रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१०, घण्ठानामा बृहत् खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
प्रतियोगितामा दोस्रो हुने टिमले ५० हजार १५१ रुपैयाँ र तेस्रो हुने टिमले ३० हजार ३१ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। विजेता टिमलाई नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन देशभरका विभिन्न वडाका टिमले नाम दर्ता गराउन सक्नेछन्। टिम दर्ता शुल्क ७ हजार ५०० रुपैयाँ तोकिएको छ भने असोज २७ गतेसम्म दर्ता गरिसक्नुपर्नेछ। सहभागी खेलाडीले नागरिकताको प्रतिलिपि वा सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्थानीय क्षेत्रमा भलिबल खेलको विकास गर्ने, खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिने र युवालाई खेलकुदमा प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद गतिविधि बढाउनुका साथै विभिन्न ठाउँका खेलाडीबिच आपसी सम्बन्ध र भाइचारा बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले थप जानकारी तथा दर्ताका लागि ९८४८५३०६८९ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।





