Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम कर्णाली मुख्यमन्त्री कप टी-२० क्रिकेटको फाइनलमा 
टीम रुकुम ।

रुकुम पश्चिम कर्णाली मुख्यमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कालिन्चोक क्रिकेट मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा सल्यानलाई २ विकेटले पराजित गर्दै रुकुम पश्चिम फाइनल प्रवेश गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको सल्यानले निर्धारित १९ ओभरको खेलमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो ।

सल्यानका लागि सचिन विकले सर्वाधिक ३२ र विक्रम रोकाले २३ बनाए । आशिष सिंहले ११ र कप्तान दिवान पुनले ९ रनको योगदान गरे । बलिङ तर्फ रुकुम पश्चिमका अर्जुन घर्तीले २ तथा राजेन्द्र शाही र प्रतीक गिरीले १/१ विकेट लिए । 

जबाफी ब्याटिङमा उत्रिएको रुकुम पश्चिमले ओपनर अरविन्द घर्तीको आक्रामक ब्याटिङमा १६.३ ओभरमा ८ विकेट गुमाएर लक्ष पुरा गर्‍यो । अरविन्दले २७ बलमा अर्धशतक पुरा गरेका हुन् । उनी २८ बलमा ५३ रन बनाएर रन आउटको सिकार भएका थिए । अरविन्द यस प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेका छन् । अरविन्दको विकेट पछि भने रुकुम पश्चिमको ब्याटिङ धरमराएको थियो ।

तर अन्तिममा प्रतीक गिरीको चौकासँगै रुकुम पश्चिमले फाइनल प्रवेश गरेको हो । रुकुम पश्चिमका लागि अर्का ओपनर कुनाल रावलले १७, प्रतीक गिरीले १२ र शङ्कर परियारले १० रनको महत्त्वपूर्ण इनिङ खेले । सल्यानका लागि विक्रम रोकाले ३, सुरज बुढाथोकीले २ तथा दिवान पुन र सन्दीप गन्दर्भले १/१ विकेट लिए । यो खेलको प्लेयर अफ द म्याच रुकुम पश्चिमका अरविन्द घर्ती घोषित भए । उनी लगातार दुई खेलमा प्लेयर अफ द म्याच बनेका हुन् । यसअघि उनी जाजरकाेट विरुद्ध प्लेयर अफ द म्याच बनेका थिए । उक्त खेलमा उनले नटआउट ४८ रनकाे इनिङ खेलेकाे थिए । 

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार नै सुर्खेत र कालिकोट भिड्ने छन् । उक्त खेलको विजेताले भोली फाइनलमा उपाधिका लागि रुकुम पश्चिमसँग प्रतिस्पर्धा गर्ने छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा प्रदेशका ७ वटा जिल्लाले भाग लिएका थिए । सहभागी जिल्लालाई दुई समूहमा विभाजन गरिएको थियो ।

समूह ए मा रुकुम पश्चिम, जाजरकोट, कालिकोट र दैलेख रहेका थिए । यो समूहबाट जाजरकोटको र दैलेख समूह चरनबाट बाहिरिएका थिए । समूह बि मा सुर्खेत, जुम्ला र कालिकोट रहेका थिए । यो ग्रुपबाट जुम्ला समूह चरणबाटै घर फर्किएको थियो । कर्णाली प्रदेशमै आयोजना हुन लागेको १० औँ राष्ट्रिय खेलकुदको तयारी स्वरूप प्रतियोगिता आयोजना गरिएको आयोजक कर्णाली प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।

यस प्रतियोगिताको विजेताले १ लाख १ हजार नगद र ट्रफि पुरस्कार पाउँदा उप विजेताले ५१ हजार पुरस्कार पाउने छ । त्यस्तै विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने आयोजकले जनाएको छ ।   

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update