Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट मेयर कप: कुन विद्यालयको प्रस्तुति कस्तो ? 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्तरीय चौथो मेयर कप सम्पन्न भएको छ । नगर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नम्बर २ को पशुपति मावि रातामाटामा आयोजित कप सम्पन्न भएको हो । 

प्रतियोगितामा विभिन्न २४ विधामा नगरभरका ६५ मध्ये ४९ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए । कक्षा ६–८ को छात्र भलिबलमा वडा नम्बर ७ को जनजागृति मावि साँख प्रथम भएको छ । प्रभात मावि दोपाई दोस्रो हुँदा जनकल्याण मावि भलाक्चा तृतीय भएको छ । 

कक्षा ६–८ को छात्र फुटसलमा विजयश्वरी बोर्डिङ स्कुल प्रथम हुँदा न्यु मुन लाइट बोर्डिङ स्कुल द्वितीय र त्रिभुवन जनता मावि खलङ्गा तृतीय भएको नगर कप प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन उप समितिका संयोजक भक्तबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार कक्षा ९–१० को छात्रा फुटसलमा भने बाल कल्याण मावि झुल्खेत प्रथम भएको छ । महेन्द्र मावि छिवाङ चौतारा द्धितीय हुँदा त्रिभुवन जनता मावि तृतीय भएको संयोजक खड्काले जानकारी दिनुभयो ।

कक्षा ११–१२ को हाजिर जवाफमा न्यु मुन लाइट बोर्डिङ स्कुल शेरिगाउँ प्रथम, त्रिभुवन जनता मावि द्वितीय र यमुना नन्द नमुना मावि शेरिगाउँ तृतीय, कक्षा ११–१२ को वक्तृत्वकलामा त्रिभुवन जनता माविकी कृतिका खड्का प्रथम, न्यु मुन लाइट बोर्डिङकी अस्मिता खत्री द्वितीय र यमुना नन्द नमुना माविका हरिबहादुर ओली तृतीय भएको उहाँले बताउनुभयो । 

कक्षा ९–१० को अङ्ग्रेजी निबन्धमा त्रिभुवन जनता माविका जुनेश घर्ती प्रथम, बाल कल्याण मावि सोलावाङकी यमुना केसी द्वितीय र विजयश्वरी बोर्डिङ स्कुलका मेन्डल पुन तृतीय हुँदा कक्षा ९–१० कै निबन्ध प्रतियोगितामा त्रिभुवन जनता माविका सुमन लामिछाने प्रथम, माविका मावि चुनका रमेश कठायत द्वितीय र सरस्वती मावि सल्लेकी मेलिना रावत तृतीय भएको बताइएको छ । 

कक्षा ९–१० को हाजिर जवाफमा महेन्द्र मावि चौतारा प्रथम, जनकल्याण मावि काँसपोखरी द्वितीय र बाल कल्याण मावि झुल्खेत तृतीय हुँदा कक्षा ४–५ को हाजिर जवाफमा सिस्ने एकेडेमी सोलावाङ प्रथम, विजयश्वरी बोर्डिङ स्कुल र बालधरम आवि स्याबाङ द्वितीय र जनकल्याण मावि काँसपोखरी तृतीय भएको प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिले जनाएको छ ।

प्रतियोगितामा कक्षा १–३ तर्फ वस्तु पहिचान, हस्त लेखन र ह्याण्ड राइटिङ, कक्षा ४–५ मा गणित दौड, हाजिर जवाफ, हिज्य, हस्त लेखन र ह्याण्ड राइटिङ तथा कक्षा ६–८ तर्फ छात्र भलिबल, फुटसल, हाजिर जवाफ, हिज्य, गणित दौड, हस्तलेखन र ह्याण्ड राइटिङ विधामा प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै कक्षा ९–१० का लागि अंग्रेजी–नेपाली निबन्ध, हस्त लेखन, ह्याण्ड राइटिङ, हाजिर जवाफ, वक्तृत्वकला र छात्रा फुटसल प्रतियोगिता रहेको उहाँले बताउनुभयो । कक्षा ११–१२ तर्फ हाजिर जवाफ र वक्तृत्वकलामा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update