रुकुम पश्चिमका चार पालिकालाई करिब तीन लाख बराबरको खोज तथा उद्धार सामग्री हस्तान्तरण

विपद्का समयमा तत्काल खोज, उद्धार तथा प्रतिकार्यका कामलाई प्रभावकारी बनाउन रुकुम पश्चिमका चार स्थानीय तहका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई करिब तीन लाख रुपैयाँ बराबरका खोज तथा उद्धार सामग्री हस्तान्तरण गरिएको छ ।

आईपास नेपालको आर्थिक सहयोग तथा रुकुमेली सामाजिक विकास केन्द्र (RSDC) को समन्वय र सहजीकरणमा सञ्चालित ‘नेपालमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुधारका लागि उत्थानशील स्वास्थ्य प्रणाली परियोजना’ अन्तर्गत मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका विपद् व्यवस्थापन समितिहरूलाई उक्त सामग्री उपलब्ध गराइएको हो ।

विपद्का समयमा आवश्यक उपकरणको अभावमा खोज तथा उद्धार र प्रारम्भिक प्रतिकार्यमा कठिनाइ नहोस् भन्ने उद्देश्यले स्थानीय तहहरूको आवश्यकता र विपद् जोखिमको प्रकृतिअनुसार फरक–फरक सामग्री उपलब्ध गराइएको रूकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक मदन खड्काले जानकारी दिनुभयाे ।

उहाँका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा लाइफ ज्याकेट, उद्धार डोरी, फोल्डिङ स्ट्रेचर, रिचार्जेबल टर्च लाइट, गैँती, बेल्चा, साबेल, वाकीटकी, ह्यान्ड मेगाफोन, माइक, सर्च लाइट, बाल्टिन तथा मग सेट, कम्बल, त्रिपाल, प्लास्टिक पाइप, हँसिया, सुत्ने म्याट, बन्चरो, सुरक्षा पन्जा र सुरक्षा हेल्मेटलगायतका सामग्री रहेका छन् ।

स्थानीय तहअनुसार मुसिकोट नगरपालिकालाई ७८ हजार ७ रुपैयाँ, सानीभेरी गाउँपालिकालाई ९२ हजार ५ सय २५ रुपैयाँ, त्रिवेणी गाउँपालिकालाई ७४ हजार ८ सय १५ रुपैयाँ र चौरजहारी नगरपालिकालाई ८० हजार ४ सय रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको उहाँकाे भनाई छ । चार वटै स्थानीय तहमा हस्तान्तरण गरिएका सामग्रीको कुल मूल्य ३ लाख २५ हजार ७ सय ४७ रुपैयाँ रहेको छ ।

स्थानीय तहमा विपद् व्यवस्थापनको जिम्मेवारी रहे पनि आवश्यक उपकरण तथा सामग्रीको अभावमा तत्काल उद्धार र प्रतिकार्यमा चुनौती हुने गरेको छ । विशेष गरी बाढी, पहिरो, आगलागी तथा अन्य विपद्का घटनामा बाह्य उद्धार टोली पुग्न समय लाग्ने अवस्थामा स्थानीय स्तरमै उपलब्ध जनशक्ति र स्रोतसाधन परिचालन गर्न यस्ता सामग्रीले महत्त्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको कार्यकारी निर्देशक खड्काले बताउनुभयाे ।

यस पहलले स्थानीय विपद् व्यवस्थापन समितिहरूको तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्नुका साथै विपद्का समयमा समुदायको सुरक्षा, जोखिम न्यूनीकरण र स्वास्थ्य सेवाको निरन्तरतामा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update