Kakhara सबैको खबर सम्पूर्ण खबर
मुख्यमन्त्री कप क्रिकेटको उपाधि सुर्खेतलाई, रुकुम पश्चिम १४ रनले पराजित 
च्याम्पियन टीम सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित मुख्यमन्त्री कप टी–२० क्रिकेटको उपाधि सुर्खेतले जितेको छ । आज भएको फाइनलमा रुकुम पश्चिमलाई १४ रनले पराजित गर्दै सुर्खेतले उपाधि हात पारेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सुर्खेतले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । 

उसका लागि कप्तान निश्चल रावलले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै रविन्द्रजंग शाहीले २९ र रोशन शाहीले २२ रन बनाएका थिए । रुकुम पश्चिमका लागि अर्जुन घर्ती र प्रतीक गिरीले २/२ तथा अरविन्द घर्ती, राजेन्द्र शाही र कप्तान ताराप्रकाश गिरी ‘विवश’ले समान १/१ विकेट लिए । जबाफी ब्याटिङमा उत्रिएको रुकुम पश्चिम निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो । 

रुकुम पश्चिमका लागि अर्जुन घर्तीले सर्वाधिक २८ रन बनाउँदा प्रतीक गिरीले २२, कुनाल रावलले २१ र विजय पुनले १२ रन बनाए । रुकुम पश्चिमलाई रोक्न सुर्खेतका रविन्द्रजंग शाहीले २ तथा विपिन प्रकाश शर्मा, आदित्यविक्रम शाह, कृष्ण ओली, प्रयास गुरुङ र विपिन रावलले समान १/१ विकेट लिए । यस प्रतियोगितामा सुर्खेतका रविन्द्रजंग शाही प्लेयर अफ त म्याच बने ।

विजेता सुर्खेतले ट्रफि सहित १ लाख १ हजार नगद पुरस्कार हात पारेको छ । उप विजेता रुकुम पश्चिमले भने ट्रफि र नगद ५१ हजारमा चित्त बुझाएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा प्रदेशका ७ वटा जिल्लाले भाग लिएका थिए । 

448924701_1053374999547943_3310506755524315695_n-1719578673.jpg
उप विजेता पुरस्कार ग्रहण गर्दै रुकुम पश्चिम ।


सहभागी जिल्लालाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ए मा रुकुम पश्चिम, जाजरकोट, कालिकोट र दैलेख रहेका थिए । यो समूहबाट जाजरकोटको र दैलेख समूह चरनबाट बाहिरिएका थिए । समूह बि मा सुर्खेत, जुम्ला र कालिकोट रहेका थिए । यो ग्रुपबाट जुम्ला समूह चरणबाटै घर फर्किएको थियो । कर्णाली प्रदेशमै आयोजना हुन लागेको १० औँ राष्ट्रिय खेलकुदको तयारी स्वरूप प्रतियोगिता आयोजना गरिएको आयोजक कर्णाली प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update