Kakhara सबैको खबर सम्पूर्ण खबर
भोलीबाट सुरु हुने ‘जनक–सुदन स्मृति कप’को तयारी पुरा, २० टिमले प्रतिस्पर्धा गर्ने

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बुधवार भोलीबाट सुरु हुने जनक–सुदन स्मृति कप रनिङ शिल्डको तेस्रो संस्करणको तयारी पुरा भएको छ । आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले प्रतियोगिताको तयारी पुरा भएको र तोकिएकै समय असोज १ गते बुधवारबाट प्रतियोगिता सुरु हुने जनाएको छ । 

प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा र जाजरकोटका गरी २० टिले प्रतिस्पर्धा गर्ने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता भोली सुरु हुने भए पनि उद्घाटन भने पर्सी बिहीबार हुने छ । 

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको शोकमा भोली सरकारले शोक बिदा दिएको छ । शोक बिदामा औपचारिक कार्यक्रम गर्न नमिल्ने भएकोले उद्घाटन पर्सी हुने बुढाले बताउनुभयो । भोलीबाट सुरु हुने प्रतियोगिता असोज ५ गतेसम्म चल्ने छ । प्रतियोगिता शुद्ध वडा स्तरीय रहेको छ । 

प्रतियोगिताकाे विजेताले १ लाख १५ हजार, उपविजेताले ७५ हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई ५१ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँ सहित स्थान प्राप्त गर्ने सबै टिमलाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । त्यस्तै विजेता टिमले शिल्ड प्राप्त गर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ वेस्ट प्लेयरलाई ५ हजार, वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो, वेस्ट ब्लकर, बेष्ट सेटर, उदयमान खेलाडी, र बेष्ट कोचले सम्मान २÷२ हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र पाउने उहाँले जानकारी दिनुभयो । 

सुरुको वर्ष र गत वर्ष महिला पुरुष भलिबल आयोजना गरेको प्रशिक्षण केन्द्रले यस पटक भने पुरुष भलिबल प्रतियोगिता मात्र आयोजना गरेको छ । तीन वर्ष अघिदेखि जनक–सुदनको स्मृतिमा रुकुम भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । 

भलिबल खेलाडी द्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले २०८० सालदेखि जनक–सुदन स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको आयोजना गरिरहेको छ । दुवै जनाको २०७४ सालमा गाडी दुर्घटनामा मृत्यु भएको थियो ।।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update