नेपाल प्रिमियर लिग विजेता लुम्बिनी लायन्सको ट्रफि टुर भोली सोमबार रुकुम पूर्वको रुकुमकोट पुग्ने भएको छ । दोस्रो संस्करणको ट्रफि उचालेको लुम्बिनी लायन्सले प्रदेशका सबै जिल्लामा ट्रफि टुर गर्दै छ । जस अनुसार भोली रुकुमकोटमा ट्रफि टुर हुने भएको हो ।
आज दाङ पुगेको टुर भोली सल्यान, रुकुम पश्चिम हुँदै रुकुमकोट पुग्ने छ । भोली दिउँसो रुकुमकोटमा ट्रफि राखिने छ भने त्यहाँबाट टोली रोल्पा पुग्ने लुम्बिनी लायन्सले जनाएको छ । टुरमा लुम्बिनी लायन्स तथा खेलाडी सहितको टोली छ ।
लुम्बिनी लायन्सले पुस ५ गते नेपालगञ्जको बागेश्वरी मन्दिर टुर सुरु गरेको हो । उक्त टुर पुस १५ गते रुपन्देहीमा पुगेर सम्पन्न हुने छ । आज दाङको तुल्सिपुर–घोराहीमा टुर भएको छ । भोली रुकुमकोटमा हुने टुर पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौरसम्म, पुस ९ गते प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म, पुस १० गते विजुवार बरुङ्लादेखि चकचके दरभाङ र भालुवाङसम्म रहने जनाइएको छ ।
साथै, पुस ११ गते कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर–तौलिहवा–गोरुसिङ्गेसम्म, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म, पुस १३ गते गुल्मीको तम्घासमा, पुस १४ गते पाल्पाको तानसेन बजार, पुस १५ गते नवलपरासीको बर्दघाट–सुनवलसम्म र पुस १५ गते नै रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर गरिनेछ ।
लुम्बिनी लायन्सका अनुसार पुस १६ गते बुधवार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म टुर आयोजना हुनेछ भने मेगा कन्सर्ट पनि आयोजना हुनेछ ।
एनपिएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।





-1759842583.jpg)