नेपाल भलिबल सङ्घको आयोजनामा काठमाडौँमा जारी नवौँ संस्करणको एनभिए कप महिला तथा पुरुष भलिबलमा रुकुम पश्चिमले पुरुष तर्फ विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड त्रिपुरेश्वरमा आज भएको आफ्नो खेलमा बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै रुकुम पश्चिमले जितको सुरुवात गरेको हो ।
तीन जना पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले जितका साथ प्रतियोगिताको सुरुवात गरेको छ । पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२१ ले जितेको रुकुम पश्चिमले तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गरेको हो । अब दोस्रो तथा समूह चरणको अन्तिम खेलमा रुकुम पश्चिमले जावलाखेल भलिबल क्लबसँग खेल्ने छ ।
रुकुम पश्चिममा पाकिस्तानका माजर अलि खान, वालिद खान र अहमद मुस्तफा खान तथा रुकुम पश्चिम सहित विभिन्न ठाउँका खेलाडीहरू रहेका छन् । आजै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको थियो । आर्मीले कोसी प्रदेशलाई हराएको हो ।
त्यस्तै महिला तर्फ न्यु डायमन्ड यूथ स्पोर्टस क्लब र विभागीय टोली एपीएफ ले विजयी सुरुवात गरेका छन् । बिहान भएको खेलमा न्यु डायमन्डले चुली युवा क्लबलाई र एपीएफले मधेस प्रदेश भलिबल सङ्घलाई ३–० को सोझो सेटमा हराएका हुन् ।





-1759842583.jpg)