Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्योलमा

रुकुम पश्चिममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्योलमा रुकुम पश्चिम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्योलमा परेको छ । बजेट अभावमा जिल्ला स्तरीय शिल्ड कहिले र कसरी सञ्चालन गर्ने भन्ने अन्यौलता भएको हो ।

शिल्ड मुसिकोट नगरपालिकामा सञ्चालन गर्ने गत वर्ष नै निर्णय भएको थियो । मुसिकोट नगरपालिकाले गत वर्षकै जिल्ला स्तरीय शिल्ड सञ्चालन गर्ने जिम्मा पाएकामा उक्त वर्ष शिल्ड सञ्चालन हुन सकेको थिएन ।

सोही निर्णय अनुसार नगरपालिकाले यो वर्षको शिल्ड सञ्चालन गर्ने तयारी गरिरहेको छ । जसका लागि नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ । नगर प्रमुख महेन्द्र केसीले गत वर्ष विभिन्न कारणले सञ्चालन हुन नसकेकामा यो वर्ष जिल्ला स्तरीय शिल्ड मुसिकोटमै सञ्चालन गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।

गत वर्ष पनि नगरपालिकाले बजेट विनियोजन गरेकोमा यो वर्ष पनि ५ लाख बजेट छुट्टाइएको बताउनुभयो । शिल्ड सञ्चालनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई रहेकामा हाल जिल्लामा खेलकुद विकास समिति पदाधिकारी विहीन रहेको अवस्थामा कसरी शिल्ड सञ्चालन गर्ने भन्ने विषयमा सबै पालिका समेतको सहभागितामा जिल्ला स्तरीय छलफल गरेर यस विषयमा थप निर्णयका लागि नगरपालिकाले पहल गरिरहेको उहाँले बताउनुभयो ।

शिल्ड सञ्चालन गर्न नगरपालिका तयार रहेको उहाँको भनाई छ । ‘खेल पूर्वाधार देखि अन्य व्यवस्थापनका लागि नगरपालिका तयार छ, तर थप बजेट व्यवस्थापन सहित अन्य व्यवस्थापनका लागि अन्य सरोकारवाला निकायले निर्णय गर्नुपर्‍यो,’ उहाँले भन्नुभयो । सामाजिक विकास कार्यालयले भने यो वर्ष शिल्डका लागि प्रदेशले कुनै पनि बजेट नपठाएको बताएको छ ।

कार्यालय प्रमुख धनञ्जय आचार्यले अन्य शिल्ड सञ्चालनका लागि ४ लाख बजेट आउने गरेकामा यो वर्ष कुनै पनि बजेट व्यवस्था नभएको बताउनुभयो । यसका लागि प्रदेशसँग निरन्तर छलफल गरिरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव सहित जिल्ला खेलकुद विकास समितिका पदाधिकारी नियुक्त नगर्दा पनि अन्यौलता बढेको उहाँको भनाई छ ।

बजेट सामाजिक विकास कार्यालय मार्फत खर्च हुने र शिल्डको आयोजना जिल्ला खेलकुद विकास समितिले गर्ने व्यवस्था रहेकामा खेलकुद विकास समिति नै पदाधिकारी विहीन हुँदा समस्या भएको उहाँले बताउनुभयो । तर शिल्ड सञ्चालनका लागि स्थानीय तह देखि प्रदेश सरकारसँग संवाद भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

शिल्ड फागुन भित्र सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । जिल्ला स्तरीय शिल्डका लागि जिल्लाका कम्तीमा पनि आधा स्थानीय तहले शिल्ड सञ्चालन गरेको हुनुपर्ने व्यवस्था छ । रुकुम पश्चिममा यो शैक्षिक सत्रको हालसम्म सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिकाले शिल्ड सञ्चालन गरिसकेका छन् ।

आठबिसकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा बाँकी छ । जिल्लामा नियमित शिल्ड सञ्चालन नहुँदा हजारौँ विद्यार्थी आफ्नो खेल कौशल देखाउनबाट वञ्चित बनेका छन् भने जिल्लाले प्रदेश तथा राष्ट्रिय शिल्डमा उल्लेख्य प्रगति हासिल गर्न सकिरहेको छैन ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update