नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले मतदाताहरुलाई धन्यवाद दिएको छ । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार तथा आफ्नो पार्टीका नेताहरु जनार्दन शर्मा, महेन्द्र केसी र राजकुमार शर्मालाई अत्यधिक मतका साथ विजयी गराएको भन्दै माओवादी केन्द्रले जिल्लास्थित सबै मतदाताहरुलाई धन्यवाद दिएको हो ।
आज धन्यवाद तथा बधाई विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रले निर्वाचन अभियानमा अहोरात्र खटिने पार्टीका समस्त नेता, कार्यकर्ता, सहयोगी शुभेच्छुक तथा गठबन्धनमा आवद्ध सहयात्री राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीका सम्पूर्ण नेता, कार्यकर्ताहरुलाई पनि धन्यवाद दिएको छ ।
साथै विजय हाँसिल गरी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदज्यूहरुलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना समेत पार्टीले प्रकट गरेको छ । जिल्ला संयोजक गोविन्द रोकाले जारी गरेको विज्ञप्ती मार्फत मुख्य निर्वाचन अधिकृत लगायतका सम्पूर्ण कर्मचारीहरु, प्रमुख जिल्ला अधिकारी सहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सम्पूर्ण सुरक्षाकर्मी, संचारकर्मी र निर्वाचन पर्यवेक्षकहरुलाई समेत धन्यवाद दिइएको छ ।
यसैविच माओवादी केन्द्र रुकुम पश्चिमले देशभरको निर्वाचन नतिजा अनुसार यस पटक पनि स्थिर सरकार बन्न नसक्ने अवस्थाले आम नागरिकलाई चिन्तित बनाएको उल्लेख गरेको छ । जति पटक चुनाव गरेपनि देशमा स्थिरता कायम हुन नसक्ने यस प्रकारको शासकीय स्वरुपमा परिवर्तन अत्यावश्यक देखिएको उसको भनाई छ ।
माओवादीले संविधान निर्माणको बेलादेखि नै निरन्तर रुपमा अघि सार्दै आएको प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य अझ बढी पुष्टि भएको समेत विज्ञप्तीमा जनाइएको छ । अबको नयाँ संसदले संविधान संशोधन गरी उपरोक्त बमोजिमको शासकीय स्वरुप कायम गर्नुपर्नेमा पनि माओवादीले जोड दिएको छ ।





-1759842583.jpg)