रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० मा सम्पन्न चौथो स्वच्छ वडा कप–२०८३ को आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरिएको छ।
श्री गुप्ति दह खेलकुद विकास समितिको आयोजनामा गत कात्तिक १६ गतेदेखि २० गतेसम्म सञ्चालन भएको प्रतियोगिताको आयव्यय विवरण समितिका अध्यक्ष पवनकुमार साहले सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक विवरणअनुसार प्रतियोगिताबाट कुल ३ लाख ५१ हजार ९ सय ९३ रुपैयाँ आम्दानी भएको छ । जसमध्ये आर्थिक सहयोगबाट २ लाख ४१ हजार ९३ रुपैयाँ, खेलकुद प्रतियोगिताको दर्ता शुल्कबाट ६५ हजार ९ सय रुपैयाँ र वडा कार्यालयबाट सहयोग गर्ने निर्णय भएको ४५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, प्रतियोगिता सञ्चालनका क्रममा पुरस्कार वितरण, खेलकुद सामग्री खरिद, सांस्कृतिक कार्यक्रम, कलाकार व्यवस्थापन, मञ्च व्यवस्थापन, खाना तथा खाजा, यातायात, साउन्ड सिस्टमलगायत विभिन्न शीर्षकमा ३ लाख ९ हजार १ सय ७६ रुपैयाँ खर्च भएको अध्यक्ष शाहले बताउनुभयो ।
आम्दानी र खर्चको हिसाब गर्दा प्रतियोगिताबाट ४२ हजार ८ सय १७ रुपैयाँ बचत भएको छ। उक्त बचत रकमलाई खेलकुद विकास समितिको संस्थागत सम्पत्तिका रूपमा सदुपयोग गर्ने निर्णय गरिएको अध्यक्ष साहले जानकारी गराउनुभयो ।
उहाँका अनुसार बचत भएको रकमबाट आगामी दिनमा खेलकुद प्रतियोगितालगायत अन्य सामाजिक कार्यक्रम सञ्चालन गर्न सहज हुने गरी आवश्यक मञ्च अर्थात् टेन्ट निर्माण गरिनेछ ।
अध्यक्ष साहले प्रतियोगितालाई सफल बनाउन आर्थिक, भौतिक, नैतिक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाता, खेल प्रेमी, खेलाडी, स्थानीयवासी तथा देश–विदेशमा रहेका सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
त्यसै गरी प्रतियोगिता सञ्चालनका क्रममा आफ्नो अमूल्य समय, श्रम र सीप खर्चेर खटिने युवा, स्वयंसेवक तथा आयोजक टिमका सदस्यहरूप्रति विशेष आभार प्रकट गर्दै आगामी दिनमा अझ व्यवस्थित, पारदर्शी र उदाहरणीय कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
खेलकुदको विकास, युवाको एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद गतिविधि प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ।
आर्थिक विवरण
- जम्मा आम्दानी : रु. ३,५१,९९३
- जम्मा खर्च : रु. ३,०९,१७६
- बाँकी बचत : रु. ४२,८१७







