Kakhara सबैको खबर सम्पूर्ण खबर
जाजरकोट दरबार कप पुरुष राष्ट्रिय भलिबल हुने 

जाजरकोटमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । ५३ औँ जाजरकोट रमाइलो मेलाको अवसरमा पुस १२ गते देखि १६ गतेसम्म भेरी नगरपालिका ३ मा जाजरकोट दरबार कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेताले ३ लाख १ सय ५३ रुपैयाँ नगद पुरस्कार पाउने छ । त्यस्तै उप विजेताले २ लाख १ सय ५३ रुपैयाँ पुरस्कार पाउँदा तृतीय हुने टिमले १ लाख १ सय ५३ रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका सह संयोजक यज्ञ बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै विभिन्न व्यक्तिगत विधामा खेलाडीलाई समेत पुरस्कृत गरिने भएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पुरस्कार पाउने बस्नेतले बताउनुभयो । उहाँका अनुसार वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट क्विकर, वेस्ट ब्लकर र राइजिङ स्टारले जनही ३ हजार नगद पुरस्कार पाउने छन् ।

प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ सय प्रदान गरिने छ भने वेस्ट लिवेरो र वेस्ट टिम म्यानेजरलाई समेत आकर्षक पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि १० हजार दर्ता शुल्क तोकिएको छ । प्रतियोगिताको ब्रान्ड एम्बेस्डरमा राष्ट्रिय महिला भलिबल खेलाडी कामना विष्ट रहनुभएको छ ।  

jkt-volleyball-1766125089.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update