
रुकुम पश्चिमको मुसिकोट खलङ्गामा जारी तेस्रो जनक–सुदन स्मृति कप रनिङ शिल्ड खुला वडा स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ । उपाधिका लागि रुकुम भलिबल मुसिकोट ७ साँख र सिस्ने गाउँपालिका ६ रुकुम पूर्व भिड्ने छन् । खलङ्गाको बराहटाकुरा टुँडिखेलमा बिहान १० बजेपछि फाइनल खेल हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।
हिजो भएका सेमिफाइनलमा विजयी हुँदै रुकुम भलिबल र सिस्ने ६ फाइनल पुगेका हुन् । निकै प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ लाई पराजित गर्दै रुकुम पश्चिम भलिबल टिम फाइनल प्रवेश गरेको हो ।
पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको रुकुम भलिबल टिमले त्यसपछिका दुवै सेट गुमाएको थियो । सानीभेरीले दोस्रो सेट २५–१८ र तेस्रो सेट २१–२५ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका चौथो र पाँचौँ सेटमा भने रुकुम भलिबल टिमले उत्कृष्ट पुनरागमन जीत निकालेको थियो ।
चौथो सेट २५–२१ ले जितेको रुकुम भलिबल टिमले पाँचौँ सेट भने एकपक्षीय रूपमा १५–५ ले आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनलमा भने सिस्ने गाउँपालिका ६ ले बाँफिकोट गाउँपालिका २ विरुद्ध ३–० को सहज जित निकाल्यो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२२ ले कब्जा गरेको सिस्ने ६ ले तेस्रो सेट २५–१६ ले जित्न सफल भयो ।
फाइनल अघि तेस्रो स्थानका लागि सानीभेरी ५ र बाँफिकोट गाउँपालिका २ बिच प्रतिस्पर्धा हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । हिजो सकिने भने खेल प्रतिकुल मौसमका कारण १ दिन लम्बिएको आयोजकको भनाई छ ।
प्रतियोगिताको विजेताले १ लाख १५ हजार, उपविजेताले ७५ हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई ५१ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँ सहित स्थान प्राप्त गर्ने सबै टिमलाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । त्यस्तै विजेता टिमले शिल्ड प्राप्त गर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ वेस्ट प्लेयरलाई ५ हजार, वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो, वेस्ट ब्लकर, बेष्ट सेटर, उदयमान खेलाडी, र बेष्ट कोचले सम्मान २÷२ हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र पाउने उहाँले जानकारी दिनुभयो ।
सुरुको वर्ष र गत वर्ष महिला पुरुष भलिबल आयोजना गरेको प्रशिक्षण केन्द्रले यस पटक भने पुरुष भलिबल प्रतियोगिता मात्र आयोजना गरेको छ । तीन वर्ष अघिदेखि जनक–सुदनको स्मृतिमा रुकुम भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
भलिबल खेलाडी द्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले २०८० सालदेखि जनक–सुदन स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको आयोजना गरिरहेको छ । दुवै जनाको २०७४ सालमा गाडी दुर्घटनामा मृत्यु भएको थियो ।