Kakhara सबैको खबर सम्पूर्ण खबर
अन्तर विद्यालय स्तरीय क्रिकेट राप्ती ज्ञानोदयले जित्यो

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा आयोजित प्रथम अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता राप्ती ज्ञानोदय मावि सिम्लीले जितेको छ । आज भएको फाइनलमा मुसिकोट १ खलङ्गाको त्रिभुवन जनता माविलाई पराजित गर्दै सानीभेरी गाउँपालिका ९ को राप्ती ज्ञानोदय मावि च्याम्पियन बनेको हो ।

खलङ्गाको बराहटाकुरामा भएको फाइनलमा राप्ती ज्ञानोदय मावि ५७ रनले विजयी भयो । टस जितेर ब्याटिङ गरेको राप्ती ज्ञानोदयले निर्धारित १० ओभरमा ७२ रन बनाएको थियो । राप्ती ज्ञानोदयका नरेश विकले सर्वाधिक २४ रन बनाए । त्रिजमाविका बेगम घर्तीले २ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएकाे त्रिजमावि मात्र १५ रनमा समेटियो ।

त्रिजमाविलाई सस्तैमा समेट्न राप्ती ज्ञानोदयका किरण रानाले ह्याट्रिक सहित ४ विकेट लिए । त्रिजमाविका कुनै पनि ब्याट्सम्यानले दाेहाेराे अंकमा रन बनाउन सकेनन् ।

प्रतियोगिताका विजेता र उप विजेताले कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला क्रिकेट संघका सदस्य कुलप्रसाद ओलीले जानकारी दिनुभयो ।

त्यस्तै प्लेयर अफ द सिरिज राप्ती ज्ञानोदयका किरण राना बने । उनले नगद २ हजार, मेडल र प्रमाण पत्र पाए । वेस्ट ब्याट्सम्यान राप्ती ज्ञानोदयका सन्देश रावत बने भने वेस्ट फिल्डर त्रिजमाविका विनय धिताल र वेस्ट बलर त्रिजमाविकै बेगम घर्ती बने । उनीहरूले पनि समान ३ हजार, मेडल र प्रमाणपत्र पाए ।

टिम दर्ता निःशुल्क थियो भने खेल अवधिभर खाजाको व्यवस्था गरिएको थियो । विद्यालय स्तरबाट क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गरिएको जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update