Kakhara सबैको खबर सम्पूर्ण खबर
जनक–सुदन स्मृति कप तोकिएकै मिति असोज १ गतेबाट हुने 
फाइल फाेटाे ।

जनक–सुदन स्मृति कप रनिङ शिल्डको तेस्रो संस्करण तोकिएकै मिति असोज १ गतेबाट हुने भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ बराहाटाकुरामा असोज १ गतेदेखि ५ गतेसम्म गर्ने गरी जनक–सुदन स्मृति कप पुरुष भलिबल प्रतियोगिताको मिति यसअघि नै तोकिएको थियो । 

देशमा चलेको जेन–जी आन्दोलनका कारण बनेको असहज परिस्थितिले प्रतियोगिता हुने वा नहुने अन्यौलता थियो । तर आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गर्ने बताएको छ । 

देशको अवस्था सामान्य तर्फ गइरहेको र सुरक्षा चुनौती खासै नभएकोले सबैसँग छलफल गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । प्रतियोगिता पुरुष तर्फ शुद्ध वडा स्तरीय रहेको उहाँले बताउनुभयो । 

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १५ हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई ७५ हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई ५१ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँ सहित स्थान प्राप्त गर्ने सबै टिमलाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । त्यस्तै विजेता टिमले शिल्ड प्राप्त गर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ वेस्ट प्लेयरलाई ५ हजार, वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो, वेस्ट ब्लकर, बेष्ट सेटर, उदयमान खेलाडी, र बेष्ट कोचले सम्मान २÷२ हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र पाउने उहाँले जानकारी दिनुभयो । 

दर्ता शुल्क १० हजार तोकिएको छ । सुरुको वर्ष र गत वर्ष महिला पुरुष भलिबल आयोजना गरेको प्रशिक्षण केन्द्रले यस पटक भने पुरुष भलिबल प्रतियोगिता मात्र आयोजना गरेको छ । तीन वर्ष अघिदेखि जनक–सुदनको स्मृतिमा रुकुम भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । 

भलिबल खेलाडी द्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले २०८० सालदेखि जनक–सुदन स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको आयोजना गरिरहेको छ । दुवै जनाको २०७४ सालमा गाडी दुर्घटनामा मृत्यु भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update