रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा फागुन १ गते संचालन हुन लागेको पाँचौं राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथनको तयारी पुरा भएको छ । ‘जनयुद्ध’ दिवसको अवसरमा सानीभेरी गाउँपालिकाले हरेक वर्ष फागुन १ गते मौराखारा गुरिल्ला म्याराथन संचालन गर्दै आएको छ । प्रतियोगिताको ५ औं संस्करणको तयारी पुरा भएको आज गाउँपालिकाले पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको हो ।
रुट मार्किङ सहित आवश्यक संरचना निर्माण, प्रचार प्रसार, अतिथि आमन्त्रण लगायतका तयारी पुरा भएको गाउँपालिका अध्यक्ष विर्खवहादुर विष्टले जानकारी दिनुभयो । ‘विभिन्न समितिहरु निर्माण गरेर म्याराथनको तयारी लगभग पुरा भएको छ उहाँले भन्नुभयो–ठूला तयारीका कामहरु पुरा हुँदा सानातिना तयारीका कामहरु तिव्र गतिमा भइरहेका छन् ।’
उहाँका अनुसार म्याराथनको तयारीका लागि गाउँपालिकाले मुल समारोह समिति, मार्ग तथा लजेष्टिक व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति, अतिथि सत्कार तथा व्यवस्थापन समिति, सूचना सञ्चार तथा प्रचार प्रसार व्यवस्थापन समिति, सुरक्षा व्यवस्थापन समिति, साँस्कृतिक तथा झाँकी प्रदर्शन व्यवस्थापन समिति, सरसफाई तथा स्वास्थ्य व्यवस्थापन समिति, जनपरिचालन समिति मार्फत काम भइरहेको छ ।
यो वर्ष देखि प्रतियोगिता संचालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत सहयोग गर्ने भएको छ । गाउँपालिका अध्यक्ष विष्टले राखपले आफ्नो वार्षिक क्यालेन्डरमा मौराखारा गुरिल्ला म्याराथनलाई पनि समावेश गरेको र प्रतियोगिता संचालनका लागि १५ लाख सहयोग गर्न लागेको बताउनुभयो । त्यत्तै प्रतियोगिताका लागि गाउँपालिकाले ८ लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
यो संस्करण देखि म्याराथनलाई राष्ट्रिय स्तरको बनाइएको उहाँको भनाई छ । म्याराथन महिला पुरुष दुवै तर्फ संचालन हुँदै छ । पुरुष म्याराथनको दुरि ४८ किलोमिटर रहेको भने महिला म्याराथनको दुरि ३४ किलोमिटर तोकिएको छ । पुरुष तर्फको विजेताले १ लाख पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ । द्धितियले ७५ हजार र तृतियले ४५ हजार पुरस्कार पाउँदा चौंथो हुनेले १५ हजार तथा १० औं स्थानसम्म हाँसिल गर्ने धावकलाई ३÷३ हजार पुरस्कार दिने गाउँपालिकाको भनाई छ ।
महिला तर्फको विजेताले भने ६० हजार, द्धितियले ४० हजार, तृतियले २० हजार, चौंथोले १० हजार र १० औं स्थान सम्मकालाई ३ हजार पुरस्कार दिइने म्याराथन मुल समारोह समितिले जनाएको छ । प्रतियोगिताको व्यवस्थापकका रुपमा युवा, खेलकुद विकास समिति सानीभेरी रहेको छ । यो वर्ष देखि प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि दक्ष अफिसियल टिम ल्याउन लागिएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी गराउनुभयो ।
सानीभेरी गाउँपालिकाले ‘जनयुद्ध’ दिवसको अवसर पारी आर्थिक वर्ष २०७४÷०७५ देखि नै हरेक वर्षको फागुन १ गते मौराखारा गुरिल्ला म्याराथन आयोजना गर्दै आएको छ । तत्कालिन नेकपा माओवादीले संचालन गरेको ‘जनयुद्ध’का क्रममा माओवादी सेनाहरुले तालिम गरेको ऐतिहासिक स्थान मौराखाराका नामबाट यो प्रतियोगिताको नामाकरण गरिएको हो ।
धावकहरुलाई मौराखारासम्मै दौडाउने गरिएको छ । तत्कालिन माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा यो दौड संचालन गरिने भएकोले यसको नाम गुरिल्ला म्याराथन राखिएको गाउँकार्यपालिका प्रवक्ता पहलसिंह घर्तीको भनाई छ ।









-1759842583.jpg)