Kakhara सबैको खबर सम्पूर्ण खबर
थलहकाे एक वर्षे यात्रा: जिम्मेवारीदेखि सम्बन्धसम्म, सिकाइदेखि सम्झनासम्म

एक वर्षअघि आजकै दिन, केही डर, धेरै जिज्ञासा र नयाँ कुरा सिक्ने उत्साह बोकेर जाजरकोटको थलहमा सहयात्रासँग परियोजना व्यवस्थापकका रूपमा नयाँ यात्राको सुरुवात गरेको थिएँ । मनमा अनेक प्रश्न थिए । नयाँ ठाउँ, नयाँ जिम्मेवारी, नयाँ परिवेश र नयाँ चुनौतीहरू….?

तर समयसँगै ती प्रश्नहरू उत्तरमा बदलिँदै गए ।

थलह-शान्त छेडा नदीको किनार, हरियाली पहाडहरूको काखमा रहेको, प्रकृतिको आफ्नै लयमा बाँचिरहेको त्यो सुन्दर ठाउँ—मेरो लागि केवल कार्यस्थल रहेन। यहाँका बाटाहरू, गाउँहरू, विद्यालयहरू, बालबालिकाका मुस्कानहरू, समुदायसँगका संवादहरू र दिनभरको दौडधुपले यो एक वर्षलाई एउटा विशेष यात्रामा परिणत गरिदियो।

आज फर्केर हेर्दा लाग्छ-यो एक वर्ष केवल जागिरको एक वर्ष रहेन। यो त सिकाइ, संघर्ष, जिम्मेवारी, नेतृत्व, सहकार्य, सम्बन्ध, उपलब्धि, असफलता, आत्ममूल्यांकन र अनगिन्ती सम्झनाहरूले भरिएको एउटा जीवन्त अध्याय बन्यो ।

सहयात्रामा ५० भन्दा बढी सहकर्मीहरूको ठुलो र विविध टोलीसँग काम गर्ने अवसर आफैँमा एउटा ठुलो सिकाइ रह्यो । परियोजना व्यवस्थापक हुनु भनेको केवल योजना बनाउनु, रिपोर्ट हेर्नु, बजेट व्यवस्थापन गर्नु वा गतिविधि कार्यान्वयन गराउनु मात्र होइन रहेछ । यो त मानिस बुझ्ने, टिमलाई सुन्ने, सही समयमा सही निर्णय गर्ने, समस्या पर्दा अगाडि उभिने र सफलताको श्रेय सम्पूर्ण टिमलाई दिने जिम्मेवारी रहेछ ।

हरेक सहकर्मीका आफ्नै क्षमता, अनुभव, सोच, चुनौती र काम गर्ने शैली छन् । ती सबैलाई एउटै उद्देश्यतर्फ जोडेर अघि बढाउनु नेतृत्वको वास्तविक परीक्षा रहेछ । कहिलेकाहीँ निर्णय कठिन भए, कहिलेकाहीँ अपेक्षाअनुसार परिणाम आएनन्, कहिलेकाहीँ समय र परिस्थितिले साथ दिएन । तर त्यही क्षणहरूले नेतृत्वलाई अझ परिपक्व बनाउँदै लगे ।

मैले एउटा कुरा अझ गहिरोसँग महसुस गरेँ-एक्लै अगाडि बढ्नु सफलता होइन; आफू सँगसँगै अरूलाई पनि अगाडि बढाउन सक्नु नै वास्तविक नेतृत्व हो । त्यसैले यो एक वर्ष मेरो व्यक्तिगत यात्रा मात्र होइन, सम्पूर्ण टिमको सामूहिक यात्रा हो ।

परियोजनाको कामले मलाई कार्यालयको सीमाभन्दा धेरै पर पुर्‍यायो । विद्यालय, वडा कार्यालय, समुदाय, बाल क्लब, अभिभावक, शिक्षक, स्थानीय नेतृत्व र विभिन्न सरोकारवालासँग प्रत्यक्ष रूपमा जोडिने अवसर मिल्यो । कहिलेकाहीँ दुर्गम बस्तीमा पुग्दा देखिएका बालबालिकाका आँखामा रहेको आशा, विद्यालयमा देखिएको उत्साह, समुदायका मानिसहरूको विश्वास र सानो सहयोगले पनि ल्याएको ठुलो परिवर्तनले कामप्रतिको जिम्मेवारी अझ बढाइदियो ।

बालबालिकाको एउटा मुस्कान, उनीहरूको एउटा प्रश्न, उनीहरूले खुलेर राखेको एउटा विचार वा सुरक्षित वातावरणप्रतिको एउटा सानो अपेक्षाले पनि हाम्रो कामको वास्तविक अर्थ सम्झाइरह्यो ।

यो यात्रा सधैँ सहज थिएन । भौगोलिक कठिनाइ, मौसम, समयको दबाब, स्रोत व्यवस्थापन, विभिन्न तहका सरोकारवालासँगको समन्वय, प्रशासनिक प्रक्रिया, रिपोर्टिङको जिम्मेवारी र एकै पटक धेरै कामलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाले धेरै पटक परीक्षा लियो ।

कहिलेकाहीँ थकान पनि भयो । कहिलेकाहीँ आफूले चाहेजस्तो काम गर्न नसक्दा निराशा पनि आयो। तर प्रत्येक चुनौतीले एउटा नयाँ पाठ सिकायो ।

आज ती कठिन दिनहरूलाई सम्झिँदा पनि एउटा छुट्टै सन्तुष्टि महसुस हुन्छ, किनकि तिनै चुनौतीहरूले मलाई अझ धैर्यवान्, जिम्मेवार र व्यावहारिक बनाएका छन् ।

एक वर्षमा हामीले केवल काम गरेका छैनौँ; हामीले सम्बन्ध बनाएका छौँ । सहकर्मीबिचको सहकार्य, एक अर्कालाई बुझ्ने प्रयास, कठिन समयमा दिएको साथ, सफलतामा सँगै खुसी हुने क्षण र असहमतिलाई पनि संवादमार्फत समाधान गर्ने अभ्यास-यी सबैले  लाई मेरो लागि सहयात्रा एउटा परियोजनाभन्दा माथि उठाएर एउटा परिवारजस्तो बनाइदिएको छ ।

कामको व्यस्तताबिच भएका सामान्य कुराकानीदेखि लिएर फिल्डका लामो यात्राहरू, बैठकका गम्भीर छलफलदेखि लिएर सँगै बाँडिएका हाँसोका क्षणहरू—यी सबै अब सम्झनाका सुन्दर पानाहरू बनेका छन् ।

सायद यही नै यात्राको सबैभन्दा ठुलो उपलब्धि हो- काम सकिन्छ, परियोजना सकिन्छ, पद र जिम्मेवारी परिवर्तन हुन्छन्; तर राम्रो सम्बन्ध र सुन्दर सम्झनाहरू लामो समयसम्म बाँकी रहन्छन् ।

एक वर्षअघि जुन उत्सुकता र केही डर बोकेर थलहमा प्रवेश गरेको थिएँ, आज त्यही ठाउँबाट फर्केर हेर्दा मनमा डरभन्दा धेरै आत्मविश्वास, अनुभव र अझ धेरै सिक्ने चाहना छ ।

समयले मलाई एउटा कुरा सिकाएको छ-यात्राको सुन्दरता गन्तव्यमा मात्र हुँदैन; बाटोमा भेटिएका मानिस, पार गरेका कठिनाइ, सिकेका पाठ र बाँडेका सम्झनाहरूमा पनि हुन्छ ।

यो यात्रामा ममाथि विश्वास, मार्गदर्शन र निरन्तर साथ दिनुहुने संस्थाका आदरणीय अध्यक्षज्यू तथा कार्यक्रम निर्देशकज्यू र दातृ निकायप्रति पनि प्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । तपाईँहरूले दिनुभएको विश्वासले जिम्मेवारीप्रतिको मेरो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । नेतृत्वबाट प्राप्त विश्वास र मार्गदर्शन कुनै पनि व्यक्तिका लागि ठुलो ऊर्जा र प्रेरणाको स्रोत हुन्छ ।

त्यसै गरी, सम्पूर्ण सहकर्मीहरूप्रति विशेष धन्यवाद । तपाईँहरूको साथ, सहयोग, माया, सम्मान, आलोचना, सुझाव र सहकार्यबिना यो एक वर्ष यस्तो बन्न सम्भव थिएन । हामीबिच भएका हरेक छलफल, हरेक समस्या समाधानका प्रयास र हरेक सानो–ठुलो उपलब्धिमा तपाईँहरूको योगदान जोडिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update