काठमाडौँमा जारी १० औँ संस्करणको प्रधानमन्त्री कप भलिबलमा रुकुम पश्चिम उत्कृष्ट लयमा देखिएको छ । प्रतियोगितामा रुकुम पश्चिमले लगातार तीन जित दर्ता गरेको छ । आज भएको आफ्नो तेस्रो खेलमा रुकुम पश्चिमले खिल्जी युवा क्लबलाई पराजित गर्यो ।
तीन जना भारतीय खेलाडी सम्मिलित खिल्जी युवा क्लबलाई रुकुम पश्चिमले ३–० को सोझो सटेमा पराजित गर्यो । पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको रुकुम पश्चिमले दोस्रो सेटमा २५–१८ को सहज जित निकाल्यो । तेस्रो सेटमा भने रुकुम पश्चिमले २६–२४ को प्रतिस्पर्धात्मक जित निकाल्दै खेल जित्न सफल भयो ।
रुकुम पश्चिमले पहिलो खेलमा विभागीय टिम एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको थियो । शनिवार भएको दोस्रो खेलमा कोसी प्रदेशलाई पनि ३–० को सोझो सटेमा हराएको रुकुम पश्चिमले आइतबार तेस्रो खेल पनि ३–० को सोझो सेटमै जितेको हो ।
रुकुम पश्चिमले अहिलेसम्म एउटा पनि सेट गुमाएको छैन । ३ जना पाकिस्तानी खेलाडी सहित सन्तुलित टिमका साथ उपाधि हात पार्ने लक्ष सहित यस पटक रुकुम पश्चिम प्रतियोगितामा सहभागी बनेको छ । रुकुम पश्चिममा पाकिस्तानका अफाक खान, अदनान खान र फहद राजा सहित गण्डकी प्रदेशका कप्तान सञ्जुविक्रम शाह, मिडल ब्लकर हिमाल सुनारी लगायतका खेलाडी रहेका छन् ।
प्रतियोगितामा विभागीय ३ टिम सहित ८ वटा टोली सहभागी छन् । सबै टिमले एक अर्कासँग खेलेपछि अङ्क तालिकाको पहिलो र दोस्रो स्थानमा रहने २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । यस प्रतियोगिताको विजेताले काभा क्बल च्याम्पियनसिपमा भाग लिन पाउने छ । जसका कारण सबै टिमको नजर उपाधिमा रहेको छ ।
गत पुसमा भएको नवौँ एनभिएप कप भलिबलमा सेमिफाइनल सम्मको यात्रा तय गरेको रुकुम पश्चिम यस प्रतियोगिताका लागि छनोट भएको थियो । रुकुम पश्चिमले भलिबल प्रशिक्षण केन्द्रले रुकुम पश्चिमको नाममा प्रतियोगितामा भाग लिएको हो ।





-1759842583.jpg)