Kakhara सबैको खबर सम्पूर्ण खबर
मुख्यमन्त्री कप क्रिकेटमा रुकुम पश्चिमको विजयी सुरुवात, जाजरकोट २० रनले पराजित

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी मुख्यमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा रुकुम पश्चिमले विजयी सुरुवात गरेको छ । वीरेन्द्रनगरको कालिन्चोक क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा रुकुम पश्चिमले जाजरकोटलाई पराजित गर्दै जीतको सुरुवात गरेको हो । भने महत्त्वपूर्ण २ अङ्क जोडेको छ । वर्षाले प्रभावित बनाएपछि खेल ५ ओभरमा झारेर खेलाइएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको रुकुम पश्चिमले अरविन्द घर्तीको आक्रामक ब्याटिङमा निर्धारित ५ ओभरमा २ विकेटकाे क्षतिमा ६९ रन बनाएको थियो । अरविन्दले ४८ रनकाे याेगदान गरे भने अर्जुन घर्ती १३ रन बनाएर रन आउट भएका थिए । विजय पुन १ रन बनाएर इनिङकाे अन्तिम बलमा आउट भएका थिए । जाजरकोटका लागि निवास हमालले १ विकेट लिए ।

जबाफी ब्याटिङमा उत्रिएको जाजरकोट निर्धारित ५ ओभरमा ३ विकेटको क्षतिमा ४९ रनमा समेटियो । जाजरकोटका लागि बिष्णु शाहीले २४, साैगात कार्कीले १८ र सुमन गुरुङले १ रनकाे योगदान गरे । बलिङ तर्फ रुकुम पश्चिमका रुकुम पश्चिमका कप्तान ताराप्रकाश गिरी विवशले १ विकेट लिए ।

जाजरकोटको यो दोस्रो खेल हो । उसले हिजो भएको पहिलो खेलमा कालिकोटलाई पराजित गर्दै २ अङ्क जोडेको थियो । रुकुम पश्चिमको पहिलो खेल हिजो दैलेखसँग रहेकामा वर्षाका कारण स्थगित भएपछि अङ्क बाँडेको थियो । समूह ए मा रुकुम पश्चिम ३ अङ्कका साथ शीर्ष स्थानमा छ । जाजरकोट २ अङ्कका साथ दोस्रो, दैलेख १ अङ्कका तेस्रो र कालिकोट अङ्क विहीन चौथो स्थानमा रहेको छ ।

आजै हुने दोस्रो खेलमा कालिकोट र दैलेख खेल्ने छ । प्रतियोगिताको समूह ए मा रुकुम पश्चिम, दैलेख, कालिकोट र जाजरकोट रहेका छन् । समूह बि मा भने सुर्खेत, सल्यान र जुम्ला रहेका छन् । दुवै समूहबाट उत्कृष्ट दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा प्रदेशका ७ वटा जिल्लाको सहभागिता रहेको छ ।

१४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख १० हजार पुरस्कार पाउँदा उप विजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउने छ । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update