रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१०, घण्ठानामा सञ्चालित बृहत् शुद्ध खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८३ सम्पन्न भएको छ । असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सानीभेरी गाउँपालिका–३ को टोली प्रथम भएको छ ।
प्रतियोगितामा बाँफिकोट गाउँपालिका-७ को टोली द्वितीय र सानीभेरी गाउँपालिका-५ को टोली तृतीय भएका छन्। प्रथम भएको सानीभेरी–३ ले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, द्वितीय भएको बाँफिकोट-७ ले ५० हजार १५१ रुपैयाँ र तृतीय भएको सानीभेरी-५ ले ३० हजार १३१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा विभिन्न स्थानीय तहका १७ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताभर खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए।
विधागत उत्कृष्टतर्फ वेस्ट सेटरमा बाँफिकोट-७ का विनोद गौतम, वेस्ट ब्लकरमा सोही टोलीका विनोद अधिकारी, वेस्ट डिफेन्डरमा सानीभेरी-३ का राजु विक र वेस्ट सर्भरमा सानीभेरी-५ का अनिल केसी पुरस्कृत भएका छन् ।
त्यसै गरी, वेस्ट प्लेयरमा सानीभेरी-३ का पहल गहतराज, वेस्ट भ्यालुएबल प्लेयरमा बाँफिकोट-७ का महेन्द्रकुमार खत्री तथा फेयर प्ले खेलाडीतर्फ सानीभेरी–३ का उमेश रोका पुरस्कृत भएका छन् । उनीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सफल बनाउन देश तथा विदेशबाट आर्थिक, भौतिक र नैतिक सहयोग प्राप्त भएको थियो । प्रतियोगिताको व्यवस्थापन तथा खेल सञ्चालनमा सहयोग गर्ने सहयोगी दाता, स्वयंसेवक, खेल प्रेमी, सहभागी टोली र खेलाडीप्रति आयोजकले आभार व्यक्त गरेको छ ।
प्रतियोगितामा राष्ट्रिय रेफ्री मोहन चन्द र रेफ्री अमर डाँगीसहितको टोलीले खेल सञ्चालन गर्नुभएको थियो । समापन समारोहमा सानीभेरी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, प्रहरी चौकी इन्चार्जलगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।
समापन समारोहमा राप्ती ज्ञानोदय माध्यमिक विद्यालय, सिम्लीका विद्यार्थीहरूले प्रस्तुत गरेको मयूर नाचले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । प्रतियोगिताको सहजीकरण बमकाजी सिर्पाली र धिरेन्द्र विक्रम समले गरेका थिए ।
स्थानीय स्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा आपसी सद्भाव र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक ले जनाएको छ ।






