Kakhara सबैको खबर सम्पूर्ण खबर
जिसस रूकुम पश्चिमकाे प्रमुखमा गाैतम र उपप्रमुखमा कामी विजयी

जिल्ला समन्वय समिति रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । अरु कसैको उम्मेदवारी नपरेपछि नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् । प्रमुखमा लुम्बिनी गौतम निर्विरोध निर्वाचित हुँदा उपप्रमुखमा देववहादुर कामी निर्विरोध हुनुभयो । मुख्य निर्वाचन अधिृकृतको कार्यालयले आज औपचारिक घोषणा गरेको हो ।

प्रमुखमा निर्वाचित गौतम जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर १० र उपप्रमुखमा निर्वाचित कामीले वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट सानीभेरी ३ को सदस्यमा चुनाव जित्नुभएको थियो । गौतम नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत हुन भने कामी प्रदेश कमिटी सदस्य हुनुहुन्छ । ७ जना सदस्यहरु पनि सबै माओवादी केन्द्रबाट निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित हुने सदस्यहरुमा देउभान ओली, कृष्णबहादुर यरी, रामकुमार गौतम, मीना विक, गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली रहनुभएको छ । जिल्लामा जम्मा ६ वटा स्थानीय तह रहेकामा १२ जना मतदाता थिए । जसमा माओवादी केन्द्रका ९ जना, नेपाली कांग्रेसका २ जना र नेकपा एकीकृत समाजवादीका १ जना थिए ।

अन्य कसैले उम्मेदवारी नदिएपछि मनोनयन दर्ताकै दिन जेठ २६ गते नै माओवादीका उम्मेदवार निर्विरोध भएपनि औपचारिक घोषणा भने आज भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज मतदानको मिति तोकेको थियो ।   
 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update