रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा हरेक वर्ष सञ्चालन हुने सानीभेरी मौराखारा राष्ट्रिय गुरिल्ला म्याराथन यस वर्ष आयोजना भएन । राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सानीभेरी गाउँपालिकाले आयोजना गर्दै आएको म्याराथन हरेक वर्षको फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सञ्चालन हुँदै आएको थियो ।
म्याराथन फागुन १ गते आज हुनुपर्ने हो । तर यस वर्ष म्याराथन आयोजना गरिएन । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले यो वर्ष म्याराथन सञ्चालन हुन नसक्नुको मुख्य कारण निर्वाचन आचारसंहिता हो । 'यो हाम्रो जनयुद्धको इतिहाससँग जोडिएको खेल हो, हामीले झन्डा सहित अन्य सामग्री जनयुद्धको झल्को दिने गरी नै निर्माण गर्थ्यौँ, ती सामग्री निर्वाचन आचारसंहिता विपरीत हुने भएकोले यस वर्ष म्याराथन आयोजना हुन सकेन,' उहाँले भन्नुभयो ।
साथै यो वर्ष राष्ट्रिय खेलकुद परिषदबाट बजेट नआएका कारण पनि म्याराथन सञ्चालन गर्न समस्या भएको उहाँले बताउनुभयो । उहाँका अनुसार म्याराथनका लागि राखेपबाट प्रत्येक वर्ष १० लाख बजेट आउने गरेको थियो । जनयुद्ध दिवस विशेष भव्य कार्यक्रमका बिच म्याराथन आयोजना गरिन्थ्यो । यो म्याराथनमा भाग लिन देश भरका धावकहरू सहभागी हुने गर्थे । यो वर्ष म्याराथनको ८ औँ संस्करण हुनुपर्ने थियो । जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सहिद परिवार तथा घाइतेहरूलाई भने आज सम्मान गर्दै छ ।
तत्कालीन माओवादी लडाकुहरुले प्रयोग गरेको बाटो र तालिम केन्द्रका रूपमा प्रयोग गरेको मौराखारा लेकलाई समेटेर यो म्याराथन सञ्चालन गर्ने गरिएको छ । धावकहरूलाई तत्कालीन माओवादी लडाकुहरूले प्रयोग गर्ने खालकै पोसाकमा सजाएर दौडाइने गरिन्छ । यो पटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलसँगको एकता प्रक्रियामा चित्त नबुझाएर प्रभावशाली नेता जनार्दन शर्माले फरक पार्टी निर्माण गरेपछि जिल्लामा पनि पार्टी २ भागमा विभाजन भएकोले म्याराथन सञ्चालनमा समस्या आएको अडकलबाजी पनि गरिएको छ ।।





-1759842583.jpg)