Kakhara सबैको खबर सम्पूर्ण खबर
व्यक्ति होइन, पार्टीको बलमा परिवर्तन सम्भव छ : सांसद शर्मा

प्रतिनिधिसभा सदस्य गोपाल शर्माले नेपालमा आएको राजनीतिक परिवर्तन कुनै व्यक्तिको व्यक्तिगत योगदानबाट नभई सहिदहरूको बलिदान र पार्टीको सामूहिक संघर्षबाट सम्भव भएको बताउनुभएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ र ७ को सिमाना मग्मामा बडादशैंको अवसरमा आयोजित सहिद स्मृति मेला तथा विविध खेलकुद एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले सहिदको योगदानलाई सम्मान गर्दै परिवर्तनको उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । सहिदहरूकै बलिदानका कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै सहिदको योगदानलाई कुनै व्यक्ति वा पार्टी विशेषको सीमामा राख्न नहुने उहाँले बताउनुभयो ।

“सहिदकै कारण देशमा परिवर्तन आएको हो। हामीले पाएको अधिकार र अहिलेको व्यवस्था सहिदहरूको बलिदानको परिणाम हो । त्यसैले सहिदको सम्मान गर्नु भनेको उहाँहरूले देखाएको परिवर्तनको बाटो र उद्देश्यलाई आत्मसात् गर्नु हो,” सांसद शर्माले भन्नुभयो । कार्यक्रममा उहाँले पूर्वसहकर्मी तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माको विगतको भूमिकासमेत स्मरण गर्दै पार्टीमा रहँदा  पार्टीले दिएको जिम्मेवारीअनुसार योगदान गरेको उल्लेख गर्दै अब आफूहरूले पनि पार्टीकै जिम्मेवारीअनुसार जनताको पक्षमा काम गर्ने बताउनुभयो

। “जनार्दनजीले पार्टीमा हुँदा पार्टीकै जिम्मेवारी पाएर योगदान गर्नुभयो। उहाँले व्यक्तिगत रूपमा मात्रै गर्नुभएको होइन, पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्नुभएको हो। अहिले उहाँ पार्टीबाट चिप्लिएर जानुभयो, अब उहाँबाट त्यो सम्भव हुँदैन। अब हामी गर्छौं,” उहाँले भन्नुभयो । कुनै एक व्यक्तिले मात्रै परिवर्तन, विकास वा राजनीतिक उपलब्धि सम्भव गराउन नसक्ने उहाँको भनाइ  थियो । व्यक्तिभन्दा पार्टी र सामूहिक राजनीतिक जिम्मेवारी महत्वपूर्ण हुने बताउनुभयो । “व्यक्तिले मात्रै सम्भव हुँदैन। पार्टीले जिम्मेवारी दिएका कारण उहाँले काम गर्नुभयो। हामीलाई पनि पार्टीले जिम्मेवारी दिएको छ। अब हामी पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्ने हो,” उहाँले भन्नुभयो ।

आफूले प्रतिनिधिसभामा निर्वाचित भएपछि आफ्नो क्षेत्र र जनताको पक्षमा गर्नुपर्ने काम निरन्तर गरिरहेको दाबी गर्दै शर्माले जनताको अपेक्षा पूरा गर्न संसद् र आफ्नो राजनीतिक भूमिकालाई प्रभावकारी रूपमा प्रयोग गरिरहेको बताउनुभयो । “मेरो ठाउँबाट प्रतिनिधिसभामा गर्नुपर्ने काम म गरिरहेको छु। जनताको आवाज उठाउने, आवश्यक योजना र विकासका विषयमा पहल गर्ने र आफ्नो जिम्मेवारी पूरा गर्ने काम निरन्तर गरिरहेको छु,” उहाँले भन्नुभयो ।

सहिदको सम्मान केवल स्मृति कार्यक्रममा भाषण गरेर पूरा नहुने भन्दै सहिदले देखाएको परिवर्तनको उद्देश्यलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धिलाई जनताको जीवनसँग जोड्न सके मात्रै सहिदप्रतिको वास्तविक सम्मान हुने उहाँको भनाइ थियो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  २३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update