Kakhara सबैको खबर सम्पूर्ण खबर
एनभिएमा पुरूष तर्फ हेल्प नेपाल र आर्मी तथा महिला तर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा

त्रिभुवन आर्मी क्बल र हेल्प नेपाल स्पोर्टस क्लब नवौं एनभीए भलिबल च्याम्पियनशिपको पुरुषतर्फको फाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई र हेल्प नेपालले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

आर्मीले रुकुमलाई ३–२ को सेटमा हरायो । आर्मीले पहिलो सेट २५–२०, चौथो सेट २६–२४ र पाचौँ तथा अन्तिम सेट १५–१२ ले जित्यो । रुकुमले दोश्रो सेट २५–२३ र तेश्रो सेट २५–१५ ले जित्यो । यस्तै हेल्प नेपालले पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले पहिलो सेट २५–२१, दोश्रो सेट २५–२३ र तेश्रो सेट २५–२२ ले जित्यो । 

यसैगरी महिलातर्फ न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन् । आज भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो । न्यु डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–७ ले जित्यो ।

यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१२, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१८ ले जित्यो । आर्मीले दोस्रो सेट ३१–२९ ले जित्यो ।

महिला र पुरुष दुवैतर्फको फाइनल खेल भोलि हुनेछ । महिलाको फाइनल खेल दिउँसो १ बजे र पुरुषको फाइनल खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update