रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ बागेधारामा आयोजित चौथो बागेधारा कप २०८३ सम्पन्न भएको छ । मंसिर ४ गते देखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
परम्परा देखि लाग्दै आएको बागेधारा मेलाको अवसरमा बागेधारा खेलकुद समितिले खुला शुद्ध वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । रुकुम पूर्व र पश्चिमका २१ टिमले प्रतिस्पर्धा गरेको पुरुष भलिबल प्रतियोगितामा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ प्रथम भएको छ ।
आज भएको फाइनल खेलमा आयोजकलाई ३–० को सोझो सेटमा पराजित गर्दै बाँफिकोट २ प्रथम भएको हो । प्रथम भएको बाँफिकोट २ ले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरको खेलकुद समितिका अध्यक्ष रमन खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार दोस्रो भएको आयोजकले ८१ हजार एक सय ११ रुपैयाँ तथा तेस्रो भएको बाँफिकोट १० ले नगद ५१ हजार एक सय ११ रुपैयाँ पाएको छ । यस्तै सान्त्वना स्थानमा चित्त बुझाएको बाँफिकोट १ ले ३१ हजार एक सय ११ रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै महिला भलिबल तर्फ पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ प्रथम सिस्ने गाउँपालिका वडा नम्बर ४ दोस्रो तथा बाँफिकोट गाउँपालिका वडा नम्बर २ तेस्रो भएको छ । प्रथम, दोस्रो, र तेस्रोले २५ हजार एक सय ११, २० हजार एक सय ११, र १५ हजार एक सय ११ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक समितिले जानकारी दिएको छ ।
यस्तै मेलामा झाँकी सहित विभिन्न ठाउँबाट सहभागी भएका ३० वटा सांस्कृतिक समूहलाई पनि समान पाँच/पाँच हजार रुपैयाँ नगद सहित सम्मान गरिएको छ । आज एक कार्यक्रमका बिच मेला तथा मेलामा आयोजित भलिबल प्रतियोगिता समापन गरिएको छ ।





