Kakhara सबैको खबर सम्पूर्ण खबर
एपिएफलाई हराउँदै रुकुम पश्चिम एनभिएको सेमिफाइनलमा 

विभागीय टिम नेपाल एपिएफलाई पराजित गर्दै रुकुम पश्चिम काठमाडौँमा जारी नवौँ एनभिए कप भलिबलको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्ड हलमा भएको खेलमा पुनरागमन जित निकाल्दै रुकुम पश्चिम सेमिफाइनल पुगेको हो । पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पोल्टामा पार्दै सुखद सुरुवात गरेको थियो ।

तर रुकुम पश्चिमले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट लगातार जितेको हो । दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१६ ले जितेको रुकुम पश्चिमले चौथो सेटको सुरुवातमा ४ अङ्कको अग्रता गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै २५–२० ले सेट जित्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

तीन जना पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले फाइनल प्रवेशका लागि भोली सेमिफाइनलमा अहिले त्रिभुवन आर्मी र खिल्जी विचमा हुने अन्तिम क्वाटरफाइनल खेलकाे विजेतासंग खेल्ने छ । 

साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब पनि सेमिफाइनलमा पुगेका छन् । पहिलो क्वाटरफाइनलमा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२५ र तेस्रो सेट २५–१८ ले जित्यो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा पुलिसले कोशी प्रदेश भलिबल सङ्घलाई ३–० कै सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१८ ले जित्यो । 

महिला तर्फ न्यु डायमन्ड, नेपाल एपिएफ, नेपाल पुलिस र त्रिभुवन आर्मी हिजै सेमिफाइनल पुगिसकेका छन् । भाेली हुने पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र समूह ‘बी’ को उपविजेता नेपाल एपीएफ क्लब खेल्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता पुलिस र समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update