Kakhara सबैको खबर सम्पूर्ण खबर
काभा क्लब भलिबलमा छनोट हुने लक्ष सहित रुकुम पश्चिम पिएम कप भलिबलमा सहभागी हुँदै
फाइल फाेटाे ।

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले दशौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ सहभागिता जनाउने भएको छ । नेपाल भलिबल संघको आयोजनामा वैशाख १० गतेबाट १९ गतेसम्म काठमाडौँमा हुने च्याम्पियनसिपमा रुकुम पश्चिमको पनि सहभागिता रहने भएको हो । 

उक्त प्रतियोगिताका लागि रुकुम पश्चिम यस अघि नै छनोट भएको थियो । गत पुसमा सम्पन्न नवौँ एनभिए कप भलिबलमा सेमिफाइनलसम्मको यात्रा तय गरेको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र दशौँ प्रधानमन्त्री कप राष्ट्रिय भलिबल च्याम्पियनसिपका लागि पुरुष तर्फ छनोट भएको थियो । 

च्याम्पियनसिपका लागि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले तयारी तीव्र पारेको केन्द्रका अध्यक्ष तथा प्रशिक्षक तेज बुढाले जानकारी दिनुभयो । आगामी काभा क्लब भलिबल च्याम्पियनसिपमा छनोट हुने लक्षका साथ तयारीमा रहेको बताउनुभयो । प्रधानमन्त्री कप भलिबलको विजेताले काभा क्लब भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने व्यवस्था छ । 

काभा क्लब भलिबल च्याम्पियनसिप अन्तर्राष्ट्रिय प्रतियोगिता हो । च्याम्पियन बनेर यस प्रतियोगितामा छनोटको मुख्य लक्ष सहित सहभागी बन्न लागेको बुढाको भनाई छ । प्रशिक्षण केन्द्रले नवौँ एनभिए कपमा तीन जना पाकिस्तानी खेलाडी सहित उपाधि हात पार्ने लक्षका साथ उत्रिएको थियो । 

तर टिम सान्त्वनामा चित्त बुझाउन बाध्य भएको थियो । उक्त प्रतियोगिताको हारबाट पाठ सिक्दै यो पटक बलियो टिम निर्माणमा ध्यान केन्द्रित गरिएको उहाँको भनाई छ । यस पटक पनि पाकिस्तानबाटै तीन जना खेलाडी ल्याउने केन्द्रले तयारी गरेको छ । खेलाडी भित्र्याउने तयारी लगभग अन्तिम चरणमा पुगेको र एनभिएको भन्दा यो पटक टिम सन्तुलित बन्ने प्रशिक्षक बुढाको भनाई छ । 

त्यस्तै यस पटक स्वदेशी पनि स्तरीय खेलाडी टिममा अनुबन्ध गर्न लागिएको उहाँको भनाई छ । 

सहयोगको अपिल 
काभा क्लब भलिबल च्याम्पियनसिपमा छनोट हुने लक्षका साथ मैदानमा उत्रिन लागेको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले सहयोगका लागि अपिल समेत गरेको छ । प्रतियोगितामा सहभागिताका लागि साढे ३० लाख बढी अनुमानित खर्च विवरण रहेको बताउँदै प्रशिक्षण केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रशिक्षक बुढाले सहयोगको अपिल गर्नुभएको छ ।

यो प्रतियोगिता निकै नै महत्त्वपूर्ण रहेको र यो प्रतियोगिताकाका लागि छनोट हुनु नै निकै ठुलो विषय भएको भन्दै उहाँले प्रतियोगिताका लागि सहयोग गर्न सबै पक्षहरूसँग आग्रह गर्नुभएको छ । रुकुम पश्चिम सहित समग्र कर्णाली प्रदेशको भलिबल विकासमा यस प्रतियोगिताले महत्त्वपूर्ण योगदान गर्ने भन्दै उहाँले यस प्रतियोगितामा टिमको ऐतिहासिक सहभागिता हुन लागेको बताउनुभयो ।

समग्र कर्णालीको शिर उँचो बनाउने यस सहभागितालाई अझ भव्य र व्यवस्थित बनाउनका लागि सहयोग सहयोग गर्न उहाँले सबै सामु अपिल गर्नुभएको छ । सहयोग गर्न इच्छुकले प्रशिक्षण केन्द्रको महालक्ष्मी विकास बैंक रुकुम पश्चिम शाखामा रहेको खाता नम्बर ०५४००१००६५८३३५०००००१ मा सहयोग गर्न सक्ने बुढाले बताउनुभयो । 

नेपालको सबैभन्दा ठुलो भलिबल प्रतियोगिता 
पिएम कप राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप नेपालको सबैभन्दा ठुलो भलिबल प्रतियोगिता हो । यस प्रतियोगिताको विजेताले नगद १० लाख, उप विजेताले नगद ५ लाख र तृतीयले नगद २ लाख ५० हजार पुरस्कार पाउने छन् । साथमा ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ ।

च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले नगद ६० हजार पुरस्कार पाउँदा विभिन्न विधागत तर्फका खेलाडीहरूले नगद ३० हजार पुरस्कार पाउने छ । यस च्याम्पियनसिपको च्याम्पियनले काभा क्लब भलिबल जस्तो अन्तर्राष्ट्रिय लिग खेल्न पाउनेभएकोले पनि यो प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update