Kakhara सबैको खबर सम्पूर्ण खबर
निर्वाचन सामग्री मतदान केन्द्रमा पठाउने काम अन्तिम चरणमा 

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि रुकुम पश्चिमका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउने काम अन्तिम चरणमा पुगेको छ । ३ दिनमा जिल्लाका ६ वटै स्थानीय तहमा निर्वाचन सामग्री पठाउने काम अन्तिम चरणमा पुगेको हो । 


निर्वाचन कार्यालय रुकुम पश्चिमका निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार जिल्लाका १ सय ३९ मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई मतदाता नामावली, स्वस्तिक छाप, मतपेटिका लगायत निर्वाचनमा आवश्यक पर्ने सामग्री  वितरण गरिएको छ  । निर्वाचनमा आवश्यक पर्ने  सामग्री मतदान अधिकृतलाई जिम्मा लगाई सकिएकाले सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर सम्बन्धित मतदान केन्द्रमा पु¥याउन अनुरोध गरिएको निर्वाचन अधिकारी मल्लले कखरालाई जानकारी दिनुभयो ।


निर्वाचन सामग्री अन्तर्गतकै मतपत्र पनि मंगलबार देखि सम्बन्धित  मतदान  केन्द्रमा वितरण भइरहेको मुख्य निर्वाचन अधिकृतको  कार्यालयले जनाएको छ । चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकामा केहि मात्रामा मतपत्र वितरण गरिए पनि  आवश्यक पर्ने सम्पूर्ण मतपत्र वितरणको काम भइरहेको सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिनुभयो ।

त्रिवेणी गाउँपालिलका र मुसीकोट नगरपालिकामा भने कुनै मतपत्र वितरण गरिएको  छैन् । बिहीबार साँझ सम्म भने जिल्लाका १ सय ३९ वटै मतदान केन्द्रमा प्रत्यक्ष तर्फ र समानुपातिक तर्फका मतपत्र वितरण गरी सम्बन्धित मतदान केन्द्रमा पुगिसक्ने  सहायक निर्वाचन अधिकृत बोहराले जानकारी दिनुभयो । जिल्लामा १ लाख ४ हजार २ सय  ८० मतदाता रहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update