Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिममा जारी दोस्रो रुकुम कप भलिबलमा नेपाली सेनाको चण्डीदल गणले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा बाँफिकोट गाउँपालिका वडा नम्बर ४ लाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।

आर्मीले पहिलो सेट १६ का विरुद्ध २५, दोस्रो सेट ११ का विरुद्ध २५ र तेस्रो सेट २० का विरुद्ध २५ ले आफ्नो पक्षमा पार्दै सहज जित हात पारेको हो । आर्मीमा नेपाल राष्ट्रिय टिमका कप्तान समेत रहेका मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट र दुर्गा महतो समेत छन् ।

आजै भएको पहिलो खेलमा हाम्रो सरोकार रुकुम पश्चिमले जित हासिल गरेको थियो । यो उसको लगातार दोस्रो जित हो । वैशाख २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा रविन चन्द, लोकेन्द्र गिरी, सफल विक, विमल परियार, कमल गहतराज लगायतका खेलाडी सहभागी छन् । प्रतियोगिता रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र हाम्रो सरोकार रुकुम पश्चिमले संयुक्त रूपमा आयोजना गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update