Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा चार पालिकाले सकाए राष्ट्रपति रनिङ शिल्ड
मुसिकाेट नगरपालिकाले चालु शैक्षिक सत्रमा सञ्चालन गरेकाे शिल्ड ।

रुकुम पश्चिमका ४ स्थानीय तहले विद्यालय स्तरको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड सकाएका छन् । मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाले शिल्ड सम्पन्न गरेका हुन् । 

सबैभन्दा पहिला सानीभेरी गाउँपालिकाले कार्तिक २३ गते देखि शिल्ड सञ्चालन गरेको थियो । सातौँ शिल्डमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरूले प्रतिस्पर्धा गरेकामा राप्ती ज्ञानोदय माविले शिल्ड जितेको थियो । यो सँगै लगातार तेस्रो पटक प्रथम भएको राप्ती ज्ञानोदयले फिर्ता नगर्ने गरी शिल्ड कब्जा समेत गर्‍यो । 

त्यसपछि चौरजहारी नगरपालिकाले मंसिर ४ गते देखि चिन्नेबगरमा शिल्ड सञ्चालन गरेको हो । नगरपालिकाले १७ औँ राष्ट्रपति रनिङ शिल्ड र नवौँ नगर कप समेत सँगै सञ्चालन गरेको थियो । नगरपालिकाका ११ माविले प्रतिस्पर्धा गरेको शिल्ड शीतल माविले हात पार्‍यो । 

मुसिकोट नगरपालिकाले भने मंसिर ७ गते देखि वडा नम्बर ३ काे धैरेनीचौर खेल मैदानमा चौथो राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्‍यो । उक्त शिल्ड मुसिकोट १ को त्रिभुवन जनता माविले जित्यो । यो सँगै लगातार शिल्ड जितेको त्रिजमाविले शिल्ड विद्यालयमै राख्ने गरी कब्जा समेत गर्‍यो । 

यसपछि जिल्लाको त्रिवेणी गाउँपालिकाले भर्खरै मात्र शिल्ड सम्पन्न गरेको छ । पुस १३ गतेदेखि वडा नम्बर २ को सिम्रुतु क्याम्पसमा सञ्चालन भएको चौथो राष्ट्रपति रनिङ शिल्ड २ नम्बर वडाकै त्रिवेणी मावि सिम्रुतुले जित्यो । यहाँ पनि त्रिवेणी माविले लगातार तेस्रो पटक शिल्ड जित्दै फिर्ता गर्न नपर्ने गरी कब्जा गर्‍यो । 

चालु शैक्षिक सत्रमा अब जिल्लाका २ स्थानीय तह आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाले शिल्ड सञ्चालन गर्न बाँकी छ । आठबिसकोट नगरपालिकाले माघ ४ गते देखि वडा नम्बर ८ काे हिमालय मावि दाँजेमा शिल्ड सञ्चालन हुने नगर प्रमुख रवि केसीले जानकारी दिनुभयाे ।

जिल्लामा रहेका कम्तीमा पनि आधा पालिकाले शिल्ड सञ्चालन गरेपछि जिल्ला स्तरीय शिल्ड सञ्चालन गर्नुपर्ने प्रावधान छ । जिल्लाका ६ मध्ये ४ स्थानीय तहले शिल्ड सञ्चालन गरिसकेपनि जिल्ला स्तरीय शिल्ड कहिलेबाट सञ्चालन गर्ने भन्ने बारेमा निर्णय हुन सकेको छैन् । 

शिल्ड मुसिकोट नगरपालिकामा गर्ने निर्णय भने गत वर्ष नै भइसकेको छ । तर बजेट अभावका कारण जिल्ला स्तरीय शिल्ड अन्योलतामा परेको छ । गत वर्ष पनि जिल्ला स्तरीय शिल्ड सञ्चालन हुन सकेको थिएन । 

मुसिकोट नगरपालिकाले जिल्ला स्तरीय शिल्डका लागि ५ लाख बजेट विनियोजन गरेको जनाएको छ । तर कर्णाली प्रदेशबाट अहिलेसम्म शिल्ड सञ्चालनका लागि कुनै पनि बजेट प्राप्त हुन नसकेको सामाजिक विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । मुसिकोट नगरपालिकाले पनि शिल्डका लागि पहल भइरहेको बताएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update