Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वको सिस्ने ३ मा माघे संक्रान्ति मेलाको अवसरमा भलिबल हुने

रुकुम पूर्वको सिस्ने गाउँपालिका ३ पोखरामा माघे संक्रान्ति मेलाको अवसरमा भलिबल लगायतका कार्यक्रम हुने भएका छन् । परम्परागत रूपमा लाग्दै आएको मेलाको अवसरमा यस वर्ष पुरुष भलिबल सहित विभिन्न खेलकुद गतिविधि सञ्चालन हुने मेला व्यवस्थापन समितिले जनाएको छ । 

पुरुष भलिबलको विजेताले नगद १ लाख ५० हजार पुरस्कार पाउने मेला व्यवस्थापन समितिका कोषाध्यक्ष नरेश केसीले जानकारी दिनुभयो । उप विजेताले १ लाख नगद पुरस्कार पाउँदा तेस्रो हुनेले ६० हजार र सान्त्वना टिमले नगद ४० हजार पुरस्कार पाउने उहाँले बताउनुभयो । 

विजेता, उप विजेता, तेस्रो र सान्त्वना टिमलाई नगद पुरस्कार सहित कप, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको केसीले बताउनुभयो । भलिबलमा सहभागिताका लागि पुस २७ गतेसम्म टिम दर्ता गराउन सकिने र खेल २८ गतेबाट सुरु हुने बताइएको छ । मेलामा पहिलाे पटक भलिबल आयाेजना गरिएकाे उहाँकाे भनाइ छ ।

त्यस्तै मेलाको अवसरमा रसाकसी, घैंटोफोर, भाले तान्ने र स्लो बाइक रेस प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । 

साथै मेलामा उपस्थित झाँकीहरूलाई प्रोत्साहन स्वरूप ५ हजार प्रदान गरिने आयोजक माघी मेला तथा खेलकुद व्यवस्थापन समिति पोखराले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update