
रुकुम पश्चिमको मुसिकोट खलङ्गामा आयोजित तेस्रो जनक–सुदन स्मृति कप रनिङ शिल्ड खुला वडा स्तरीय भलिबल प्रतियोगिताको विजेता सिस्ने गाउँपालिका ६ रुकुम पूर्वका माधव परियार उत्कृष्ट खेलाडी घोषित भएका छन् । आफ्नो टिमलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका माधव उत्कृष्ट खेलाडी बनेका हुन् । उनले ट्रफि र नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
उप विजेता रुकुम भलिबलका भीम पाण्डे उत्कृष्ट स्पाइकर, रुकुम भलिबल टिमकै प्रेम विष्ट उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो सिस्ने ६ का चन्द्र बिसी, सिस्ने ६ कै हरि थापा उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर सानीभेरी ५ का कविकमल वस्नेत र बाँफिकोट १० का सुजन चन्द उदीयमान खेलाडी बनेका छन् । उनीहरूले ट्रफि र समान २ हजार नगद प्राप्त गरेका छन् ।
असोज १ गतेबाट सुरु भएको प्रतियोगिताको उपाधि रुकुम भलिबल टिम मुसिकोट ७ लाई पराजित गर्दै सिस्ने ६ ले जितेको हो । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको प्रतियोगितामा रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका २४ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।