रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्तरीय चौथो मेयर कप सुरु भएको छ । मुसिकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नम्बर २ को पशुपति माविमा आज देखि मेयर कप सुरु भएको हो । कपको मुसिकोट नगर प्रमुख महेन्द्र केसीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । मेयर कपमा विभिन्न २४ वटा विधामा प्रतिस्पर्धा हुने चौथो मेयर कप प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन उप समितिका संयोजक भक्तबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा नगरपालिकाका कुल ६५ मध्ये ४९ वटा विद्यालयको सहभागिता रहेका छन् । प्रतियोगितामा कक्षा १–३ तर्फ वस्तु पहिचान, हस्त लेखन र ह्याण्ड राइटिङ, कक्षा ४–५ मा गणित दौड, हाजिर जवाफ, हिज्य, हस्त लेखन र ह्याण्ड राइटिङ तथा कक्षा ६–८ तर्फ छात्र भलिबल, फुटसल, हाजिर जवाफ, हिज्य, गणित दौड, हस्तलेखन र ह्याण्ड राइटिङ विधामा प्रतिस्पर्धा हुने खड्काले बताउनुभयो ।
त्यस्तै कक्षा ९–१० का लागि अंग्रेजी–नेपाली निबन्ध, हस्त लेखन, ह्याण्ड राइटिङ, हाजिर जवाफ, वक्तृत्वकला र छात्रा फुटसल प्रतियोगिता रहेको उहाँले बताउनुभयो । कक्षा ११–१२ तर्फ हाजिर जवाफ र वक्तृत्वकला प्रतियोगिता रहेको संयोजक खड्काको भनाई छ । प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुने बताइएको छ ।
प्रतियोगिताको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन उप समितिका संयोजक भक्तबहादुर खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुवेर केसी, वडा नम्बर १ का अध्यक्ष ज्ञानुचन्द्र चन्द, वडा नम्बर २ का अध्यक्ष दिनेश खड्का, वडा नम्बर ३ का अध्यक्ष दशरथ केसी, पशुपति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर खड्का, विभिन्न विद्यालयका प्रअ, शिक्षक तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन उप समितिका सदस्य विमलकुमार शर्माले गर्नुभएको थियो । नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड भने यस अघि नै सम्पन्न गरिसकेको छ ।





-1759842583.jpg)