
आसन्न निर्वाचनको सुरक्षा अवस्थाबारे रुकुम पश्चिममा अनुगमन थालिएको छ । सम्बन्धित क्षेत्रमै पुगेर सुरक्षा लगायतको अवस्थामा अनुगमन गरिएको छ । शनिबार प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे नेतृत्वको एक जिल्ला स्तरीय टोलीले केही प्रहरी चौकी र त्यस क्षेत्रको अन्य सुरक्षाको अवस्थाबारे जानकारी लिएको हो । प्रहरी चौकी नुवाकोट, सर्केना र इलाका प्रहरी कार्यालय चौरजहारीको स्थलगत अनुमन गरिएको हो ।
प्रहरी चौकीकै समग्र अवस्था कस्तो छ, मतदान स्थलसम्मको दुरी, सडक पुगे नपुगेको अवस्था लगायतका बारेमा जानकारी लिएको जिल्ला सुरक्षा समितिका संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । ‘प्रहरी चौकी, त्यसमा रहेको जनशक्ति, मतदान स्थलसम्मको सडक र त्यसको सुरक्षा के कस्तो छ भन्ने बारे स्थलगत अनुगमन गरियो,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो, ‘अब सबैतिरको समग्र अवस्था यसरी नै अनुगमन गर्ने योजना छ ।’
अन्य दिन अनुगमनको अवस्था नभएपनि विदाको दिन वा समय मिलाएर भएपनि निर्वाचन लक्षित यस्ता कार्यक्रम निरन्तर चल्ने उहाँले बताउनुभयो । निर्वाचनको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरेर आवश्यक निर्णय, अनुगमन तथा अरु काम भइरहेको र हुँदै जाने पनि प्रजिअ घिमिरेले बताउनुभयो ।