Kakhara सबैको खबर सम्पूर्ण खबर
पिएम कपको कर्णाली छनोटमा रुकुम पश्चिमको लगातार दोस्रो जित

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको कर्णाली प्रदेश छनोटमा रुकुम पश्चिमले लगातार दोस्रो जित निकालेको छ । आज भएको आफ्नो तेस्रो खेलमा रुकुम पश्चिमले दैलेखलाई २० रनले हराउँदै रुकुम पश्चिमले फाइनलको यात्रालाई बलियो बनाएको छ । 

सुर्खेतमा टस जितेर ब्याटिङमा उत्रिएको रुकुम पश्चिमले ४०.३ ओभरमा सबै विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । रुकुम पश्चिमको लागि युनिशविक्रम सिंहले सर्वाधिक ४६, उप कप्तान कुनाल रावलले ४२, अरविन्द घर्तीले २१, विजय पुनले १५, अर्जुन घर्ती र विनोद विकले १३÷१३ र विशेष बुढाथोकीले ११ रनको योगदान गरे । 

दैलेखका विष्णु शाहीले सर्वाधिक ४ विकेट लिए भने विजय बोहरा र सुरज बोहराले २/२ तथा ललितजंग शाही र कलम शाहीले १/१ विकेट लिए । २ सय ६ रनको लक्ष पछ्याएको दैलेख ४३ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । दैलेखका सुरज बोहराले सर्वाधिक ४२ रन, हिमांशु शाहीले ३८ड रन, राजेश खड्काले ३४ रन, हिक्मतजंग शाहीले नट आउट १८ र कलम शाहीले १३ रन बनाए । 

रुकुम पश्चिमका अनुज चनारा, युनिशविक्रम सिंह र राजेन्द्र शाहीले ३/३ विकेट लिए भने विनोद विकले १ विकेट लिए । सुर्खेतसँगको पहिलो खेल वर्षाका कारण स्थगित भएकामा रुकुम पश्चिमले दोस्रो खेलमा हिजो सल्यानलाई ८ विकेटले हराएको थियो । अब रुकुम पश्चिमले समूह चरणको अन्तिम खेलमा भोली कालिकोटसँग प्रतिस्पर्धा गर्ने छ । 

सहभागी ४ जिल्लाले एक अर्काका बिचमा खेलेपछि तालिकाको शीर्ष स्थान र दोस्रो स्थानमा रहेका जिल्लाले फाइनल खेल्ने छन् । फाइनल खेल पर्सी माघ १८ गते हुने छ । यस प्रतियोगिताबाट प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम निर्माण गरिने छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update