बिहिबारबाट काठमाडौँमा १० औँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सञ्चालन हुँदै छ । यो नेपाली भलिबलको सबैभन्दा ठुलो प्रतियोगिता हो । यस प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहन्छ । यस प्रतियोगितामा भाग लिनका लागि मात्र पनि छनोट चरण पार गर्नुपर्ने हुन्छ । यति ठुलो मञ्चमा रुकुम पश्चिम समेत देखा पर्दै छ । यति ठुलो प्रतियोगितामा रुकुम पश्चिमले भाग लिन लागेको पहिलो पटक हो । यस प्रतियोगितामा सहभागिता मात्रलाई पनि ठुलो मानिन्छ ।
नेपाल भलिबल सङ्घले सञ्चालन गर्ने गरेको एनभिए कप भलिबल प्रतियोगिता यस प्रतियोगिताको छनोटको ढोका हो । उक्त प्रतियोगिताको क्वाटर फाइनल सम्मको यात्रा तय गर्ने टिमहरूले प्रधानमन्त्री कप भलिबलमा भाग लिन पाउने व्यवस्था छ । गत पुसमा काठमाडौँमा भएको नवौँ एनभिए कप भलिबलमा पहिलो पटक भाग लिएको रुकुम पश्चिम सान्त्वना हुँदै पहिलो प्रयासमै पिएम कप भलिबलका लागि छनोट भएको थियो । पहिलो सहभागितामै पाकिस्तानका ३ जना विश्व स्तरीय खेलाडी सहित मैदान उत्रिएको रुकुम पश्चिम उपाधि दाबेदारको रूपमा समेत रहेको थियो ।
तर टिमको सन्तुलन राम्रो बन्न नसक्दा टिम सेमिफाइनल भन्दा माथि पुग्न सकेको थिएन । तर पिएम कप भलिबलका लागि छनोट हुँदै रुकुम पश्चिमले इतिहास समेत कायम गर्यो । सेमिफाइनलमा आर्मीसँग पराजित हुँदै रुकुम पश्चिम फाइनल पुग्न वञ्चित भएको थियो । तेस्रो स्थानका लागि अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग पराजित भएको रुकुम पश्चिम सान्त्वना भएको छ । पाकिस्तानका माजर अलि, अहमद मुस्तफा र वालिद खान सहित उत्रिएको रुकुम पश्चिमले सबै ध्यान आफूतिर खिचेको थियो । तर डिफेन्स र स्वदेशी खेलाडीमा कमजोर हुँदा अपेक्षा अनुरूप खेल्न सकेन ।
उक्त कमजोरीबाट सिक्दै यस पटक भने सन्तुलित टिम निर्माण गरिएको छ । पिएम कपका लागि पाकिस्तानको राष्ट्रिय टिममा रहेका तीन जना खेलाडी सहित स्तरीय स्वदेशी खेलाडी सहित मैदान उत्रिन लागेको रुकुम पश्चिम टिमका प्रशिक्षक तेजविक्रम बुढा बताउनुहुन्छ । एनभिएको कमजोरीलाई सुधार गर्दै यस पटक विदेशी सहित स्वदेशी पनि स्तरीय खेलाडी अनुबन्ध गरिएको उहाँको भनाई छ । यस पटक रुकुम पश्चिमबाट पाकिस्तानका फहद राजा, अदनान खान र अफाक खानले खेल्दै छन् ।
पाकिस्तानी र अनुभवी स्वदेशी खेलाडीहरूको सन्तुलित टिमसहित रुकुम पश्चिमले पहिलो पटक १० औँ प्रधानमन्त्री कप भलिबलमा उपाधि चुम्ने लक्ष्य राखेको छ । सरकारी सहयोगको अभावमा चन्दा र व्यक्तिगत ऋणको भरमा करिब ३० लाख खर्च जुटाएर मैदान उत्रिन लागेको यो टिम विजेता बनेर अन्तर्राष्ट्रिय 'काभा क्लब च्याम्पियनसिप'मा छनोट हुन चाहन्छ ।
त्यस्तै स्वदेशी खेलाडीमा घरेलु भलिबलको पावर हाउस गण्डकी प्रदेशका अधिकांश खेलाडीहरू रहेका छन् । प्रशिक्षक बुढाका अनुसार गण्डकीका कप्तान सञ्जुबिक्रम शाह सहित ६ जना खेलाडीहरू रहेका छन् । भलिबल जगत्मा सबैभन्दा बढी फ्यान फ्लोइङ भएका मध्ये एक हिमाल सुनारी मगर समेत टिममा छन् । त्यस्तै कर्णालीका समेत राम्रा खेलाडी टिममा राखिएको उहाँले जानकारी गराउनुभयो । यस पटक आफूहरूको प्रमुख लक्ष नै उपाधि चुम्ने रहेको प्रशिक्षक बुढाको भनाई छ ।
विदेशी र स्वदेशी दुवै पक्ष यस पटक मजबुत रहेकोले टिम धेरै नै सन्तुलित रहेको र नजर उपाधिमा रहेको बुढाले बताउनुभयो । यस प्रतियोगिताको विजेताले काभा क्लब च्याम्पियनसिप जस्तो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा भाग लिन पाउने भएका कारण आफूहरूको प्रमुख लक्ष नै उपाधि रहेको बुढा बताउनुहुन्छ । त्यसका लागि पर्याप्त तयारी गरिएको र बाँकी मैदानमा देखिने उहाँले बताउनुभयो । ‘खेलमा ठ्याक्कै ठोकुवा गरेर भन्न सकिँदैन, जसले राम्रो खेल्छ उसले बाजी मार्ने हो, हामी राम्रो खेल्ने छौँ, सकारात्मक सोच र उच्च मनोबल सहित मैदान उत्रिँदै छौँ,’ उहाँले भन्नुभयो ।
टिम रुकुम
डायमन्ड खड्का कप्तान, रोशन खड्का, अजय सुनार, सञ्जुबिक्रम शाह, सन्तोष बिक, हिमाल सुनारी मगर, विवश आले मगर, पुष्कर धामी, राजन दर्लामी मगर, फहद राजा, अदनान खान, अफाक खान । तेजविक्रम बुढा प्रशिक्षक, शैलेन्द्र शाही सहायक प्रशिक्षक, यमन बाँठा मगर व्यवस्थापक, दुर्गा रेग्मी फिजियो ।
सहयोग जुटाएर राष्ट्रिय स्तरको प्रतियोगिता खेल्दै
रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रुकुम पश्चिममा भलिबल विकासका लागि सक्रिय छ । केन्द्रले रुकुम पश्चिममा सर्वाधिक पुरस्कार राशिका राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गरिसकेको छ । साथै खेलाडी उत्पादनमा पनि केन्द्रको योगदान उत्तिकै महत्त्वपूर्ण छ । विभिन्न स्थानमा हुने राष्ट्रिय तथा अन्य प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गराउने अर्को मुख्य काम यस केन्द्रको छ । यसै अन्तर्गत रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जिल्ला र कर्णाली प्रदेशकै प्रतिनिधित्व गर्दै पिएम कप भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ ।
सङ्घले स्थापना काल देखि नै भोग्दै आएको प्रमुख र एउटै समस्या हो, आर्थिक अभाव । कुनै प्रतियोगिता आयोजना गर्न होस वा सहभागिताका लागि होस केन्द्रले आर्थिक अभावकै सामना खेप्नुपरिरहेको छ । भलिबल नेपालको राष्ट्रिय खेल भए पनि सरकारी पक्षबाट यसको विकासका लागि योगदान शून्य बराबर रहेको भन्दै केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले गुनासो गर्नुभयो । जुनसुकै गतिविधि गर्दा पनि हात जोडेर सहयोग जुटाउनुपर्ने नियति रहेको उहाँको भनाई छ ।
यस पटक पनि सहयोगकै भर रहेको उहाँले बताउनुभयो । रुकुम पश्चिमले यति ठुलो स्तरको प्रतियोगितामा भाग लिन पाउनु आफैमा ठुलो विषयको भए पनि यस तर्फ सरोकारवाला कसैको पनि ध्यान जान नसकेको उहाँले बताउनुभयो । ‘भिख मागे जसरी सहयोग माग्नुपर्ने बाध्यता छ, हामीले हरेक पटक घाटामा काम गर्नुपर्ने बाध्यता छ, सहयोग गर्नेहरूको संख्या निकै कम छ,’ उहाँ भन्नुहुन्छ ।
विगतको एनभिए कपमा देखिएका कमजोरी सुधार्दै यस पटक टोलीले पाकिस्तानका तीन विश्वस्तरीय खेलाडीहरू— फहद राजा, अदनान खान र अफाक खान— का साथै घरेलु भलिबलका चर्चित खेलाडीहरू हिमाल सुनारी मगर र सञ्जुबिक्रम शाह सहितको सन्तुलित टिम तयार पारेको छ।
यस पटक अनुमानित ३० लाख खर्च आउने देखिएको भए पनि अहिलेसम्म खासै आर्थिक सहयोग जुट्न नसकेको बुढाले बताउनुभयो । सबैतिर अपिल गरिएकामा थोरै थोरै सहयोग जुटे पनि खर्चको तुलनामा निकै कम मात्र सहयोग उठेको उहाँले बताउनुभयो । व्यक्तिगत लगानी तथा ऋणबाट नै अहिलेसम्म काम गरिरहेको तर अब सधैँ यसरी कसरी काम गर्न सकिन्छ उहाँले प्रश्न गर्नुभयो ।
स्थानीय तह, प्रदेश तथा अन्य कुनै पनि निकाय खेलकुदको विकासका लागि अञ्जान, बेखवर र लापरवाह रहेको उहाँको बुझाई छ । देश तथा विदेशबाट गरी सहयोग जुटिरहेको भन्दै उहाँले अन्य सहयोगी दाताहरूलाई सहयोगका लागि आग्रह गर्नुभएको छ । धेरै जना भलिबल प्रशंसकहरूको सहयोगका कारण यहाँसम्म पुगेको र अबका दिनका लागि पनि अहिलेको प्रतियोगिताका लागि सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
सहयोग गर्न इच्छुकले प्रशिक्षण केन्द्रको महालक्ष्मी विकास बैङ्क रुकुम पश्चिम शाखामा रहेको खाता नम्बर ०५४००१००६५८३३५०००००१ मा सहयोग गर्न सक्ने बुढाले बताउनुभयो ।





-1759842583.jpg)