो । उ किताबमा पानाहरू हुने थिए । यो किताबका पानाहरू पाइलाहरू हुन् । उ किताबमा बगैँचा लेखिएको हुने थियो । यो किताबमा रङ्गीबिरङ्गी फूलहरू छन् । उ किताबमा चित्रहरू लेखिएको हुने थियो । यो किताबमा पाटनमा खोला र झरनाहरूले सुन्दर आकृतिहरू बनाएका छन् । उ किताबको ज्ञान सुन्ने हो । यो किताबको ज्ञान अनुभव गर्ने हो । त्यसैले रुकुम पूर्व सुन्दरता र मनोरञ्जनको मात्र नभई अध्ययन र सिकाइको गतिलो थलो हो । थाहा छैन मैले पनि रुपौलीलाई कति पढ्न सके र उसको पहिचानलाई न्याय दिन सके । अनि सँगै यात्राका सहयात्रीलाई पनि ।
मात्र १ घण्टाले अधुरो बनेको यो रुपौली यात्रा पुरा गर्न अब सायदै वर्ष दिन लाग्ने छ…..















