Kakhara सबैको खबर सम्पूर्ण खबर
पिएम कप भलिबलः डायमन्ड खड्काको कप्तानीमा रुकुम पश्चिमको टोली घोषणा 

काठमाडौँमा वैशाख १० देखि १९ गतेसम्म सञ्चालन हुने दशौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपका लागि रुकुम पश्चिमले टोलीको घोषणा गरेको छ । रुकुम पश्चिमले पुरुष तर्फ भाग लिँदै छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले डायमन्ड खड्काको कप्तानीमा व्यवस्थापन टिम सहित १६ सदस्यीय टोली घोषणा गरेको हो । 

पिएम कपमा रुकुम पश्चिमको कप्तानी डायमन्ड खड्काले गर्ने छन् । खड्काको कप्तानीमा रहेको टोलीमा ३ जना पाकिस्तानी अन्तर्राष्ट्रिय खेलाडी समेत सामेल छन् । टोलीमा खड्का सहित रोशन खड्का, अजय सुनार, सञ्जुबिक्रम शाह, सन्तोष बिक, हिमाल सुनारी मगर र विवश आले मगर रहेका छन् । 

त्यस्तै पुष्कर धामी, राजन दर्लामी मगर तथा पाकिस्तानबाट फहद राजा, अदनान खान र अफाक खान रहेका छन् । प्रशिक्षकमा तेजविक्रम बुढा, सहायक प्रशिक्षकमा शैलेन्द्र शाही, व्यवस्थापकमा यमन बाँठा मगर र फिजियोमा दुर्गा रेग्मी रहेका छन् । 

गत पुसमा सम्पन्न नवौँ एनभिए कप भलिबलमा सेमिफाइनलसम्मको यात्रा तय गरेको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र दशौँ प्रधानमन्त्री कप राष्ट्रिय भलिबल च्याम्पियनसिपका लागि पुरुष तर्फ छनोट भएको थियो । उक्त प्रतियोगितामा तीन पाकिस्तानी खेलाडी माजर अलि, अहमद मुस्तफा र वालिद खान सहित उत्रिएको रुकुम पश्चिम सान्त्वना भएको थियो । 

स्वदेशी खेलाडी सन्तुलित नहुँदा उक्त प्रतियोगितामा सोचेजस्तो प्रदर्शन गर्न नसकेको रुकुम पश्चिमले यस पटक भने विदेशी सहित स्वदेशी खेलाडीमा पनि विशेष ध्यान दिएको देखिएको छ । रुकुम पश्चिमले स्वदेशी खेलाडीमा अधिकांश खेलाडी गण्डकी प्रदेशका भित्र्याएको छ । 

गण्डकीका कप्तान सञ्जुविक्रम शाह सहित हिमाल सुनारी सम्मको उपस्थिति र ३ जना पाकिस्तानी खेलाडीको आगमनले रुकुम पश्चिम यस पटक प्रमुख दाबेदारका रूपमा देखिएको छ । च्याम्पियन बन्ने लक्ष सहित मैदान उत्रिन लागेको प्रशिक्षक तेजविक्रम बुढाले बताउनुभयो । यस पटक उपाधि मै कब्जा जमाउने गरी टिम निर्माण गरिएको उहाँको भनाई छ । 

प्रधानमन्त्री कप भलिबलको विजेताले काभा क्लब भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने व्यवस्था छ । काभा क्लब भलिबल च्याम्पियनसिप अन्तर्राष्ट्रिय प्रतियोगिता हो । काभामा छनोटको मुख्य लक्ष सहित मैदान उत्रिन लागेको बुढाले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update