नेपाल भलिबल सङ्घको आयोजनामा काठमाडौँमा जारी नवौँ संस्करणको एनभिए कप महिला तथा पुरुष भलिबलमा रुकुम पश्चिम पुरूष तर्फ क्वाटरफाइनल प्रवेश गरेकाे छ । लगातार दाेस्राे जित सहित रूकुम पश्चिम क्वाटरफाइनल पुगेकाे हाे ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल त्रिपुरेश्वरमा आज भएको आफ्नो दाेस्राे खेलमा जावलाखेल भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै रुकुम पश्चिम क्वाटरफाइनल प्रवेश गरेकाे छ ।
तीन जना पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१८ ले जितेको थियाे भने तेस्रो सेट जावलाखेलले २५-२२ ले जितेकाे थियाे । चाैथाे सेट रूकुम पश्चिमले २५-१८ ले जित्दै जित सुनिश्चित गर्याे ।
रुकुम पश्चिममा पाकिस्तानका माजर अलि खान, वालिद खान र अहमद मुस्तफा खान तथा रुकुम पश्चिम सहित विभिन्न ठाउँका खेलाडीहरू रहेका छन् ।
यस्तै आजै भएकाे खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हराएकाे छ । आर्मीले पहिलो सेट २५–१९ तथा दोस्रो र तेस्रो सेट समान २५–२१ ले जित्यो । याे जितसंगै आर्मी पनि क्वाटरफाइनल पुगेकाे छ ।
यसअघि पुरुषतर्फ साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब क्वाटरफाइनलमा पुगिसकेका छन् ।




-1759842583.jpg)