रुकुम पश्चिमको मुसिकोट वडा नम्बर ४, ६ र ११ को संगमस्थल ट्याखोलामा माघे संक्रान्तिको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । माघ १ गतेदेखि त्रिवेणी मयूर युवा क्लबको आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । मेलामा शुद्ध वडा स्तरीय पुरुष भलिबल, खुला महिला, पुरुष रस्साकस्सी, श्रीमानले श्रीमती बोकेर दौडिने प्रतियोगिता, ११ वर्ष मुनिका बालबालिकाहरूको बेलुन फुटाउने प्रतियोगिता, एकल लोक नृत्य, घैँटो फोर र भाले तान प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव खडानन्द शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । दोस्रो स्थान हासिल गर्ने समूहले ३० हजार र सान्त्वना स्थान हासिल गर्ने दुई टिमले सम्मान १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै खुला महिला, पुरुष रस्साकस्सी प्रतियोगितातर्फ समान प्रथम स्थान हासिल गर्ने समूहले ५ हजार, दोस्रो स्थान हासिल गर्ने समूहले ४ हजार र तेस्रो स्थान हासिल गर्ने समूहले ३ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने छ ।
श्रीमती बोकेर दौडिने प्रतियोगितातर्फ प्रथम स्थान हासिल गर्नेले ३ हजार, दोस्रो स्थान हासिल गर्नेले २ हजार र तेस्रो स्थान हासिल गर्नेले १ हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछ । ११ वर्ष मुनिका बालबालिकाहरूको बेलुन फुटाउने प्रतियोगितातर्फ प्रथम पुरस्कार १ हजार, दोस्रो पुरस्कार ८ सय र तेस्रो पुरस्कार ६ सय रहेको छ । एकल लोक नृत्यतर्फ प्रथम पुरस्कार १५ सय, दोस्रो पुरस्कार १ हजार र तेस्रो पुरस्कार ५ सय रहेको छ । त्यसै गरी घैँटो फोर प्रतियोगितामा विजेता हुनेले १ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्दा भाले तान प्रतियोगितामा विजेता हुनेले २ हजार बराबरको भाले प्राप्त गर्ने सचिव शर्माले जानकारी दिनुभयो । स्थानीय झाँकी बाहेक अन्य प्रतियोगिताको दर्ता शुल्क प्रथम पुरस्कारको १० प्रतिशत लाग्ने छ ।
मेलामा स्थानीय झाँकी, पैँसेरू नाच, मयुर नाच, सिङ्गारू नाच, महिला समूह नाच लगायत सहभागी सबै समूहहरूलाई उचित पुरस्कारले सम्मान गरिने आयोजक त्रिवेणी मयुर युवा क्लब मुसिकोट ११ ले जनाएको छ । साथै मेलामा माघ १ गते परम्परागत रूपमा चलिआएको बेहुली पोल्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।






-1759842583.jpg)
