Kakhara सबैको खबर सम्पूर्ण खबर
जनतासंग माओवादी विशेष रुपान्तरण अभियानः रूकुम पश्चिममा तयारी पुरा 

भोलीबाट सुरु हुन लागेको नेकपा माओवादी केन्द्रको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको तयारी रुकुम पश्चिममा पुरा भएको छ । जिल्लाका ६ स्थानीय तहका ७३ वडामा अभियानका लागि सबै तयारी पुरा भएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । तयारी बैठक देखि नेताहरुको कार्यविभाजन, अभियान संचालनको खाका तयार सम्मका सबै तयारी सकिएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।

भोली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरमा एकै पटक यो अभियानको उद्घाटन गर्दै हुनुहुन्छ । जुन अभियान जिल्लामा संचालन गर्न तम्तयार भएर बसेको संयोजक रोकाले बताउनुभयो । उहाँका अनुसार जिल्ला इन्चार्ज, पालिका इन्चार्ज, वडा इन्चार्ज देखि टोलसम्मको जिम्मेवारी लिएर नेताहरु कार्यक्षेत्रमा खटिसकेका छन् । माओवादीले सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला देखि अन्य तहको इन्चार्जको जिम्मेवारी तोकेर खटाएको छ । त्यस्तै अन्य सबै नेताहरुलाई पनि विभिन्न जिम्मेवारी तोकेर गाउँ पठाइएको माओवादी केन्द्रको भनाई छ । सबै नेताहरुलाई आफु कार्यरत रहेको भन्दा फरक क्षेत्रमा खटाइएको छ ।

यो अभियानका लागि रुकुम पश्चिममा जाजरकोटका गगन खड्का जीवनलाई पठाइएको छ । त्यस्तै पालिका इन्चार्जका रुपमा मुसिकोटमा जीवन बुढा, चौरजहारी नगरपालिकामा टीकाराम ओली, आठबीसकोट नगरपालिकामा लुम्बिनी गौतम, सानीभेरी गाउँपालिकामा मनबहादुर रावत, बाँफिकोट गाउँपालिकामा नेपबहादुर कँवर र त्रिवेणी गाउँपालिकामा रत्नबहादुर ओली खटिनुभएको छ । यो अभियान अन्तर्गत संगठन विस्तार, सदस्यता वितरण तथा नविकरण, छलफल, बैठक, जनभेटघाट लगायतका गतिविधि संचालन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ । यो अभियानबाट २५ लाख मतदातासंग प्रत्यक्ष संवाद गर्ने र ८ लाख सदस्य बनाउने मुख्य उदे्श्य राखिएको छ । भोलीबाट सुरु भएको अभियान तीन महिनासम्म संचालन हुने छ ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update