
नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटि रुकुम पश्चिमको एक विभाग प्रमुखले एमाले छाडेका छन् । फागुन १० र ११ गते बसेको जिल्ला किमिटि र सचिवालय बैठकबाट शिक्षा तथा मानव विकास विभाग प्रमुख तोकिएका अमृत सुनारले एमाले छाडेको घोषणा गर्नुभएको हो ।
एक विज्ञप्ती जारी गर्दै सुनारले आफू नेकपा एमालेमा नरहेको घोषणा गर्नुभएको छ । एमालेको चौरजहारी नगर कमिटि उपाध्यक्ष समेत रहेका सुनारले आफू अब नेकपा माओवादी केन्द्रमा समाहित भएको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
आफू माओवादी पृष्ठभूमीको भएको र पार्टी एकतापछि अलग बनेको एमालेमा रहेको भएपनि अब भने माओवादी केन्द्रमा रहेको उहाँले बताउनुभयो । विचारको बहस नहुने, संकुचित भएर बस्नुपर्ने अवस्था रहेकाले आफू माओवादी केन्द्रमा फर्किएको भनाई उहाँको छ ।
राजनीति र विचारका हिसावले माओवादी भन्दा फरक नभएको भन्दै उतिबेला पार्टी एउटै बनाउनुपर्छ भन्ने मान्यताले मात्रै एमालेमै रहेको सुनारले बताउनुभयो । लामो समय छलफल, बहस र सहकार्य गर्ने क्रममा एमाले भित्र बहस, छलफल नभइ नेतामुखी प्रवृति रहेकाले आफू माओवादी केन्द्रमा फर्किएको सुनारले बताउनुभयो ।
२०४६ सालपछि माओवादी विचार राखेर २०४९ सालमा आएर पार्टी सदस्यता लिई पार्टीका विभिन्न मोर्चा संगठनमा त्याग गरेकाले पनि अबको बाँकी समय यही पार्टी र जनतामा लगाउने निष्कर्श सहित एमाले पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको सुनारको भनाई छ ।