रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ चिउरेनी खेल मैदानमा आयोजित पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गत सोमबारबाट सुरु भएको भलिबल प्रतियोगिता आज सम्पन्न भएको हो । आज भएको फाइनल खेलमा रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर २ लाई ३-० को सोझो सेटमा हराउँदै रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ विजेता बनेको हो ।
विजेता बनेको बाँफिकोट गाउँपालिका वडा नम्बर २ ले नगद ८० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको खेल संयोजक विवेक मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो भएको थवाङले नगद ५० तथा तेस्रो भएको भूमे ४ काँडाले नगद ३० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाएका छन् । त्यस्तै सान्त्वना स्थानमा चित्त बुझाएको आयोजकले नगद १५ हजार रुपैयाँको साथमा प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यस्तै व्यक्तिगत विधातर्फ वेस्ट सेटरमा बाँफिकोट २ का प्रकाश खत्री, उत्कृष्ट खेलाडी बाँफिकोट २ कै मुक्ति पौडेल र उत्कृष्ट स्पाइकमा सिस्ने ६ का माधव नेपालीलाई सम्मान गरिएको थियो । प्रतियोगितामा रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पाका गरी १४ टिमले प्रतिस्पर्धा गरेका थिए । चैते दसैँको अवसरमा वडाका युवाहरू मिलेर खुला शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेका थिए ।




-1759842583.jpg)